काठमाडौं । खोटाङलाई तराईसँग जोड्ने फोक्सिङटारको पक्की मोटरेबल पुल सुनकोसी नदीले बगाएको छ ।
दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा निर्माण सुरु गरिएको मोटरेबल पक्की पुल गत वर्षमात्र सञ्चालनमा ल्याइएको थियो । तराईसँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै जिल्लाको समग्र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको थियो ।
एमाले नेतृ उषाकला राईका अनुसार खोटाङ जोड्ने पुलहरु मुख्य गरेर सुनकोशी, दुधकोशी र धाप्लाङ्को पुल पनि उच्च जोखिममा छन् ।
केहीदिनदेखिको भारी वर्षाले खोटाङ लगायतका पूर्वी जिल्लामा जताततै क्षति भएको उहाँले बताउनु भयो ।
केहीदिन अघिमात्र आफ्नै गृह जिल्ला पुग्नुभएको नेतृ राईले यस्ताे विपदकाे घडीमा सबैमा धैर्यता र सतर्कता अपनाउन अपिलसमेत गर्नुभएको छ ।
प्राकृतिक प्रकोपको बेला सबैले मिलेर सामना गर्न पनि नेतृ राईले आव्हान गर्नुभएको छ ।
तत्काल राहतमा जुट्न र होसियारी अपनाउँदै उद्दारमा जुट्न सम्बन्धित निकाय र नागरिक समाजमा उहाँले सामाजिक सञ्जालबाट आग्रहसमेत गर्नुभएको छ ।






