पाल्पा । नेपाली काँग्रेस पाल्पाका पूर्व सभापती तथा प्रजातन्त्र सेनानी ठाकुर चन्द्र (विप्र) कोइरालाको निधन भएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा विप्रको ८५ वर्षको उमेरमा विहीबार आफ्नै निवास तानसेन–७ बर्तुङमा निधन भएको हो ।
वि.स. १९९६ भाद्र ३० गते पाल्पामा जन्मिका कोइराला २०४८ देखि २०५२ सम्म नेपाली काँग्रेस पाल्पाको सभापति हुनुहुन्थ्यो । पार्टीको विभिन्न तहमा रही कार्य गर्नुभएका स्वर्गीय कोइराला संगठन निर्माणको क्रममा वि.सं. २०१५ मा युवा काँग्रेस पाल्पाको अध्यक्ष बन्नुभएको थियो । काँग्रेसमा सादगी नेताको रुपमा परिचित उहाँ प्रजातन्त्रको पुर्नस्थापनाका निम्ति वि.सं. २०१७ देखि २०४६ सालसम्म भएका विभिन्न आन्दोलनहरुमा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।
वि.सं. २०४२ को सत्याग्रहदेखि २०४६ सम्मका जनआन्दोलनमा कोइराला अग्रमोर्चामै रहेर काम गर्नुभयो । आन्दोलनका क्रममा पटक–पटक जेल जीवन विताउनुभएका उहाँ प्रजातान्त्रिक आन्दोलनको मोर्चामा जहिल्यै निडर, प्रखर, अग्रणी र बफादार भूमिकामा रहनुभयो ।
कोइरालाको निधनबाट पार्टीले एक अग्रज र अनुभवी अभिभावकलाई गुमाएको काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताउनुभयो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोइरालाको निधनमा दुःख व्यक्त गर्नुभएको छ । उहाँको निधनप्रति शोक वक्तव्य जारी गर्दै भन्नुभएको छ ‘नेपाली कांग्रेस पाल्पाका पूर्व सभापति ठाकुरचन्द्र (विप्र) कोइरालाको निधनको खबरले मलाई स्तब्ध र दुःखि बनाएको छ ।'
नेपाली कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनहरूमा उहाँले निर्वाह गर्नु भएको सक्रिय भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’
कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि काँग्रेसका नेताहरु उहाँको निवास बर्तुङ पुुगेका छन् । आज नै उहाँको राम्दीमा दाहसंस्कार गरिने वडा अध्यक्ष सागरमान महर्जनले बताउनुभयो । स्वर्गीय कोइरालाका श्रीमती, तीन छोरा र एक छोरी हुन् । तीन छोरा मध्ये दुई छोरा र श्रीमतिको निधन भइसकेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts