सिन्धुली । ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’, चाँदनी शाहको रचना, नारायण गोपालको स्वर र संगितामा रहेको यो गीतले भनेझैँ एक पात्रको साथले कसैको जीवन बदली दिन्छ । गराइदिन्छ जीवनशैली नै परिर्वतन र भित्त्राई दिन्छ खुशीका वहारहरु ।
यस्तै भयो, दुधौली नगरपालिका–११ माथिल्लो पत्रिङ्गाकी बुवाबत्ति सदाको जीवनमा । शारीरिक अपाङगता भएकी ६२ वर्षीया सदा नेपाली नागरिकता नभएर राज्यले प्रदान गर्ने सेवा–सुविधाबाट बञ्चित हुनु भएको थियो ।
स्थानीय समाजसेवी तिलकबहादुर राउत (शम्भु) कोे प्रयास, पहल तथा सहयोगमा सदाले बुधबार जिल्ला प्रशासन कार्यालय, सिन्धुलीबाट नागरिकता प्राप्त गर्नुभयो । नागरिकता हातमा परेसँगै बुवाबत्तिले खुशी मात्रै व्यक्त गर्नु भएन, अब आफ्नो जीवनशैलीमा नै परिर्वतन आउनेमा विश्वस्त हुनु हुन्थ्यो ।
जिल्ला प्रशासनका कर्मचारीहरुलाईभन्दा धेरै आफुलाई नागरिकता दिलाउन चाहिने आवश्यक कागजात जुटाउन लगायत घरदेखि प्रशासनसम्म पुर्याएर सहयोग गर्ने शम्भुलाई उहाँले धन्यवाद दिनुभयो ।
‘तन्नेरी उमेरमा नागरिकताको यति महत्व होला भन्ने नै लागेन,’ उहाँले भन्नुभयो, “श्रीमान बितेपछि माछा मार्ने क्रममा कुलोबाट लडेर गोडा नचेल्ने भए । हामी जस्तोलाई सरकारले भक्ता दिने रहेछ, नागरिकता नभएर पाईन । श्रीमान वितेपछि एकल भक्ता पाइने रहेछ, यहाँ पनि नागरिकता चाहिने रहेछ ।”
नागरिकता पाएसँगै बुवाबत्तिले अब राज्यले प्रदान गर्ने सबै सेवा, सुविधा सहजै पाउनु हुने भएको छ । यसले उहाँलाई अब आफ्नो जीवनमा खुशीका वहारहरु आएको अनुभूति दिलाएको छ ।
बुबावत्तिको दुई वटै खुट्टा चल्दैनन् । हात टेकेर घर्सदै बाहिर–भित्र गर्नु पर्ने उहाँको बाध्यता थियो । हिलाम्मे, धुलाम्मे जमिनमा घर्सने बुवाबत्तिलाई समाजसेवी शम्भुले ह्विलचियर र ‘ट्वाइलेट चियर’ पनि उपलब्ध गराइ दिनुभयो । उहाँको पहल तथा जिल्ला समन्वय समिति, सिन्धुली उपप्रमुख शान्ता कार्कीको समन्वयमा सिन्धुली अपाङ्ग महिला संघ, सिन्धुलीले ह्विलचियर र ‘ट्वाइलेट चियर’ प्रदान गरेको हो । यसले उहाँको दैनिकीलाई थप सहज बनाउने छ ।
बुवाबत्तिको श्रीमान मदन सदा तन्नेरी उमेरमै बिरामी भएर थला पर्नु भयो । उपचार नपाएर उहाँको अकाल्मै ज्यान गयो । सात वर्षदेखि कान्छो छोरा राम कुमार सदा सम्र्पक विहीन हुनु हुन्छ । जेठो छोरा बिरामी भएर वितेको वर्षौँ भयो । उहाँ बुहारी उर्मिला सदासँग बस्दै आउनु भएको छ ।
उर्मिलालाई सासुआमाको नागरिकता बने सामाजिक सुरक्षा भक्ता आउने कुरा त जानकारी थियो । तर, कहाँ गएर कसरी नागरिकता बनाउने भन्ने बारेमा अत्तोपत्तो थिएन । नागरिकता नभएर राज्यले दिइने सेवा सुविधाबाट समेत बन्चित हुनु पर्दा जीवन निर्वाह गर्न झनै कठिन भएको थियो ।
यसको सबै प्रबन्ध मिलाएर आफ्नो व्यक्तिगत खर्चमा सिन्धुलीमाडीस्थित जिल्ला प्रशासन कार्यालयमा पुर्याइ नागरिकता बनाउन समाजसेवी शम्भुले सहयोग गर्नुभयो । ‘हामी एउटै वडामा बस्छौँ । मैले गाउँ डुल्ने क्रममा उहाँलाई धुलाम्मे सडकमा घिर्सदै गरेको देखेँ । मानव मन न हो । माया लागेर आयो । नजिकै गएर कुरा गरे । नागरिकता नभएर राज्यले प्रदान गर्ने सेवा, सुविधाबाट समेत बन्चित हुनु परेको रहेछ,’ समाजसेवी शम्भुले भन्नुभयो, “उहाँको नागरिकता बनाउन खट्नु त पर्यो तर ढिलै भएपनि बन्यो, खुशी लागेको छ ।”
नागरिकता बनाउनको लागि आवश्यक कागजात जुटाएर सिन्धुलीको सदरमुकामस्थित सिन्धुलीमाडीमा रहेको जिल्ला प्रशासन कार्यालय पुग्न नसक्दा बुवाबत्तिको नागरिकता बन्न सकेको थिएन । समाजसेवी शम्भुको पहल, प्रयास र सहयोग नभएको भए आफुहरुले सासुआमाको नागरिकता बनाउन नसक्ने बुहारी उर्मिलाले बताउनुभयो ।
‘घरमा ससुराबुबा र छोराहरु हुँदा नागरिकताको महत्व नबुझेर बनाइएन । नागरिकताको महत्व बुझेपछि हामीले मात्रै बनाउन सकेनौँ । ढिलै भएपनि गाउँका शम्भु दाईको सहयोगमा बनायाँै । अब त सरकारले पनि हेर्छ,’ उहाँले भन्नुभयो ।सिन्धुली अपाङ्ग महिला संघ, सिन्धुली अध्यक्ष दिल कुमार देवकोटा (दिपा) का अनुसार बुवाबत्ति सदाको जस्तो समस्या भोगिरहेका अपाङ्गता भएका व्यक्तिहरु जिल्लामा अरु धेरै संख्यामा छन् । सहायक सामाग्री, स्वास्थ्य उपचार र नागरिकताको अभावमा उहाँहरु कठिन जीवन गुजार्न बाध्य देखिन्छन् ।
“अपाङ्गता भएका व्यक्तिहरुको समस्या बारे सरोकारवाला निकाय, व्यक्तिहरुलाई सुनाइरहन्छौँ । तर हाम्रो आवाज सुनिदैन । यसको लागि कुनै एउटा व्यक्तिले भन्दापनि तीनै तहको सरकार, सम्बन्धित निकाय र विशेषगरी नागरिकसँग सबैभन्दा बढी नजिक रहेको स्थानीय तह जवाफदेही, जिम्मेवार बन्नुपर्छ,” उहाँले भन्नुभयो ।
पहिचानको अधिकार व्यक्तिको पहिलो अधिकारका रुपमा लिइन्छ । व्यक्तिलाई पहिचान प्रदान गर्ने तथा राज्यसँग सम्बन्ध गाँस्ने आधिकारिक प्रमाणपत्र होे नागरिकता । जुन नहुँदा राज्यले प्रदान गर्ने अधिकार तथा सुुविधाबाट व्यक्ति बन्चित हुन पुग्दछ ।
प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मा नागरिकता बनाउने विधि, प्रक्रिया नबुझेर, भौगोलिक विकटताका कारण वा अन्य कुनै कारणले कोही नेपाली नागरिक नागरिकता पाउने अधिकारबाट बन्चित हुन पर्ने अवस्था अहिले नभएको बताउँनु हुन्छ । यदि यस्तो छ भने जनतासँग एकदमै नजिक रहेको वडा, पालिकासँग समन्वय गरेर कानूनी रुपमा नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरुलाई नागरिकता दिलाइने उहाँको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयको इलाका कार्यालय नहुँदा र जनशक्तिको समेत अभाव हुँदा नागरिकको आवश्यकता अनुरुप अझ प्रभावकारी सेवा प्रवाहमा समस्या भएको उहाँले बताउनुभयो । स्रोत, साधन र जनशक्तिको व्यवस्थापन भएमा अवश्यकता अनुसार बेलाबेलामा घुम्ती शिविर सञ्चालन गर्ने सोच रहेको उहाँले सुनाउनुभयो ।
यता, समाजसेवी शम्भुले सुकुम्बबासी सदा परिवारलाई गरेको सहयोग बारे जानकारी पाउनु भएकी जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्कीले सेवामुलक कामको खुलेर प्रशंसा गर्नुभयो । यस्ता विषयमा स्थानीय तहका जनप्रतिनिधि र खटिएका कर्मचारीहरुलाई गाउँ–गाउँमा सिंहदरवार आएको नागरिक स्तरमा अनुभूति हुने गरि काम गर्न आग्रह पनि गर्नुभयो । अफ्ट्यारोमा परेका, समस्यामा रहेका, अपाङ्गता भएका व्यक्ति अथवा लक्षित समुदायको नागरिकता, राष्ट्रिय परिचय पत्र बनाउन र आवश्यक सहयोग गर्न स्थानीय तहले बढी जिम्मेवार बनेर काम गर्नुपर्ने उहाँको धारणा छ ।







This news has been heaped upon the working black guards