नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा दुई करोड लगानीमा नेपाली जुत्ता चप्पल हाउस खुलेको छ । बर्दघाट चोकमा रहेको बर्दघाट मिनिमार्टमा सञ्चालित जुत्ता चप्पल हाउसमा सात कम्पनीका जुत्ता चप्पल पाइने सञ्चालक निर्मल पौडेलले बताउनुभयो । बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाटमा सबैखाले जुत्ता चप्पल एकै ठाउँमा पाइनु उपभोक्ताका सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफूले खोजे जस्तो जुत्ता चप्पल किन्न बुटवल जानुपर्ने थियो । बर्दघाटमै धेरै ब्राण्डका नेपाली जुत्ता चप्पल पाइने भएकाले अब उपभोक्तालाई बुटवल जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको छु ।’
बर्दघाट नगरले स्थानीय र नेपाली उत्पादनको उपभोग र बजारीकरणमा प्राथमिकता दिएको उल्लेख गर्दै नगरप्रमुख श्रेष्ठले नेपाली श्रम र सीप प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यले बर्दघाटमा नेपाली जुत्ता चप्पलका स्टल सञ्चालन हुँदा बर्दघाटमा बजारको विकास हुने बताउनुभयो । बर्दघाटको एउटै पसलमा धेरै ब्राण्डका जुत्ता, चप्पल पाइनुले बर्दघाट नगर र सँगै नवलपरासीकै बजारीकरणमा टेवा पुग्ने सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी चौधरीले बताउनुभयो । प्याब्सन केन्द्रीय सदस्य सन्तोष अधिकारीले बर्दघाटमा नेपाली ब्राण्डका जुत्ता चप्पल पाइनुले विद्यार्थी र शिक्षकलाई निकै सहज हुने बताउनुभयो ।
दिव्यज्योति बहुमुखी क्याम्पसका अध्यक्ष पुण्यप्रसाद पौडेलले नेपाली जुत्ता चप्पलमात्रै बिक्री गर्ने हुँदा नेपाली जुत्ता चप्पलको बजार बढ्ने बताउनुभयो । नेपाली उत्पादन र नेपाली बजारको किनमेलले युवालाई स्वरोजगार बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो । बर्दघाट मिनी मार्टका सञ्चालक निर्मल पौडेलका अनुसार हाल रन सुज, क्रसरोड, आस्ता, सुज ल्याण्ड जस्ता सात नेपाली ब्राण्डका दुई हजारभन्दा बढी भेराइटीका जुत्ता चप्पल पाइनेछ । विद्यार्थी, शिक्षक-शिक्षिका,बैंकर्स, अफिसर र गृहिणीसम्मलाई लक्षित गरेर जुत्ता चप्पल उपलब्ध रहेको उहाँले बताउनुभयो । सो अवसरमा सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजन, बर्दघाट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष मीनराज शर्मा, पूर्ववरिष्ठ उपाध्यक्ष राजु पाण्डे, वाणिज्य उपाध्यक्ष चन्द्र रणपालगायतको उपस्थिति रहेको थियो ।






