काठमाडौं । सरकारले दशैँका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर फर्किनेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच शनिबार भएको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे निर्णय गरेको छ । साथै बैठकले सडक विभागअन्तर्गतका सबै सडक घटस्थापनाअघि नै मर्मतसम्भार गर्न निर्देशन गरेको छ ।
बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारीमात्र सञ्चालन गर्न र रात्री सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिनुभयो । सवारीसाधनको यान्त्रिक परीक्षण गरी गन्तव्यमा जान सहज व्यवस्थापन गरिने भएको छ । वैज्ञानिक भाडा समायोजन विगत तीन वर्षदेखि नभएकाले छठ पर्वको एक हप्तापछि समायोजन गरिने निर्णय भएको छ ।
अग्रिम टिकट बुकिङ खुलासँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भिड लागेको छ । काठमाडौंसहित देशभर अविरल वर्षाका बाबजुद पनि बिहानैदेखि यात्रु टिकट काट्न लाइनमा बसेका थिए । अग्रिम टिकट बुकिङ काउण्टरमा पश्चिमको दार्चुला, डडेल्धुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्युठान, रोल्पा तथा ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भिडभाड लागेको छ । यसपालीको दशैँमा घर जान यात्रुले सहजै टिकट पाउने महासंघले दाबी गरेको छ । महासंघका अनुसार हरेक वर्ष दशैँ मनाउन काठमाडौंबाट २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् । लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला भए पनि छोटो दूरीका सवारीसाधनको टिकट भने घटस्थापनाबाट खुल्ने बताइएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता