दाङ । नेपाल कम्यनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले कांग्रेस-एमालेको वर्तमान राजनीतिक समीकरण लामो जाँदैन भनेर गलत भाष्य पैदा गरेर आतङ्क फैलाउन खोज्नु लोकतन्त्र खोक्रो बनाउने खेल भएको टिप्पणी गर्नुभएको छ ।
प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकको हित र राजनीतिक स्थायित्वका लागि बनेको सरकारको समीकरणविरुद्धको चलखेल मात्रै रहेको टिप्पणी गर्नुभयो ।
“एमाले-कांग्रेस मिलेपछि अब देश अस्थिरताबाट मुक्त भएको छ, स्थिर सरकारको आवश्यकता ठानेर संसद्का दुई ठूला दल एक ठाउँमा उभिएका हुन्, यो अवस्थामा अब अराजकता चाहनेको केही लाग्दैन, विकल्प खोज्ने हो भने संसद्बाट मात्रै सम्भव छ, थप अरु संसदीय विकल्प खोज्ने भए २०८४ को निर्वाचन छदैछ, आमनिर्वाचनबाट जनताको मत लिएर आफूलाई प्रमाणित गर्ने ठाउँ खुला छ”, उहाँले भन्नुभयो ।
दुई प्रमुख पार्टीको एक्ला एक्लै चुनाव लड्ने प्रतिबद्धता लोकतन्त्र र देशका लागि हितकर हुने उहाँको भनाइ छ । देशको विकास र सुशासनमा साना राजनीतिक दलले अस्थिरता ल्याएको महासचिव पोखरेलको आरोप थियो । अहिले निकै चर्चामा रहेको सहकारी ठगीबारे धारणा राख्दै उहाँले सहकारी क्षेत्रमा सङ्कट देखिनु वित्तीय सङ्कटको प्रभाव रहेको बताउनुभयो ।
उहाँले सहकारीले आफ्नो नियम पालना नगर्दा यसको असर बचतकर्तामा परेको भन्दै नियमन गर्ने काममा सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो । सहकारीको सदस्य नभएको व्यक्तिलाई लगानी गर्न नमिल्ने भए रास्वपाका सभापति रवि लामिछानेको विषयमा गैरकानुनी रुपमा लगानी भई दुरुपयोग भएको पुष्टि भएको उहाँको भनाइ थियो ।
“विना लगानी शेयर प्राप्त गर्नु अनुचित कार्य हो, सहकारीबाट कम्पनीले ऋण लिने विषय पनि अनुचित प्रभाव हो, जहाँबाट ल्याएको हो त्यो सर्तसहित फिर्ता गर्नुपर्ने हो, तर बेइमानी भयो, यसले बचतकर्ताको लगानी खतरामा प¥यो, कोही जिम्मेवारी र दायित्वबाट अलग हुन मिल्दैन”, उहाँले भन्नुभयो ।
सहकारी संस्थाको छानबिन समितिको प्रतिवेदनले गरेको सिफारिसअनुसार जो कोही भए पनि कानुनअनुसार कारबाहीको भागिदार हुनुपर्ने उहाँले बताउनुभयो । कारबाही सिफारिस भएका व्यक्तिले अहिले ‘क्लिन चिट’ पाएँ भन्नू अनुसन्धानलाई प्रभावित पार्ने खेल भएको उहाँको भनाइ छ । रासस







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts