भोजपुर । करिव ३५ वर्षपछि परिवार भेटाउनु भएका भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर १०, साङपाङको छाप्लेगाउँका प्रकाश तामाङले गाउँमै परिवारसँग बसेर कृषि पेशा अगाल्ने बताउनु भएको छ ।
‘हेर्ने कथा’ का ‘हराएका वर्षहरू’ मार्फत परिवारसँग पुन मिलन हुनु भएका प्रकाशका लागि नेकपा माओवादी केन्द्रको पहलमा गाउँमै घर निर्माण भई रहेको छ भने पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटि सदस्य शेरधन राई र धर्मपत्नी जाम्मु इन शेर्पाले शनिवार मात्र पाँच रोपनी तीन आना दुई पैसा जग्गाको लालपूर्जा सहित एक हल गोरु र हाते ट्याक्टर प्रकाशलाई घरमै पुगेर हस्तान्तरण गर्नु भएको थियो ।
सुकुम्वासीकारुपमा बसोवास गर्दे आएको प्रकाशको परिवार अव जग्गाधनी समेत बन्न पुगेको छ । कृषि पेशाका लागि जग्गा सहित गोरु, ट्याक्टर समेत प्राप्त भएपछि प्रकाशले अव गाउँमै बसेर ब्यवसायीक कृषक बन्ने बताउनु भएको छ । प्रकाशले भन्नुभयो, “म धैरे खुशी छु, अब मेरो लागि गरी खाने वाताबरण बन्यो” बाबुआमासँग गाउँमै बसेर कृषि पेशा गर्छु । षडानन्द नगरपालिका आठ नम्वर वडामा रहेको जग्गा प्रकाशले शेरधनकी धर्मपत्नी शेर्पाको नामबाट प्राप्त गर्नु भएको हो ।
गत भाद्र १८ गते प्रकाशसँग काठमाण्डौमा भएको भेटमा राई दम्पतिले प्रकाशको माग अनुसार जग्गा, हाते ट्याक्टर र एक हल गोरु उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको थियो । प्रकाशलाई जग्गा उपलब्ध गराउन आउनु भएका पूर्वमुख्यमन्त्री राईले प्रकाशलाई गाउँमै नमुना कृषक बन्न आग्रह गर्दे जग्गामा धान, सुन्तला, रुद्राक्ष लगायतका बाली लगाउन सकिने बताउनुभयो ।
प्रकाशलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै राईकी धर्मपत्नी शेर्पाले भन्नुभयो, “प्रकाश तामाङ जस्ता गाउँमै सम्भावना देखेकालाई सहयोग गर्न पाउँदा खुसी लागेको छ ।”
षडानन्द नगरपालिकामा प्रकाशका लागि अहिले पाँच कोठे घरको निर्माण कार्य भई रहेको छ । पूर्वमन्त्री एवं संघीय सांसद सुदन किराती र भूतपूर्व गोर्खा सैनिक संघ गेसोका अध्यक्ष कृष्णकुमार राईसँगै प्रकाशका बुबाआमाले संयुक्तरुपमा नयाँ बन्ने घरको शिलान्यास गर्नु भएको थियो । करिव १५ लाख मुल्य बरावरको सात रोपनी जग्गा प्रकाशको परिवारका लागि कृष्ण कुमारले निशुल्क उपलब्ध गराउनु भएको थियो ।






