लघुकथाप्रति लेखकीय र पाठकीय आकर्षण बढिरहेको अवस्थामा निकै ऊर्जावान सर्जक कृष्ण बजगाईं आफ्नो नवीनतम लघुकथासङ्ग्रह ‘नग्न स्वप्न’ लिएर पाठकसामु आएका छन् । यो लघुकथासङ्ग्रहमा विविध विषय-सन्दर्भमाथि लेखिएका ६१ वटा लघुकथा सङ्गृहीत छन् । यो सङ्ग्रहलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको छ । वर्तमान समय र समाजमा मान्छेका विसङ्गत र विद्रुप भोगाइहरूलाई सर्जक कृष्ण बजगाईंले लघुकथामा उतारेका छन् । चेतनशील, भावुक, संवेदनशील र कल्पनाशील सर्जक कृष्ण बजगाईंले मान्छेको मनलाई उद्वेलित बनाइराख्ने वर्तमान समय र समाजका केही बेथिति र विडम्बनाका विषयहरूलाई लघुकथामा उठान गरेका छन् ।
‘नग्न स्वप्न’ लघुकथासङ्ग्रहभित्रका लघुकथाहरू समसामयिक विषयवस्तुका चोटिला र प्रभावशाली छन् । लघुकथाहरू समसामयिक सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक आदि विषयवस्तुलाई केन्द्रमा राखेर लेखिएका छन् । सङ्ग्रहका लघुकथामा विषयविविधता छ । यद्यपि सबै लघुकथाहरूले विडम्बनाहरूको चिरफार र बेथितिमाथि प्रहार गरेका छन् । विशेषतः सामाजिक यथार्थ, राजनीतिक व्यङ्ग्यचेत, मानवीय संवेदना, चरित्रगत आचरण, गरिबी, अभावको पीडा, विदेसिनुपर्ने बाध्यता, त्यसले सिर्जना गरेको सामाजिक समस्या, मानवीय संवेदना, पर्यावरणीय चेतना आदि यस लघुकथा सङ्ग्रहमा मुख्य विषयवस्तु बनेर आएका छन् ।
राज्य सञ्चालनमा सबैभन्दा अहम् भूमिका राजनीतिको हुने र यसले बहुआयामिक प्रभाव पार्ने हुँदा राजनीतिभित्रको बेथितिले धेरै र सबै तहका मान्छेलाई पीडा, हैरानी र सास्ती दिने गर्दछ । त्यसैले बजगाईंले राजनीतिक बेथितिलाई आफ्ना सिर्जनाको प्रभावशाली विषयवस्तुको रूपमा चयन गरेका छन् ।
उत्कृष्ठ कथाकथन, संप्रेष्य भाषाशैली, नवीनतम प्रस्तुति, हृदयस्पर्शी अनुभूति, लक्षण अथवा अभिधा अर्थ, सामाजिक यथार्थको चित्रण, नवीनतम विचार र कल्पनाशीलता अनि स्वैरकल्पनाको माध्यमबाट अभिव्यक्त गर्ने कुशलता आदिले यस सङ्ग्रहका लघुकथाहरू निकै ओजपूर्ण बनेका छन् । लघुकथा सिद्धान्ततः चोटिला हुन्छन् नै । जसले च्वास्स आगोले झैँ पोल्छन् र मस्तिष्कलाई सन्न बनाउँछन् । यस सङ्ग्रहका धेरैवटा लघुकथाले यसैगरी च्वास्स पार्ने सामथ्र्य बोकेका छन् ।
हामी बाँचेको परिवेशमा सामाजिक, राजनीतिक र सांस्कृतिक बेथितिहरू छन् । तीमध्ये सबैभन्दा धेरै पीडादायी र दुःखदायी चाहिँ राजनीतिक बेथितिहरू छन् । राज्य सञ्चालनमा सबैभन्दा अहम् भूमिका राजनीतिको हुने र यसले बहुआयामिक प्रभाव पार्ने हुँदा राजनीतिभित्रको बेथितिले धेरै र सबै तहका मान्छेलाई पीडा, हैरानी र सास्ती दिने गर्दछ । त्यसैले सर्जक कृष्ण बजगाईंले राजनीतिक बेथितिलाई आफ्ना सिर्जनाको प्रभावशाली विषयवस्तुको रूपमा चयन गरेका छन् र त्यस्ता बेथितिमाथि कसिलो व्यङ्ग्य प्रहार गरेका छन् ।
‘समयबोध’ लघुकथामा स्वैरकल्पना छ । प्रचलित कथा वा लुघकथाभन्दा भिन्न विषय र प्रस्तुति रहेको यो लघुकथा निकै रोचक छ ।
लेखकको कल्पनाशीलता बेजोड छ । ‘बाध्यता’ मा बाध्यताले मान्छेलाई जे पनि बनाउन सक्छ र जे पनि गराउन सक्छ भन्ने निचोड छ । जीवनको अपत्यारिलो तर अति यथार्थलाई ‘महासंयोग’ मा नवीन ढङ्गले प्रस्तुत गरिएको छ । सपना देख्न पनि म्यानपावर कम्पनीलाई थुप्रै पैसा तिरेर भिसा लगाएर रोजगारीका लागि विदेसिने धेरै पात्रहरूको प्रतिनिधि कथा बनेको छ ‘भिसा’ । यसैगरी वैदेशिक रोजगारीले सिर्जना गरेको सामाजिक समस्यामध्येको एउटा पाटो अवैध यौन सम्बन्धलाई यो लघुकथाले उजागर गरेको छ । कथाको प्रस्तुति भिन्न छ र रोचक पनि छ ।
लिङ्गभेदको विषयबाट उठान भएको ‘जुत्ता’ लघुकथाले वर्गभेदलाई छुन पुगेको छ । प्रतीकात्मक शीर्षकको यो कथाले सामाजिक यथार्थको एउटा सानो तर महत्वपूर्ण पाटोलाई छोएको छ । ‘भ्रान्ति’ वर्तमान राजनीतिक प्रवृत्तिप्रति कटाक्ष गरिएको सशक्त लघुकथा हो । समाजमा लुकेको तर सबैले देखेको एउटा यथार्थ, जसभित्र हाम्रो संस्कार जोडिएको छ, त्यसलाई ‘मर्मान्वेषक’ लघुकथाले उजागर गरेको छ । जोकजस्तो लाग्ने ‘भाइरल’ लघुकथामा विषयको गाम्भीर्यता छ । विशेषगरी आधुनिक सभ्यताको प्रभावलाई यो कथाले सङ्केत गरेको छ ।
बजगाईंका लघुकथामा सामाजिक मान्यताहरूलाई पनि मूल्य र महत्व दिइएको पाइन्छ । अभ्यास र अनुभवका आधारमा स्थापित कतिपय सामाजिक मान्यताहरू जीवनोपयोगी पनि छन् । ‘ढिलो गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न ।’ यो सामाजिक उक्तिभित्रको यथार्थ निकै महत्वपूर्ण छ । यस्तै आशयको लघुकथा हो ‘तीव्रता’ । प्रेम र यौन पनि संयमित भएमात्रै दिगो हुन्छ भन्ने सन्देश यो लघुकथामा छ ।
अकस्मात् सुरु हुने, अकस्मात् नै अन्त्य हुने र पाठकले अनुमान गरेभन्दा भिन्न निष्कर्षमा पुग्ने र भिन्न खालको प्रभाव छोड्ने हुँदा यो सङ्ग्रहका धेरैवटा लघुकथामा सर्जक बजगाईंको निजात्मकता पनि स्थापित भएको पाइन्छ । लघुकथामा सर्जक बजगाईंको विचार पक्ष निकै सशक्तरूपमा आएका छन् ।
राजनीतिप्रतिको आममान्छेको धारणा र नेताहरूको व्यवहारबीच तादाम्त्य मिल्न जाँदा राजनीति साँच्चै खराब छ भन्ने भनाइलाई थप बल प्रदान गरेको पाइन्छ । यही सत्यलाई सर्जक बजगाईंले आफ्ना लघुकथामा पनि उतारेका छन् । कतै नबिक्ने मान्छे राजनीतिमा लाग्छ र नेता बन्छ भन्ने सामाजिक धारणालाई ‘इलम’ लघुकथाले चरितार्थ गरेको छ । यो लघुकथामा असक्षम नेता र असक्षम राजनीतिप्रति तीव्र व्यङ्ग्य पनि छ । यसैगरी गणतन्त्र, लोकतन्त्रको उपहास गर्दै मनपरीतन्त्र र लुटतन्त्र मच्चाउन उद्यत् नेताहरूप्रति कटाक्ष गरिएको छ ‘गणतन्त्रको जन्त्र’मा । यो लघुकथा वर्तमान राजनीतिको तस्वीर हो । यसैगरी क्रान्तिको अभीष्ट पद प्राप्तिमात्रै हो मान्ने प्रवृत्तिप्रति कटाक्ष गरिएको छ ‘अभीष्ट’ लघुकथामा ।
शान्ति उत्पादन गर्नुपर्ने नेताहरूले जात, वर्ग, साम्प्रदायिकता, क्षेत्रीयता आदि ब्राण्डका थुप्रै वाद उत्पादन गरेको भन्दै नेता, राजनीतिप्रति कटाक्ष गरिएको लघुकथा हो ‘ऐना’ । यसैगरी ‘अशान्ति’ र ‘बुद्धि’ लघुकथामा पनि साहित्यमा उत्पादनका कुरालाई उठाइएका छन् । यी दुवै शान्ति उत्पादनमा सरकारका पदाधिकारीले घोटाला गरेपछि अशान्ति मच्चिएको रोचक विषयवस्तुमा आधारित भिन्न कथा हुन् । ‘समस्यापुर’ एउटा लाक्षणिक लघुकथा हो । यो लघुकथाले नेपालको वास्तविक कथा बोलेको छ ।
बजगाईंका हरेक लघुकथाले सामाजिक विषयलाई उठान गर्दै समस्या केलाउने र समाधान पहिल्याउने सन्देश पनि दिएका हुन्छन् । त्यसैले उनका लघुकथाहरू युगीन चेतनायुक्त, समयबोध, मानवीय संवेदनायुक्त र पर्यावरणीय चेतनाका दृष्टिकोणले समेत निकै समसामयिक र सान्दर्भिक लाग्दछन् । प्रेम, यौन, विवाह, सम्बन्ध विच्छेद, पुनः सम्बन्ध जस्ता विषयले लघुकथामा विशेष स्थान पाएका छन् । यो सङ्ग्रहभित्र समेटिएका यौनलाई मुख्य विषयवस्तु बनाएर लेखिएका लघुकथा हुन् ‘गमन’, ‘मर्मान्वेषक’, ‘ताप’, ‘बहुगामी’, ‘मास्क’ आदि । यसैगरी पर्यावरणीय चेतनायुक्त लघुकथा पनि छन् । जस्तैः ‘अन्जाम’, ‘हरित सहर’, ‘मनस्कान्त’ आदि ।
सङ्ग्रहको शीर्षक कथा ‘नग्न स्वप्न’मा नेपाली समाजको एउटा पाटोलाई अत्यन्तै यथार्थपरक ढङ्गले प्रस्तुत गरिएको छ । कथाको पात्रले देखेको नाङ्गो सपना हामीले वास्तविक जीवनमा नाङ्गै आँखाले देखिरहेका छौँ र त्यसको परिणाम पनि भोगिरहेका छौँ । हामी त्यो नाङ्गो सपनाको परिणाम भोग्न अभिशप्त छौँ । सामाजिक बेथितिमाथि तीब्र व्यङ्ग प्रहार गर्न सफल यो लघुकथा सङ्ग्रहकै एउटा उत्कृष्ट लघुकथा हो । यसैगरी ‘गरिबपुर’ पनि नेपालको सामाजिक यथार्थको एउटा पाटोलाई उजागर गर्न सफल लघुकथा हो । नेताहरूको आश्वासन खाएर बाँच्न विवश नेपाली जनता गरिब भएर पनि धनी बन्ने अवसर पाउने आशामा धनी बनेकाहरूले गरेको अन्याय र अत्याचार सहन राजी बनिरहेको यथार्थप्रति यो लघुकथाले कटाक्ष गरेको छ । ‘निद्रा’ पनि ‘गरिबपुर’ कै आशयको लघुकथा हो ।
अकस्मात् सुरु हुने, अकस्मात् नै अन्त्य हुने र पाठकले अनुमान गरेभन्दा भिन्न निष्कर्षमा पुग्ने र भिन्न खालको प्रभाव छोड्ने हुँदा यो सङ्ग्रहका धेरैवटा लघुकथामा सर्जक बजगाईंको निजात्मकता पनि स्थापित भएको पाइन्छ । लघुकथामा सर्जक बजगाईंको विचार पक्ष निकै सशक्तरूपमा आएका छन् । संख्या वृद्धिमात्रै होइन, गुणात्मक पक्षलाई पनि ध्यान दिएर लघुकथा लेखिएको अनुभूति पाठकले गर्नेछन् । बजगाईंका अघिल्ला लघुकथासङ्ग्रलाई जस्तै यो सङ्ग्रहलाई पनि पाठकले रुचाउनेमा विश्वस्त हुन सकिन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements