ओखलढुंगा । ‘हिलेजात्रा’ प्रकृति र उत्पादनसँग जोडेर संस्कृतिको रुपमा नेवार समुदायले मनाउने एक महत्वपूर्ण चाड हो । साउन महिनाको चतुर्दशी (घण्टाकर्ण) देखि शुरुगरी कृष्णजन्माष्टमीको भोलिपल्ट सम्म मनाउने गर्दछन् ।
‘हिलेजात्रा’ मल्लकालीन राजा प्रताप मल्लको पालाबाट मनाउने चलन शुरु भएको किंबदन्ति छ । नेवारी कला, संस्कृति र परम्परानुसार देखाईने हिलेजात्रा अन्तर्गत लाखेजात्रा, गाइजात्रा, रोपाँईजात्रा लगायतका जात्राहरु मनाउने चलन रहेको छ ।
रोपाई सकिएपछि उत्पादन वृद्धिका लागि यो जात्रा मनाउने गरिन्छ ।
वर्षाको समयमा काम गरेर थाकेको बेलामा आगामी वर्ष सम्म जीवनमा सहज रहोस भनी नेवारी भेषभूषामा आधारीत मनोरञ्जनात्मक नृत्य, कला, कमेडी, हास्यब्यंग्य प्रस्तुत गर्दै बजार परिक्रमा गर्ने चलन छ । विशेष गरी नागपञ्चमी, जनैपुर्णिमाको दिन लाखेजात्रा मनाउने चलन रहे पनि हिलेजात्राको अवधीमा विभिन्न समयमा लाखेजात्रा देखाउने चलन रहेको छ । गाईजात्रा मनाईसकेपछी रोपाँईजात्रा मनाउने चलन रहेको छ । काठमाण्डौबाट अन्य जिल्लामा बसाई सरी ब्यापारको सिलसिलामा आएका नेवार समुदायले नेवारी संस्कारको हिलेजात्रा जिल्लामा भित्रिएको हो ।
‘हिलेजात्रा’ विशेषगरी उत्पानदन सँग सम्बन्धित छ । वर्षयामको शुरु सँगै आफुले लगाएको खेतीबाली राम्रो होस भनेर र खेतिबालीको सुरक्षाका लागि देवताहरुको कृपा प्राप्त गर्न मनाउन शुरु गरिएको बुढापाकाहरु बताउछन् । हिलेजात्रामा स्थानियरुपमा भएका देवीदेवताको पूजाआजा गर्ने चलन रहेको छ । हिलेजात्राले संस्कृतिको जगेर्ना हुनुका साथै मनोरञ्जन पनि दिने गरेको छ ।
लामो सयम मनाउने यि यस्ताखालका जात्राले आन्तरिक पर्यटन प्रबद्र्धन गर्न सहयोग पुगेको स्थानिय जानकारहरु बताउछन् । यो चाड नेवारी वस्ती भएको ठाउँ काठमाण्डौ भ्याली लगायत जिल्ला–जिल्लाका सदरमुकाम गाउँघरमा समेत मनाउने गरिएको छ । पछिल्लो समय युवाहरु विदेशीएका कारण यस्ता खालका जात्राहरु लोप हुने हुन की भन्ने शंका उब्जन थालेको छ । अध्ययन र रोजगारीको सिलसिलामा अधिकाँश युवाहरु विदेश पलायन हुने र गाउँघरमा भएका बुढापाकाहरु जात्रामा खट्न नसक्ने भएकाले यस्ताखालका मनोरञ्जनात्मक जात्रा लोप हुने शंका छ ।
यो पर्व साउन शुक्ल चतुर्दशीका दिन मनाउने गरिन्छ । यसलाई गठेमंगल वा घण्टाकर्ण चतुर्दशी पनि भन्ने गरिएको छ । पौराणीक किंवदन्ती अनुसार, घण्टाकर्ण एक राक्षस थियो । जसले आफ्नो कानमा ठुला–ठुला घण्टी बाँधेर हिड्ने गर्दथ्यो । महिला, बालबालीका, पशुचौपया आदिलाई दुःख दिँदै गाउँमा आतंक मच्चाउदै हिड्ने गर्दथ्यो । मानिसहरु घण्टाकर्णबाट मुक्ति पाउन भगवानको आराधना गर्ने गर्दथे । एकदिन मानिसहरुको चतु¥याँईले घण्टाकर्णलाई फसाएर नष्ट गरे । घण्टाकर्णलाई नष्ट गरी, घण्टाकर्णको पराजय र मानिसहरुको विजय उत्सवको रुपमा यो पर्व मनाउन शुरु गरिएको हो । साउन शुक्ल चतुर्दशीका दिन पराल र बाँसको घण्टाकर्णको ठुलो पुत्ला बनाँई विभिन्न खालका रङ र कपडाहरुले सजाई घाँटीमा घण्टी झुण्ड्याई दिनभरी चोकमा राखिन्छ र बेलुका जलाईन्छ । पुत्ला जलाएपछि राक्षसको शक्तिलाई जलाई, नकारात्मक उर्जा हटाई समाजमा सकारात्मक उर्जा र शुद्धताको शुरुवात भएको मानिन्छ ।
