कोसी पलार क्षेत्रबाट पूर्व डीआइजी र बहालवाला सईसहित १० जना प्रहरी नियन्त्रणमा

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 5 mins

राजविराज । प्रहरीले बँदेल मारेको आरोपमा पूर्व डीआईजीसहित १० जना पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका -१ स्थित कोसी पलार क्षेत्रबाट बुधबार राति मारिएको बँदेलसहित १० जना शिकारीलाई पक्राउ गरेको हो ।

साे क्षेत्रबाट पूर्व डीआइजी र बहालवाला सईसहित १० जनालाई सप्तरी प्रहरीले बुधबार मध्यराति नियन्त्रणमा लिएको हाे ।

बँदेलसहितका जङ्गली जनावर शिकार गरिरहेको अवस्थामा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित योगिनियाँ कोशी पलारबाट बुधवार राति शिकार गरिएको बँदेल र अवैध हतियारसहित पूर्व उपसभामुखका छोरादेखि नेपाल प्रहरीका पूर्व डीआईजीसम्मलाई पक्राउ गरेकाे प्रहरीले जनाएको छ ।

कोसी पलार क्षेत्रमा जङ्गली जनावर शिकार गरिरहेको अवस्थामा पूर्व उपसभामुख गङ्गाप्रसाद यादवको छोरा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-९ का ३७ वर्षीय आकाश यादव र नेपाल प्रहरीका पूर्व डीआईजी सुनसरीको इटहरी उपमहानगरपालिका-२ का ६१ वर्षीय ज्ञानविक्रम शाह रङ्गेहात पक्राउ परेका हुन् ।

शिकारको क्रममा नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने समेत पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका-३ का ४४ वर्षीय न्यौपाने हाल मधेश प्रदेशको बर्दीबासमा कार्यरत छन् ।

शिकारीहरुमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-२ का ५१ वर्षीय जनार्दन राउत, सोही नगरपालिका-५ का २३ वर्षीय ओम शंकर प्रसेला, १ का ५० वर्षीय लक्ष्मण मण्डल र वडा नम्बर ३ पोर्ताहाका ५१ वर्षीय शंकर प्रसाद यादव, तिरहुत गाउँपालिका-२ का २१ वर्षीय लक्ष्मण मण्डल, राजविराज नगरपालिका-७ का २५ वर्षीय रविन दास र सुनसरीको इटहरी उपमहानगरपालिका-१० का ३३ वर्षीय प्रदिप लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी ढुण्डिराज न्याैपानेले जानकारी दिनुभएको छ ।

ADVERTISEMENT

उहाँकाअनुसार उनीहरूको साथबाट पोइन्ट २२ क्यालिबर राइफल एक, सो राइफलमा लाग्ने १५ राउन्ड गोली, २ थान म्यागजिन, बाइनाकुलर ३ थान, ट्राइपोर्ट, हथौडा र खुर्पा एक/एक थान तथा शिकार गरिएको एउटा बँदेल, प्रदेश ३-०१-०२२ च ६८५५ नम्बरको स्कारपियो र को २ त ६९ नम्बरको ट्रयाक्टर बरामद गरिएको हो ।

उता, स्थानीय स्रोतका अनुसार पूर्व डीआईडीको साथबाट अवैध हतियारसमेत बरामद भएको र उनको छुट्टै कार तथा त्यसमा रहेका अरु हतियारहरू प्रहरीले बरामद गर्न सकेन ।  श्रोतका अनुसार पूर्व  डीआईडीको कार भारदह-पोर्ताहा क्षेत्रमै राखिएको छ ।

कोसी टप्पु क्षेत्र र कोशी नदी क्षेत्रमा पछिल्लो ४-५ वर्षदेखि पूर्व डीआईजी शाहको नेतृत्वमा यी पक्राउ परेका शिकारीहरुले जंगली जनावरको शिकार गर्दै आएपनि पक्राउ पर्न सकेको थिएन । कोशी क्षेत्रमा गाँजा तस्करीको अप्रेशनमा खटिएका नेपाल प्रहरीका टोलीले शिकारीहरुलाई पक्राउ गरेको हो ।

यसअघि गत माघ १९ गते एउटा मृग र हतियारसहित राजविराज नगरपालिका-५ का डा. शैलेशकुमार झा पक्राउ परेका थिए । उनी पनि यही शिकारी गिरोहका सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?