रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न निजामती कर्मचारीहरुलाई आह्वान गर्नु भएको छ । निजामती सेवा दिवस २०८१ का अवसरमा जिल्ला प्रशासन कार्यालयले शनिवार अर्घाखाँचीमा आयोजना गरेकाे शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सेवा प्रवाहलाई चुस्त, छिटो छरितो, विश्वासिलो र जनउत्तरदायी बनाउन आह्वान गर्नु भएको हो ।
कर्मचारीहरु प्रति समाजले हेर्ने दृृष्टिकोणमा परिवर्तन आउन थालेको भन्दै सकारात्मक परिवर्तनका लागि कर्मचारीले प्रदान गर्ने सेवा प्रवाहमा पारदर्शिता, जवाफदेही र उत्तरदायीपूर्ण हुनुपर्ने भनाइ मुख्यमन्त्री आचार्यको छ । हरेक क्षेत्रमा पारदर्शिता, जवाफदेही अनि उत्तरदायित्व आवश्यक पर्छ ।
'कर्मचारीले दिने सेवामा यी बिषय महत्त्वपूर्ण हुने भएकाले ध्यान दिन जरुरी छ', उहाँले भन्नुभयो-'कर्मचारी प्रति समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सेवा प्रवाहलाई नागरिक मैत्री, सुशासन र जवाफदेही युक्त बनाउन जरुरी छ ।' यस्तै सम्बोधनको क्रममा मुख्यमन्त्री आचार्यले हुने कामहरुलाई पनि कानुनी कुरा देखाएर अलमल्याउने काम गर्न नहुनेमा जोड दिनुभयो ।
'छिटो छरितो सेवाको आवश्यकता छ । तर, हामी हुने कामलाई पनि कानुको शिरानी हालेर, कानुनको आड लिएर कतिपय गाँठोहरु आफै पार्ने गर्छाैं' उहाँले भन्नुभयो-'म विनम्रताका साथ अनुरोध गर्न चाहन्छु, हामिले कानुनको गाँठो पारेर, त्यो शिसानी हालेर जनसेवा हुन सक्दैन । यदि कानुन गाँठो परेको छ भने त्यसलाई कसरी फुकाउन सकिन्छ, हामी त्यसको निकास खोज्न तिर लाग्न जरुरी छ ।'
मुख्यमन्त्री आचार्यले कर्मचारी तहले बल्झाउने भन्दा निकास खोज्ने काममा सक्रियता बढाउन जरुरी रहेको धारणा राख्नु भयो । 'मैले धेरै ठाउँमा देख्ने गर्छु । निकास खोज्न भन्दा बल्झाउनेतिर जाने जुन खालेको हाम्रो परिपाटी को विकास भएको छ, यसको अन्त्य हुन जरुरी छ', मुख्यमन्त्री आचार्यले भन्नुभयो-'प्रदेश सरकार निजामती कर्मचारीहरुको हौसला र उत्साह बढाउन तयार छ ।'
त्यहीँ अनुसार निजामती सेवा ऐनहरुमा वृत्तिविकासका अवसरहरु समावेश छन् । यस्तै प्रदेशमा देखिएको कर्मचारीको अभाव हटाउन लोक सेवा आयोग मार्फत झण्डै २ हजार कर्मचारी भर्नाको विज्ञापन खोल्ने तयारी सरकारले गरेको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो । निजामती कर्मचारी दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगितामा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत तथा सम्मानित गरिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता