काठमाडौं । कलाकार/फिल्म निर्माता तथा निर्देशक भुवन केसी सेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीको विशेष सद्भावनादूत नियुक्त हुनुभएको छ । काठमाडौंको शान्तिनगरस्थित कलेजमा आइतबार आयोजित कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा कलाकार केसी र कलेजका प्रबन्ध निर्देशक तरुणप्रताप शाहले हस्ताक्षर गर्नुभएको छ । केसी चार वर्षका लागि सद्भावनादूतमा नियुक्त हुनुभएको हो ।
सद्भावना दूतका रूपमा कलाकार केसी कलेजका विभिन्न प्रवद्र्धनात्मक कार्यक्रममा सहभागी हुनुहुनेछ । साथै उहाँले आफ्नो सामाजिक सञ्जालमार्फत् पनि कलेजको प्रवद्र्धन गर्ने समझदारी भएको जनाउनुभएको छ । सम्झौता अवधिभर केसीको फिल्म निर्माता कम्पनी सुपर काजल फिल्मस्को ब्यानरमा बन्ने फिल्ममार्फत् पनि सेफर्ड कलेजको प्रवद्र्धन गर्ने सहमति भएको छ ।
सो अवसरमा कलाकार केसीले आफू कलाकार हुने समयमा फिल्मबारेमा औपचारिक अध्ययन गर्न नपाएको अनुभव सुनाउँदै सेफर्डले फिल्मको अध्ययन अध्यापन सुरु गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘शिक्षा क्षेत्रसँग जोडिन पाएकोमा म खुसी छु । म आफ्ना अनुभव विद्यार्थीमाझ सेयर गर्नेछु । यसले गर्दा उनीहरूमा फिल्मप्रति रुचि जाग्छ भन्नेमा म विश्वस्त छु । फिल्मसम्बन्धी पढाइलाई हामीले प्राथमिकता दिनुपर्छ । यसले नेपाली फिल्म क्षेत्रको विकासमा सहयोग पुग्छ ।’ कलेजका प्रबन्ध निर्देशक तरुणप्रताप शाहले कलेजका कोर्षहरूबारे जानकारी दिँदै केसीसँगको सहकार्यले फिल्म एजुकेसन अझ राम्रो हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यसै वर्षदेखि हामीले मास्टर्स इन मिडिया टेक्नोलोजीको तेस्रो सेमेस्टरमा चलचित्रको विषय थपेका छौँ । उहाँसँगको सहकार्यले यो विषयको पठनपाठन अझ प्रभावकारी हुनेछ ।’ कलेजकी प्रिन्सिपल कविता शर्माले फिल्म क्षेत्रमा करिअर बनाउन चाहने विद्यार्थीका लागि सेफर्ड कलेज उत्कृष्ट गन्तव्य भएको बताउनुभयो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले २०१० देखि स्नातकोत्तर तहको पढाइ सुरु गरेको हो । हालसम्म कलेजबाट करिब चार सयजनाले स्नातकोत्तर तह उत्तीर्ण गरिसकेका छन् । सेफर्डमा ब्याचलर्स इन मिडिया टेक्नोलोजी (बिएमटी) र मास्टर्स इन मिडिया टेक्नोलोजी (एमएमटी) को पढाइ हुन्छ ।






