पाल्पा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-१ प्युघाका चन्द्रबहादुर सारु थाहा पाउने भएदेखि नै खेतीपातीमै हुनुहुन्छ । उमेरले चार दशक भन्दा बढी पुगे पनि खेतबारीमा काम गर्दा उहाँलाई उत्तिकै जोश आउँछ, काम गरेर थाक्नुहुन्न । तर, विगत ४ वर्षदेखि भने सारुले बाँदरबाट हैरानी खेप्नु परेको छ । बारीमा जब मकै हुर्केर घोका हाल्न थाल्छ, तब हुल बाँधेर बाँदर आइपुग्छन् र फल्न लागेका मकै सबै सखाप पारिदिन्छ ।
‘३-४ वर्षअघि बाँदरहरु खासै देखिन्थेनन् । जब पाल्पा र स्याङ्जा जोड्ने पुल बन्यो तब यहाँ बाँदर आउन थाले,’ सारु सुनाउनुहुन्छ, ‘अहिले त बाँदर गाउँमै छिरे । गाउँमा छिरेका बाँदरले केही बाँकी छोडेनन् ।’ अरुबेला खासै दुःख नदिए पनि मकै फल्न थालेदेखि बाँदरको संख्या पनि एकाएक बढ्ने गरेको उहाँको गुनासो छ । मकै थन्काउने बेला बाँदरले सखाप नै पार्न थालेपछि प्युघाका किसान ३ वर्षदेखि पालैपालो पुलमा बसेर बाँदरको चौकीदार गर्दै आएका छन् ।
यहाँका ६५ घरपरिवार आलोपालो गरी विहानदेखि साँझासम्म पुलमै बस्ने गर्दछन् । मकै पाक्न लागेको समयमा बाँदरको समूह आएर बारीका मकै खाने गरेपछि आफुहरु पुलमा पाल टाँगेर चौकीदारी गर्ने गरेको किसान सारु बताउनुहुन्छ । बाँदर हेर्न यहाँका किसानले साउन पहिलो सातादेखि भदौ अन्तिमसम्मको समयतालिका नै प्रकाशन गरेर पालो बाँडेका छन् ।
दिनमा दुई घर परिवारका किसान विहानै साढे ४ बजे पुलमा पुग्छन् । पुलमा पानी ओत्ने र घाम छेक्ने त्रिपाल राखेर दिनभर बाँदरको चौकीदार बनेर बस्छन् । खाना, नास्ता समेत परिवारले उनीहरुलाई उही पुलमै पुर्याइदिन्छन् । दिनभर पुलमै बसेर साँझ ७ बजे मात्र उनीहरु घर फर्कन्छन् । ‘विहान ४ बजेपछि पुलमा नपुगे बाँदर बारीमा पसिसक्छन्’ किसान सारुले भन्नुभयो‘ विहान ४ः ३० मा हामी त्यही पुग्छौं, दिनभर पुलमै बस्छौं, साँझा बाँदर बास बसेपछि मात्र घर फर्कन्छौं ।’ चोकीदारीमा खटिनेहरु काेही जाल बुन्छन्, कोही नाम्लो, दाम्लो बुनेर दिन विताउने गर्छन् । ड्युटीमा नजानेहरुले ८ सय जरिवाना तिर्नुपर्ने किसान सारुले बताउनुभये । उहाँका अनुसार जरिवानाबाट संकलन भएको रकम गाउँकै कोषमा जम्मा हुने छ ।
पाल्पातिर पर्ने खेतका किसानले मकै स्याहारिसकेकाले बाँदर अहिले पारी प्युघातर्फ जाने गरेकाले त्यहाँका किसानलाई बाली जोगाउन हम्मे हम्मे भएको छ । तानसेनतिरको छेर्लुङ्गका फाँटहरुमा किसानले मकै भित्र्याई सकेकाले बाँदर छेर्लुङ्ग र प्युघा जोडिएको पुल हुुँदै पारी स्याङ्गजा पुग्ने गर्दछन् । जसले गर्दा पुल नजिकैका किसान बाँदर आतंकबाट आजित भएका छन् । बाँदरले बालीनाली सखाप पार्न थालेपछि यहाँका किसान पुलमा पाल राखेर दिनभर आलोपालो चौकीदार गर्न थालेका हुन् ।
‘गाउँमा बसिसकेपछि काम नगरेर भएन, केही न केही त गर्नैपर्यो । गर्दा पनि बाँदरले बसिखान नदिएपछि के गर्नु त,’ ड्युटीमा खटिनुभएका अर्का किसान सूर्य रेस्मीले भन्नुभयो, ‘अहिले हामी गाउँका दाजुभाई दिदीबहिनीहरु आलोपालो बाँदरको चौकीदार बसेका छौं ।’ आलोपालो बाँदर धपाउन थालेदेखि केही राहत भएको उहाँको भनाई छ । ‘दिउँसो पुलमा आएर बसेनौं भने सताउँछ, पाक्न लागेको मकै बालिमा क्षति पुर्याएपछि अहिले हामी गाउँभरका किसान पुलमा बस्न बाध्य छौं’ रेस्मीले भन्नुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा