निर्णायक राष्ट्रिय शक्ति निर्माणमा कटिबद्ध हुन प्रधानमन्त्रीको आग्रह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतान्त्रिक शासन व्यवस्था, समृद्धि, शान्ति र सुशासनको मार्गमा मुलुक अग्रसर भइरहेका बेला यसलाई असफल पार्ने दुष्प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणमा कटिबद्ध हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्तासँग आग्रह गर्नुभएको छ ।

नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसङ्गठन समन्वय संयन्त्रको व्यवस्थापनमा भएको ‘स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयको राष्ट्रिय कार्यशालाको आज यहाँ उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले परिवर्तनको सारथि एमालेलाई कसरी कमजोर पार्ने भन्नेमा केही तत्व लागेका टिप्पणी गर्नुभयो ।

“अहिले परिस्थिति जटिल छ । हामीविरुद्ध घेराबन्दी छ । परिवर्तनका विरोधी शक्ति संविधानविरुद्ध खुलेआम लागेका छन् । सामन्ती, निरङ्कुश र अधियानकवादी राजतन्त्रका पक्षमा यसरी मान्छेहरु उफ्रिएको पहिले कहिल्यै देखिएको थिएन ।”, प्रधानमन्त्रीले भन्नुभयो, “जानी नजानी एक खालका मानिसबाट नकारात्मक माहौल खडा गर्ने कोसिस भइरहेको छ । सत्यतथ्यको बाटो नभइ झुठ, भ्रम, षड्यन्त्रको सहारा लिएका छन् । उनीहरुलाई काम र मेहनत गर्नुपर्दैन । भएको राम्रो कामको उल्टो प्रचार गरे पुग्छ ।”

आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन आग्रह गर्दै उहाँले नेकपा (माओवादी केन्द्र) को मत घट्दो रहेको र आउँदो निर्वाचनमा चार पाँच लाखसम्ममा झर्ने अनुमान गर्नुभयो । अध्यक्ष ओलीले कार्यशालाबाट पार्टीका नीतिलाई अझ स्पष्ट र योजनालाई गतिशील बनाउँदै समस्याको खोजी र निदान हुने बताउनुभयो ।

त्यस अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीका उपमहासचिव विष्णु रिमाल, जनसङ्गठन संयन्त्रका संयोजक भानुभक्त ढकाललगायत नेता सहभागी हुनुहुन्छ ।

ADVERTISEMENT

सरकारले पर्यटन विकासमा सघाउँछ

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय बूढानीलकण्ठमा निर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको आज उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्रीले रु दुई अर्ब ५० करोडको लगानीमा निर्मित एक सय दुई शय्यायुक्त होटलको उद्घाटन गर्नुभएको हो ।

होटलका माध्यमबाट देश विकासको यात्रामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले पर्यटकलाई आकर्षित गर्न नेपालमा धेरै सुन्दरस्थलका साथै उपयुक्त वातावरण भएकाले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताउनुभयो ।

प्रधानन्त्री ओलीले सुशासनसहित जनतालाई छिटोछरितो सेवा दिन सरकार क्रियाशील रहेको बताउनुभयो । “व्यवसायीहरु निर्वाधरुपमा व्यावसायिक काम गर्न सक्नुहुन्छ । कामका लागि कहीँकतै नजराना बुझाउनुपर्दैन । सरकारी निकायले गर्ने कामको फाइल रोकिँदैन । कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने पत्ता लगाउन हामीले प्रविधि बनाइसकेका छौँ ।” प्रधानन्त्री ओलीले भन्नुभयो, “तपाईहरु पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस् । सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज