खोटाङ । अविरल वर्षाका कारण खोटाङमा एकवटा पेट्रोल पम्पको ट्याङकी उक्काईदिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा रहेको हलेसी आयल ट्रेड एण्ड सप्लायर्स नामको पेट्रोल पम्पको डिजेलको ट्याङकी उक्काईदिएको हो ।
बिहीबार बिहान परेको पानीले पम्पभन्दा माथिको सडकको लेदो र गेग्रान बगाएर ल्याई पम्पमा पस्दा १७ हजार लिटर डिजेल भरेको ट्याङकीमा क्षति पुगेको छ।
ट्याङकी, मोटर, अन्य मेशिन र संरचानमा क्षति पुग्दा ५० लाखको क्षति भएको पम्म सञ्चालक महेन्द्र राईले बताउनुभयो । क्षतिको पुगेको ट्याङकी लगायत अन्य मेशिनको चेकजाँच भईरहेको छ ।
घर, पसल, होटलमा भलबाढी पस्दा १९ लाखको क्षति
सडकको हिमपाइप थुनिएर दिक्तेलबजारको रत्नपार्क आसपासका घर, पसल र होटलमा भलबाढी पस्दा झण्डै १९ लाख बराबरको क्षति भएको छ । बुधबार रातीदेखि परेको पानीका कारण बिहीबार बिहान रत्नपार्क र बाम्राङको सिमाना(मध्यपहाडी लोकमार्ग) मुनीको खहरे खोलामा लगाईएको एकवटा हिमपाइप थुनिदा उक्त क्षति भएको हो ।
हिमपाइप थुनिएपछि सडकको नाली र सडक हुँदै आएको भलबाढीले रत्नपार्क जिरोप्वइन्टमा रहेको रुसा स्टोरको चामल, चिनी, दाल, चोकर, मकै चिउरा लगायत अन्य किराना सामान भिजि नष्ट हुँदा सात लाखको क्षति भएको छ । न्यु काभ्रो स्टोर गोदाममा १० बोरा चामल भिजि नष्ट हुँदा २० हजार, एलिना होटलको चामलको बोरा, पिठो, किराना सामान भिज्दा दश हजार र चोमोलुङमा होटल एण्ड लजको चामलको बोरा, लत्ताकपडा लगायत अन्य खाद्यान्न सामान भिजि नष्ट हुँदा एक लाखको क्षति भएको छ ।
रत्नपार्ककै होण्डा सोरुममा रहेको विभिन्न पार्टसको सामानभित्र पानी पसेर नष्ट हुँदा दश लाख, लाहुरे हार्डवेयरको प्लाई, सिमेन्ट भिज्दा ४० हजार र रुद्र कुमार श्रेष्ठको निर्माणाधिन घरमा राखेको १० बोरा सिमेन्ट भिज्दा ८ हजारको क्षति भएको प्रहरी जनाएको छ ।
थुनिएको हिमपाइप खुलाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सडक विभागको जेसिभी प्रयोग गरिएको थियो । जेसिभीले हिमपाइप खुलाउन नसकेपछि केही अगाडीबाट बैकल्पिक रुपमा भलबाढीलाई खोलामै फर्काइएपछि दिक्तेलबजारको रत्नपार्क सामान्य अवस्थामा फर्किएको छ । भलबाढीले थुपारेको गेग्रान र फोहोरमैला जनपथ प्रहरी, सशस्त्र प्रहरीले सफा गरेको छ ।
यस्तै, अविरल वर्षाका कारण रावाबेंशी गाउँपालिका–१ कुभिण्डे सिस्नेका मान बहादुर तामाङको एकतले कच्ची घरमाथि भित्तामा पहिरो जाँदा घर जोखिममा परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ओमनारायण कार्कीको घरमूनिबाट पहिरो जाँदा घर जोखिममा परेको छ ।
यसैगरी, वर्षाका कारण साकेला गाउँपालिका–२ रतन्छास्थित सरस्वती माध्यमिक विद्यालयको कम्पाउण्ड वाल भत्किदा २० लाख बराबरको क्षति भएको छ। बिहीबार बिहान ९ बजे विद्यालयको कम्पाउण्ड वाल नजिकैबाट पहिरो गई २०÷२२ मिटर कम्पाउण्ड वाल भत्किएको प्रहरीले जनाएको छ ।