लाखेजात्रा ऐतिहाँसिक, पौराणिक र साँस्कृतिक महत्वको पर्व हो । यो चाडले धर्मको विजय, साँस्कृतिक परम्पराहरुको संरक्षणको प्रतिनिधित्व गर्दछ । लाखेजात्रामा विभिन्न देवीदेवता लगायतका आकृती झल्कीने मखुण्डो, विभिन्न रंगका लुगा लगाएर नाच्दै मनोरञ्जन दिदै बजार परिक्रमा गर्ने चलन छ । विशेषगरी युवायुवतीहरुले विभिन्न देवताहरुका आकृतीका मखुण्डो लगाएर मनोरञ्जन गराउने चलन रहेको छ । घण्टाकर्ण भन्दा पछाडी जुनसुकै दिनमा पनि लाखेनाच नाचिन्छ । विशेष गरी नागपञ्चमी, जनैपुर्णिमा र कृष्णाष्टमीका दिन महत्वका साथ लाखेनाँच नाचिने गरेको छ । लाखेनाँच संस्कृतिसँग जोडिनुका साथै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न समेत टेवा पु¥याउने गरेको स्थानियको बुझाई छ ।
परम्परागत कथन अनुसार राजा प्रताप मल्लले गाईजात्रा मनाउने चलन शुरु गर्नुृभएको हो । राजा प्रताप मल्लको छोराको बाल्यकालमा नै निधन भयो । जसका कारण उहाँकी रानी अत्यन्तै दुःखी भई लामो समय सम्म शोकमा डुब्नु भयो । जति प्रयास गरेपनि रानीलाई शोकबाट निकाल्न नसके पछि राजाले रानीलाई शोकबाट बाहिर निकाल्नको लागि एउटा युक्ति निकाल्नु भयो । रानीलाई सम्झाउन, अरुका परिवारमा पनि मान्छे (परिवार सदस्य) हरु मर्छन भन्ने देखाउने युक्ति निकाल्नु भयो । र काठमाण्डौ भ्यालीभरी एक वर्षभित्र ज–जसका घरमा मान्छे मरेका छन् उनिहरुले मृतक आफन्तको सम्झनामा अनिवार्य रुपमा गाईसहित शोभायात्रा निकाल्न लगाउनु भयो । शहर भरीका आफ्ना आफन्त गुमाएका परिवारले गाईसहितको शोभायात्रा गरेर रानीलाई देखाइयो । त्यो गाई सहितको शोभायात्रा देखेर रानीले सबै परिवारले आफ्ना प्रिय मान्छे गुमाएको थाहा पाउनु भएछ । यस्तो दुःख आफुलाई मात्रै नभई अरुलाई पनि परेको देखेर चित्त बुझाएको किंवदन्ती छ । सोई समय देखि नेपालमा गाईजात्रा मनाउन शुरु गरिएको हो ।
गाईजात्रा जनैपुर्णिमाको भोलीपल्ट मनाउने चलन रहेको छ । एकवर्ष भित्र दिवंगत भएका मानिसको संझनास्वरुप र दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै गाईजात्रा निकाल्ने चलन रहेको छ । गाईजात्रा निकालीसकेपछी एकवर्ष भित्र मृत्यु भएका ब्यक्तिको जीवनीमा आधारीत रामायण, शोकगाथाको रुपमा गाउने चलन छ ।
प्रत्येक वर्ष गाईजात्रा मनाएपछि कृष्णअष्टमीको अघिल्लो दिनसम्म कुनै पनि दिनमा रोपाइजात्रा मनाउने चलन रहेको छ । रोपाँई जात्रामा नेवारी भेषभूषामा सजिने र विभिन्न कमेडी गर्नुका साथै नृत्यहरु पनि प्रस्तुत गर्दै बजार परिक्रमा गराइन्छ । रोपाँई गर्दा आवश्यक पर्ने हलोजुवा, गोरु, रोपाहार, बाउसेको नक्कल प्रस्तुत गर्दछन् । लाठेहरुले बाउसे गर्ने र रोपाहारहरुले धानको बिउ हातमा लिएर कलात्मक रुपमा धान रोपाई गरिन्छ । रोपाई जात्रामा विभिन्न खालका मान्छेहरुको नक्कल गर्नुका साथै ब्यङ्ग्यात्मक प्रस्तुती समेत गर्ने गरिन्छ । रोपाईजात्रा कृषी उत्पादन सँग जोडिएको रमाईलो पर्व हो । यसमा खेति गर्न प्रयोग गरिने कृषीऔजारहरु बोकेर विहान देखि बजारमा हिड्ने गरिन्छ भने सामुहिक रुपमा विभिन्न किसिमका गितहरु गाउदै हिड्ने चलन छ ।
हिन्दु धर्ममा भगवान कृष्णलाई विष्णुको ८औँ अवतार मानिन्छ । उहाँलाई सत्य, प्रेम धर्म र न्यायको प्रतीकको रुपमा पूजा गरिन्छ । कृष्णजन्माष्टमीको भोली पल्ट कृष्णलाई रथमा राखेर रथयात्रा गर्दै बजार परिक्रमा गराउने चलन रहेको छ । कृष्णको प्रतिमा राखेर तयार पारिएको रथ लिएर कृष्णभजन गाउदै बजार परिक्रमा गर्ने गर्दछन् । रातको १२ बजे कृष्णको जन्म हुने र राक्षसहरुको नाश हुने भन्दै त्यसको खुशियालीमा कृष्णलाई रथमा राखेर बजार परिक्रमा गराउने चलन रहेको छ ।
घण्टकर्णबाट शुरु हुने यो जात्रा कृष्णाष्टमीको भोलिपल्ट रथयात्रा गरी समापन गरिन्छ ।






