काठमाडौं । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’ को बेल्जियममा विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको विमोचन समारोहमा बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटालगायत अतिथिहरूले उक्त पुस्तकको विमोचन गर्नुभएको हो ।
पुस्तक विमोचन गर्नु हुँदै राजदूत राजभण्डारीले विदेशमा बस्ने नेपालीहरूका अनुभवलाई देशका नीति निर्माताहरूले बुझ्न सकेमा देश बिकासमा ठूलो सहयोग पुग्ने बताउनुभयो । पुस्तक युरोपका नेपालीहरूको दस्ताबेजको रूपमा रहने भएकाले पनि इतिहास बन्ने उहाँको धारणा थियो । पुस्तकमार्फत विदेशमा रहने नेपालीहरूको प्रतिनिधि भोगाई अनि सत्य कथाबाट युवा पुस्तालाई सकारात्मक उर्जा प्रदान गर्ने विश्वाश उहाँले व्यक्त गर्नुभयो ।
राजदूत राजभण्डारीले प्रवास बसाइका अनुभव, संघर्ष र सफलताका साथै नेपाली भाषा, कला साहित्य, संस्कृति र नेपाली मौलिक पहिचानलाई उनीहरूले कसरी विश्वसामु फैलाई रहेका छन् भन्ने विषय लिपिबद्ध गरी पुस्तक प्रकाशन गरेकोमा लेखक गौतमलाई धन्यवादसहित शुभकामना व्यक्त गर्नुभएको थियो ।
लेखक गौतमले मुलुकबाहिर रहेका मुलुकका असल छोराछोरीका जीवन्त कथा लेखिएको जिकिर गर्नुभयो । करिब डेढ वर्षको अन्तरालमा पुस्तक तयार गरेर विदेशी भूमिमा विमोचन गर्ने अवसर पाएकोमा अनेसासप्रति उहाँले आभार व्यक्त गर्नुभयो । पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरूको बाल्यकाल, शैक्षिक, राजनीति, परिवारिक अवस्था, वैदेशिक संघर्षलगायत वास्तविक कथा समावेश गरिएको उहाँको भनाइ थियो ।
एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले बिदेशमा बसोवास गरिरहेका नेपालीहरूले धेरै चुनौतीका बीचमा पनि नेपाली पहिचानलाई निरन्तरता दिने र यसको प्रचारप्रसारका लागि लेखक गौतमले उदाहरणीय काम गरेको बताउनुभयो । उहाँले सबैका आ–आफ्नै भोगाई हुन्छन, ती कुराहरूलाई आफ्नो पुस्तासामु जानकारी दिलाउन पुस्तकले भूमिका खेल्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले सुन्दर भविश्यको कल्पना गरेर देश छोडेका युरोपका नेपालीहरूका सत्य कथाहरू संकलन गरेकोमा पत्रकार गौतमप्रती आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष डिल्ली अंमाईले पुस्तकमाथि टिप्पणी गर्दै युरोपभित्रका अधिकतम् देशका विभिन्न पेशा वा सेवामा कार्यरत नेपाली प्रतिनिधिसँग प्रत्यक्ष सम्वाद गरेर पुस्तक प्रकाशन गरेकोमा पत्रकार गौतमलाई धन्यवाद दिनुभयो । पुस्तक अभिलेखका रूपमा रहने भएकाले यसको महत्व उच्चतम हुने उहाँको भनाइ थियो ।
अनेसास बेल्जियमका महासचिव गोपाल दाहालले पुस्तकमाथि टिप्पणी गर्दै निकै संघर्ष गरेर तयार गरिएको पुस्तकले आमनेपालीको कथा बोल्ने बताउनुभयो । दुई सय अठासी पेज रहेको पुस्तकको टिप्पणी गर्दै दाहालले अन्तर्वार्तामा आधारित भएर पुस्तक प्रकाशन भएको बताउनुभयो ।
यस्तै अनेसास बेल्जियम अध्यक्ष सौरभ कारञ्जितले प्रवासका नेपालीहरूको संघर्षको अन्तरकथा तयार पारी विमोचनका लागि अनेसासलाई अवसर दिनुभएकोमा धन्यवाद दिनुभयो । युरोपमा नेपालीहरूका दिव्य आशा, उन्मुक्त मनोभाव, उत्तेजना, सफलता-असफलताका कथा र संकल्पहरू समावेश गरिएको ‘प्रवासका फुलहरू’ पुस्तक कलात्मक कृतिका रूपमा रहने जिकिर गर्नुभयो ।
कार्यक्रममा एनआरएनए आइसीसी सदस्य मदन दवाडी, हरि भट्टराई, उपाध्यक्ष कासी दनै, ओेएनएफ बेल्जियमका अध्यक्ष विनोद न्यौपाने, जन सम्पर्क समिति बेल्जियमका उपसभापति विराट जोशीलगायतले कृति सफलताको शुभकामना व्यक्त गर्नुभयो । पुस्तकमा लेखक संघ केन्द्रीय सदस्य हयगृब आचार्यको भाषा सम्पादन, कवि लेखक सम्प्रस पौडेलको कथा सम्पादन, श्रीराम दहाल र बिना देवकोटाको श्रुति लेखन छ भने पुस्तकको प्रकाशन, लेआउट डिजाइन आकृति कृयसनराम अविकाश र बितरकमा किताब घर हेटौंडाका छवि अनित्यको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा