कैलाली । ग्रामीण क्षेत्रलाई सहरसँग जोड्न कैलालीको धनगढीमा ‘जिपिएस’ जडीत नगर बस सेवा सुरु भएको छ । उपमहानगरपालिकाले सुविधासम्पन्न ६ वटा बस खरिद गरी सेवा शुरु गरेको छ । धनगढीको फुलवारी, हसुलिया तथा धनगढी र अत्तरियासम्म नगर बसले सेवा दिने छ । नगर बसले अन्य भन्दा सुलभ दरमा सेवा दिने भएपछि दैनिक ओहोर दोहोर गर्ने देखी विद्यार्थीहरुलाई समेत निकै राहत पुग्नेछ ।
धनगढी उपमहानगरपालिकाले गाउँ हुँदै सहरसम्म सञ्चालनका लागि दुई करोड ४८ लाखमा ६ वटा बस खरिद गरेको थियो । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारी बसपार्कबाट धनगढी सहिद गेट हुँदै अत्तरियासम्म नगर बस सेवा सञ्चालन गरिने धनगढी उपमहानगरपालिकाका राजश्व साखा प्रमुख लेखनाथ ओझाले बताउनुभयो ।
नगर बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले टेन्डर प्रक्रिया मार्फत बार्षिक २८ लाख ८८ हजार ९ सय १९ रुपयाँमा के एन के कन्सट्रक्सन संग सम्झौता गरेको उहाँले बताउनुभयो । उपमहानगरपालिकाले ७ किलोमिटर सम्म न्युनतम २० रुपयाँ र त्यस माथि प्रति किलोमिटर २ रुपयाँ ८४ पैँसा भाडा दर कायम गरेको छ । बस आधा घण्टाको अन्तरमा फुलवारीबाट छुट्ने दावी गरिएको छ ।
पहिलो चरणमा फूलबारी-धनगढी-सहिद गेट रुटमा नगर बस सेवा सफल भए उर्मा लगायतका ग्रामीण भेगमासमेत नगर बस सेवा विस्तार गरिने योजना राखिएको छ । एक कार्यक्रमका बिच फुलवारी बसपार्कबाट उप प्रमुख कन्दकला कुमारी रानाले हरियो झण्डा देखाउँदै बस सेवा औपचारिक रुपमा शुभारम्भ गर्नु भएको हो ।
बसमा सुदूरपश्चिमका धार्मिकस्थल तथा सांस्कृतिक पहिचान झल्काउने पोस्टर र पेन्टिङ गरिएको छ । बसमा सांस्कृतिक पहिरन, नृत्य, पर्व र स्थानीय जातजातिका भेषभूषा झल्किने गरी पेन्टिङ गरिएको नगर उप-प्रमुख रानाले बताउनुभयो ।
‘ग्रामीण भेगलाई सहरसँग जोड्न र ग्रामीण जीवनलाई चलायमान बनाउन नगर बस सेवा सन्चालनमा ल्याएको बताउदै रानाले गाउँमा उत्पादन भएको कृषि उपजलाई बजारसम्म ल्याउन सहज होस् भन्ने उद्देश्यले ग्रामीण क्षेत्रबाट नगर बस सेवा सन्चालनमा ल्याउको बताउनुभयो ।
ग्रामीण क्षेत्रबाट विद्यालय, कलेज, अस्पताल र बजार आउन सहज होस् र गाउँमा उत्पादित बस्तु बजार ल्याउन सहज होस् भनेर नगर बस सन्चालन गरेको उहाँको दावी छ ।
ग्रामीण भेगलाई सहरसँग जोड्न र ग्रामीण जीवनलाई चलायमान बनाउन नगर बस सेवा चलाउन खोजेको उपमहानगरका मेयर गोपाल हमालले बताउनुयो । ग्रामीण क्षेत्रबाट विद्यालय, कलेज, अस्पताल र बजार आउन सहज होस् र गाउँमा उत्पादित बस्तु बजार ल्याउन सहज होस् भनेर नगर बस चलाउन खोजिएको उहाँले बताउनुभयो ।
उपमहानगरपालिकाले खरिद गरेका ६ वटै नगर बसमा सिसिटिभी र जिपिएस जडान गरिएको छ । यात्रुु र तिनले बोक्ने सामानको सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ । यस्तै, बस आएको घरबाटै थाहा पाउन र चढ्ने स्थानमा ठिक समयमा पुग्न सहज गर्न जिपिएस प्रणाली जडान गरिएको हो । हसुलिया देखी फुलवारी क्षेत्रका नागरिकलाई नगर बस सेवाले सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ । सुबिधासम्पन्न बस नियमित सञ्चालन भएपछि सुलभ दरमा दैनिक ओहोर दा्होर गर्न पाइने स्थानियको बिश्वास छ ।
धनगढी उपमहानगरपालिका १९ का डेकमान पौडेलले नगर बस सञ्चालन हुने भएपछि निकै खुशी लागेको बताए । फुलवारीबाटै नगर बस शुरु गरेकोमा उनले धनगढी उपमहानगरलाई धन्यवाद दिनुभयो । धनगढी १९ कै भक्त बहादुर थापाले अब बिद्यार्थी र बृद्धबृद्धालाई आरामदायी यात्रा हुने बताउनुभयो । अटोको यात्रा महगों र धुलो धुवाँ समेत खानुपथ्र्यो उहाँले भन्नुभयो “उपमहानगरपालिकाले नगर बस सेवा सुरु गरेको छ अब हामी मजासगं यात्रा गर्न पाउने भयौँ, मेयर र उपमेयरका यस्ता राम्रा काम धेरै हेर्न र सुन्न पाइएको छ, अबपनि यस्तै सुन्न पाइयोस ।”
नगर बसलाई वातावरणमैत्री बनाउन हरियो रङको पेन्टिङ गरिएको छ । बसमा धार्मिक स्थल तथा सांस्कृतिक पहिचान झल्काउने पोस्टर र पेन्टिङ गरिएको छ । बसमा सांस्कृतिक पहिरन, नृत्य, पर्व र स्थानीय जातजातिका भेषभूषा झल्किने गरी पेन्टिङ गरेर मौलिक संस्कृती संरक्षणको समेत प्रयास गरिएको छ ।






