काठमाडौं । अनलाइन मार्केटप्लेस ‘हाम्रो बजार’ले फोनलोनसँगको सहकार्यमा ‘बाइ नावो, पे लेटर’ फिचर सार्वजनिक गरेको छ । हाम्रो बिएनपिएल नाम दिइएको उक्त फिचरअन्तर्गत हाम्रो बजारबाट सामान खरिद गर्न चाहने फोनलोनका योग्य ग्राहकले मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्नेछन् ।
कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका फोनलोन प्रयोगकर्ताले किस्ताबन्दीको सुविधा आ-आफ्नो मोबाइल बैंकिङ एपबाटै सजिलै प्रयोग गर्न सक्छन् । हाम्रो बिएनपिएलमार्फत् ग्राहकले छ महिनासम्मको किस्ताबन्दी सुविधामा कुनै ब्याज तिर्नुपर्दैन ।
नौदेखि १२ महिनाको स्ट्याण्डर्ड इएमआई लिने प्रयोगकर्ताले भने डाउन पेमेन्टबिना नै सुविधा उपयोेग गर्न सक्ने बताइएको छ । हाम्रो बजारको हाम्रो बिएनपिएलमा दुई सय ५० भन्दा बढी प्रोडक्ट उपभोक्ताले छनोट गर्न सक्नुका साथै आवश्यक परेको वा मनपरेको प्रोडक्ट फोनलोन मोबाइल बैंकिङबाटै क्युआर कोड स्क्यान गरेर किस्ताबन्दीमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।






