झापा। तीन दिनदेखिको निरन्तर वर्षाका कारण झापाको जनजीवन नराम्ररी प्रभावित भएको छ । विभिन्न नदी तथा खोलामा आएको बाढीले जनधनको क्षति गरेको प्रारम्भीक विवरण आउन थालेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय जमुना खोलाले बगाएर कचनकवल गाउँपालिका १ झकुवाटोलीकी १४ वर्षीया किशोरी नेहारिका राजवंशी बेपत्ता भएकी हुन् । पचु राजवंशीकी छोरी नेहारिका चमारभिट्टा पुल छेउबाट बगेकी हुन् ।
भारतमा रहेकी सानिमाको घरबाट घर फर्कने क्रममा नेहारिका साइकलसहित बेपत्ता भएको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो । पानी निरन्तर परिरहेको र बाढी नघटेका कारण किशोरी जीवित फेला पर्ने सम्भावना न्यून भएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मी र स्थानीय उनको खोजीमा जुटेपनि भेट्न नसकिएको जनाइएको छ ।
त्यसैगरी सोही गाउँपालिका २ भएर बहने अमुलफुटा खोलाले प्र.१–०२–०५प ६९७८ नम्बरको मोटरसाइकल बगाएको छ । सोही ठाउँका २७ वर्षीय रबिन भट्टराई खोला तर्ने क्रममा मोटरसाइकल बगाएको हो ।
चालक भट्टराई बग्नबाट गोगिएका छन् । प्रहरी चौकी पथरियाको टोलीले मोटरसाइकल खोजिरहेको भएपनि फेला पार्न सकेको छैन ।
प्रारम्भीक जानकारी अनुसार झापामा ३१ घरपरिवार विस्थापित भएका छन् । सबैभन्दा बढी शिवसताक्षी, कनकाई र बिर्तामोड नगरपालिकामा विस्थापित भएको जिल्ला विपद् कार्यालयले जनाएको छ ।
स्थानीय सन्का र सुरुङ्गा खोलाले कनकाई नगरपालि ३ झर्ना बस्तीका सनम गुरुङ, अनिस मगर , सुशीला हस्दा, बलबहादुर लिम्बु , कमल टुडू , बुद्धिलाल टुडू , मिना सोरेन, राजकुमार टुडू ,सुनिराम हस्दा , बिसु मर्डी र पहलमान तामाङको परिवार विस्थापित भएको छ। इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले उनीहरुलाई सुरक्षित स्थानमा सारेको छ ।
कन्काइमाईले कटान गर्दा नदीले शिवसताक्षी नगरपालिका १० का अमर ऋषिदेव र किरण ऋषिदेवको परिवार विस्थापित भएको छ ।
सोही वडामा पश्चिमतर्फबाट कन्काई खोलाले कटान सुरु गरेको हो । उक्त टोलको १५ घरमध्ये दुई घरपरिवार जोखिममा परेपछि मुक्तिघाट भवनमा सारिएको हो ।
शिवसताक्षी ७ को होलीटोलमा सताक्षी खोलाको बाढी पसेको छ । त्यहाँका २२ परिवारलाई सार्ने तयारी भइरहेको स्थानीयले बताएका छन् ।
त्यसैगरी अँधुवा खोलामा बाढीले बिर्तामोड ३ सिर्जनाटोलका नौ परिवार विस्थापित भएका छन् । कुलबहादुर दर्जी,अम्बिकाबहादुर दर्जी , लुकाश माझी , कृष्णबहादुर दर्जी ,नरमाया दर्जी ,अनुज माझी , प्रमिला दर्जी , पदमबहादुर दर्जी र इन्द्रराम दासको परिवार बिस्थापित भएको प्रहरी चौकी बिर्ताबजारले जनाएको छ ।
उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । घरमा पानी पसेकोले विस्थापितको घरको अन्तपात , लत्ताकपडालगायत अन्य सरसामान भिजेको छ ।
बिर्तामोड ५ नमुनाटोल र ४ को मान्डाटोलका पाँच परिवार विस्थापित भएका छन् । नमुनाटोलका गीता अधिकारी, कृष्ण सुवेदी, शेरबहादुर अधिकारी, मान्डाटोलका कलाम मिया र मुना मुस्ताकको परिवार बिस्थापित भएको हो ।
सोही वडाको भुसुनेमा शान्तिकुमारी गुरुङको परिवार विस्थापित भएको छ । घरभित्र पानी पसेर अन्नपात, लत्ताकपडा भिजेकाले छिमेकीको घरमा सारिएकोछ।
बिर्तामोड ८ बाह्रबिघेका गीता भुजेल, चण्डिका दाहाल र मनमाया तामाङको परिवार विस्थापित भएको छ। उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
यसैगरी विरिङ खोलाको बाढीले पुल बगाएको छ। पुलबगेसँगै अर्जुनधारा - खुदुनाबारी आवागमन बन्द भएको छ । पुल बगेसँगै झापाबाट इलामको दानाबारीतर्फको आवागमनसमेत बन्द भएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता