काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत तथा नेपाल महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठ भारतको पटनामा ग्लोबल स्टार अवार्डबाट सम्मानित हुनुभएको छ । नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्षसमेत रहनुभएकी श्रेष्ठले नेपालमा लामो समयदेखि एक सफल महिला उद्यमीका रूपमा देश तथा विदेशमा आफ्नो छवि उच्च बनाएको तथा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै उहाँलाई यस वर्षको उत्कृष्ट अन्तर्राष्ट्रिय महिला उद्यमीको अवार्डबाट सम्मानित गरिएको आयोजक समितिका प्रमुख डा. शिखा नरुलाले बताउनुभएको छ ।
भारत सरकारका आइएएस शंशाक शेखर, एमएलए रश्मी बर्मा, पटना सरकारको जिएसटी ज्वाइन्ट कमिस्नर समिर परिमल तथा आयोजक समिति सदस्य मिसेस भारत प्रतिभा प्रसादको संयुक्त निर्णायक मण्डलले श्रेष्ठलाई नेपालका लागि यस वर्षको उत्कृष्ट महिला उद्यमीको अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो ।
विहारका शिक्षा तथा प्रविधिमन्त्री सुमितकुमार सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भव्य समारोह पटनामा सम्पन्न भएको थियो ।
बलिवुडकी प्रख्यात अभिनेत्री पुनम धिलोन सेलीब्रेटी गेष्ट रहेको समारोहमा दिल्ली सरकारका प्रशासक, पटना सरकारका प्रशासक तथा विधायक एवं राजनीतिज्ञको उपस्थिति रहेको थियो । कार्यव्यस्तताका कारण समारोहमा उपस्थित हुन नसकेकाले सो अवार्ड काठमाडौंमा हस्तान्तरण गरिएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता