काठमाडौं । सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध लिखत कसुरमा समेत मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका क्रममा लिखत कसुर गरेको भेटिएको भन्दै प्रहरीलाई अनुसन्धान गर्न पत्राचार गरेको थियो । काठमाडौं प्रहरी परिसरले अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दायर गरेको छ । प्रहरीका अनुसार पौडेलको साथबाट नक्कली कर चुक्ता प्रमाणपत्र भेटिएको थियो ।
सुनील पौडेलको नाममा जारी भएको तर आन्तरिक राजस्व कार्यालय पुतलीसडकको अभिलेखमा नदेखिएको कर चुक्ता प्रमाणपत्रहरू निजले सरकारी कागजात कीर्ते गरी तयार गरेको हुन सक्ने भन्दै अनुसन्धानका लागि अख्तियारले प्रहरीलाई पत्राचार गरेको थियो ।
पौडेलविरुद्ध यसअघि पेमेन्ट गेट वे सिस्टम खरिदमा भ्रष्टचार गरेको भन्दै दायर भएको मुद्दामा दोषी ठहर भएका थिए । उनीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता