बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा जग्गा चक्लाबन्दी गरि स्याउ खेती सुरु गरिएको छ । परम्परागत रुपमा खेती गरिदै आएको स्याउले राम्रो उत्पादन नदिएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई बागलुङको सहयोगमा गत वर्षदेखि आधुनिक प्रबिधिको प्रयोग गरि खेती गर्न थालिएको हो । ढोरपाटनमा वर्षौ अगाडिदेखि नै स्याउ खेती गर्दै आए पनि अपेक्षित रुपमा उत्पादन हुन सकेको थिएन ।
आर्थिक वर्ष २०८०/०८१ मा नवी गाउँको २८० रोपनी जमिन चक्लाबन्दी गरि स्याउ लगाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई बागलुङका प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो । मुस्ताङको मार्फादेखि चार हजार २०० विरुवा लिएर लगाएको उहाँको भनाइ छ । ढोरपाटनमा राम्रो स्याउ उत्पादन हुने हावा, पानी र माटो भएको हुँदा लगानी गरेको प्रमुख पौडेल बताउनुहुन्छ । लगाइएको स्याउका विरुवाले चार वर्षमा उत्पादन दिने भएपछि किसान पनि खुसी भएको उहाँको भनाइ छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको १७ लाख अनुदान र किसानको नौ लाख लगानीमा स्याउ खेती गरिएको हो । यस गाउँमा रेड डेलिसियस, गोल्डेन डेलिसियस, रोयल डेलिसियस जातका स्याउका विरुवा लगाएको पौडेलले जानकारी दिनुभयो । यस वर्ष पनि उक्त स्याउका विरुवा राम्रोसँग हुर्काउनका लागि किसानलाई तालिमसहितका कार्यक्रम संचालन गरिने उहाँ बताउनुहुन्छ । नवी गाउँको तल्लो बिजउले कृषक समूह र नवी प्रगतिशील कृषक समूहमार्फत किसानलाई जोडेर स्याउ खेती थालिएको पौडलको भनाइ छ ।
उहाँले भन्नुभयो, “नवी गाउँमा पहिलेदेखि रैथाने जातका स्याउ खेती गर्दै आउनु भएको रैछ, किसानहरुले राम्रो स्याहार सुसार र काँटछाँट नगर्दा उत्पादन राम्रो हुन सकेको थिएन, गत आर्थिक वर्षमा हामीहरुले किसनालाई नयाँ जातका स्याउका विरुवा लिएर उत्पादन गर्न लगाएका छौँ, आवश्यक अनुदान र प्राबिधिक सहयोग पनि गरि रहेका छौँ, यो स्याउले अबको दुई÷तीन वर्षमै उत्पादन दिन्छ, किसानले विरुवा हुर्काउन सके धेरै लाभ लिन सक्ने छन् ।”
नवी गाउँका किसान नन्दे सुनारले यस क्षेत्रमा आफूहरुले झण्डै दुई दशक अगाडिदेखि स्याउ खेती गर्दै आएको भन्दै राम्रो लाभ भने लिन नसकेको बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ठूलो लगानी गरेर गाउँमा स्याउ खेती गर्न प्रेरित गर्दा किसान उत्साहित भएको उहाँको भनाइ छ । ढोरपाटन आलु र स्याउका लागि प्रख्यात मानिदै आए पनि किसानमाहरुमा प्राबिधिक ज्ञान नहुँदा उत्पादन बढाउन नसकेको सुनार बताउनुहुन्छ ।
“प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट यति ठूलो सहयोग पाउँदा हामीहरु धेरै खुसी भएका छौँ, पहिले बारीहरु खाली हुन्थे, अव्यवस्थित थिए, अहिले चक्लाबन्दी गरेर स्याउ लगाएपछि बाँझो जग्गा पनि प्रयोगमा आएको छ,” सुनारले भन्नुभयो – “स्याउका विरुवा पनि राम्रोसँग बढ्दै छन्, केही पानी र मलको कमी हुँदा मरे तर धेरै जसो राम्रो तरिकाले हुर्किदै गएका छन्, यि विरुवाहरुले फल दिन थालेपछि धेरै किसानहरुको आयआजर्नमा वृद्धि हुने अपेक्षा गरेका छौँ ।”
स्थानीय झकेन्द्र सुनारले अहिले गाउँका धेरै किसानले व्यवसायिक रुपमा स्याउ खेती तर्फ चासो दिएको बताउनुभयो । गाउँमा रहेका कृषि समूहमार्फत धेरै स्थानीयलाई जोडेर स्याउ खेतीमा लागेको उहाँको भनाइ छ । अहिले पनि नवी गाउँका बारीहरुमा थुप्रै स्याउका बोटहरु रहे पनि ति बोटमा निकै साना आकारमा फल फल्ने र मीठो समेत नहुने सुनार बताउनुहुन्छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts