बागलुङ । लामो समयदेखि अलपत्र परेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङमा काम सुरु भएको छ । २६ वर्ष अगाडि ट्रयाक खुलेको लोकमार्गको बिहुँ खण्डमा काम सुरु भएको हो ।
बागलुङ बजारको उपल्लाचौरदेखि घोडाबाँधेसम्म २५ किलोमिटर सडक कालोपत्रका लागि करिब एक दशक अगाडि सम्झौता भएपनि अहिलेसम्म काम पूरा हुन सकेको छैन । २५ किलोमिटर सडक कालोपत्रका लागि दुई खण्डमा विभाजन गरि दुई निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो ।
पहिलो खण्ड उपल्लाचौरदेखि कोपीला घुम्तीसम्मको १३ किलोमिटर सडकको भारत/सिद्धिसाई जेवीसँग वि.सं. २०७३ माघमा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । अहिलेसम्म पाँच पटक म्याद थप गर्दासमेत बल्ल सात किलोमिटर सडक मात्रै कालोपत्रे गरेको छ भने अझै छ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको छ । यस खण्ड गत आर्थिक वर्षमा नसकिएपछि निर्माण कम्पनीले आगामी पौष मसान्तसम्म सक्ने गरि म्याद थप गरेको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरे पनि नौ वर्षसम्म काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको थियो ।
दोस्रो काठेखोला गाउँपालिकाको कोपीला घुम्तीदेखि घोडाबाँधेसम्म १२ किलोमिटर दोस्रो खण्ड वि.सं. २०७२ साल माघमा जिम्मा पाएको एम.पी÷एस.सी.एफ÷ई.सीसी जेभी गत पौष महिनामा कालो सूचीमा परेको थियो । एम.पी सितानी एण्ड सन्स पश्चिम बङ्गाल भारत सूर्य कन्स्ट्रक्सन फर्म सुर्खेत र एलिट कन्स्ट्रक्सन प्रालि सुकेधारा काठमाडौँले संयुक्त रुपमा ठेक्का लिएका थिए । निर्माण कम्पनी कालो सूचीमा परेपछि ठेक्कानै टोडिएको थियो । यस खण्डका लागि अर्थ मन्त्रालयले गत फागुनमा ३३ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको थियो । गत असारमा निर्माण कम्पनीसँग नयाँ ठेक्का सम्झौता गरि काम सुरु भएको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वत कुश्माका सूचना अधिकारी इन्जिनियर धिरज ढकालले जानकारी दिनुभयो ।
पहिलो खण्डमा निर्माण कम्पनीले अहिले काम गरि रहेको हुँदा पौषसम्म म्याद दिएको भन्दै दोस्रो खण्डको कामका लागि दुई सक्ने गरि तामाङ÷रिजाल÷भगवती जेभीले जिम्मा लिएको ढकालको भनाइ छ । २१ करोड रुपैयाँमा ठेक्का लगाएको उहाँले जानकारी दिनुभयो । पहिलो खण्डमा करिब २५ प्रतिशत काम बाँकी रहेको ढकाल बताउनुहुन्छ । नयाँ ठेक्का लगाएको दोस्रो खण्डमा २६ प्रतिशत काम गर्न बाँकी रहेको उहाँको भनाइ छ । यस खण्डको १२ किलोमिटर मध्ये छ किलोमिटर कालोपत्र भइसकेको छ । अब केही स्थानमा सडक फराकिलो बनाउने र सात किलोमित्रटर कालोपत्र गर्न बाँकी रहेको सूचना अधिकारी ढकाल बताउनुहुन्छ ।
“लामो समयसम्म निर्माण कम्पनीले काम नगरेपछि दोस्रो खण्डको ठेक्का गत असारमा टोडिएको थियो, अहिले नयाँ ठेक्का आह्वान गरि सम्झौता भएर काम सुरु गरेको छ, पहिलो खण्डमा पुरानै निर्माण कम्पनीले काम गरि रहेको छ,” ढकालले भन्नुभयो – “सम्झौता भएको केही समयमै निमार्ण कम्पनीले मेसिन फिल्डमा लगाएको छ, तल्लो खण्डमा पनि अब करिब काम सक्ने चरणमा देखिन्छ । वर्षा रोकियो भने कालोपत्र गर्ने संभावना देखिन्छ ।”
लामो समयपछि निर्माण कम्पनीले सडकमा मेसिन लगाएर काम सुरु गरेपछि स्थानीय खुसी भएका छन् । काठेखोला गाउँपालिका–५ का पदमप्रसाद कँडेलले लामो समयसम्म सडक कालोपत्र नहुँदा लोकमार्ग छेउछाउँका बस्तीनै हिलो र धुलोले विस्थापित हुनु परेको भन्दै नयाँ ठेक्का लगाएपछि काम हुने आशा पलाएको उहाँको भनाइ छ । अहिले दुवै खण्डमा निर्माण कम्पनीले तदारुकता देखाएर काम गरि रहेको कँडेल बताउनुहुन्छ । सडक कालोपत्र भएपछि हिउँदमा हिलो र बर्खामा हिलोले आजित हुन नपर्ने उहाँले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts