काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौंको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा बाढी, डुबान तथा पहिरोबाट प्रभावित एक सय २० परिवारलाई आइतबार राहत वितरण गरेको छ । प्रभावितहरूलाई संघतर्फबाट दक्षिणकालीका ५० परिवार र इन्द्रसरोवर गाउँपालिकाका ७० परिवारलाई खाद्य सामग्री, लत्ताकपडा, कम्बल, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, हाइजिन किटलगायतका सामग्रीहरू वितरण गरिएको हो ।
स्थानीय तहसँग समन्वयपछि दुवै जिल्लाका अति प्रभावित स्थानमा राहत वितरण गरिएको एनआरएनएले जनाएको छ । यसअघि एनआरएनएले बाढी, डुबान तथा पहिरो प्रभावितका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । सोमबार काभ्रेको पनौती नगरपालिका र बुधबार ललितपुर ठोस्नेखोलामा राहत वितरण गर्ने तयारी रहेको पनि एनआरएनएले जनाएको छ ।
अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा एनआरएनएर्फबाट गएको टोलीमा उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष रामशरण सिम्खडा, उपमहासचिव सोम सापकोटा, सहकोषाध्यक्ष कृष्णप्रसाद तिमल्सिना आइसिसी सदस्य हेमन्त काफ्ले, राजकुमार थापा, पूर्वमहासचिव रतन झा, सल्लाहकार अतुल कोइराला, पूर्वडिआरसी धर्मराज गिरी, एनआरएन अभियन्ता समिरा केसी, स्वयम्भूराज डंगोल, प्रदीप खनाल क्षेत्री, सीता खतिवडा, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतगायत थिए ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता