ओखलढुंगा । पूर्वप्रधानाध्यापक, निडर र कुशल शिक्षक दिलराम लामिछानेको ८८ वर्षको उमेरमा भदौ ३ गते निधन भयो । १९९३ सालमा ओखलढुंगाको रुम्जाटारमा जन्मनुभएका लामिछानेको काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा निधन भएको हो । उहाँका धर्मपत्नी र दुईजना छोराहरू हुनुहुन्छ । लामो समय शिक्षण पेशामा लाग्नुभएका लामिछानेले ओखलढुंगामा शिक्षाको विकासमा ठूलो योगदान पुर्याएको रुम्जाटार माध्यमिक विद्यालयका प्रधानाध्यापक गोकर्णबहादुर बानियाँले बताउनुभयो ।
रुम्जाटार माध्यमिक विद्यालय रुम्जाटारमा लामो समय प्रधानाध्यापक भएर काम गर्नुभएका लामिछानेले माम्खा माध्यमिक विद्यालयमा पनि अध्यापन गराउनुभएको थियो । २०३४ सालदेखि २०६१ सालसम्म २७ वर्ष रुम्जाटार माध्यमिक विद्यालयमा उहाँले अध्यापन गराउनुभएको थियो । २०३४ साल भदौ १ गतेदेखि २०६१ साल वैशाख १० गतेसम्म रुम्जाटार माध्यमिक विद्यालयमा अध्यापन गराएको प्रअ बानियाँले जानकारी दिनुभयो । बानियाँका अनुसार उहाँ शिक्षक संघको जिल्ला अध्यक्ष, जिल्ला शिक्षा समितिको सदस्य, शिक्षक छनोट समितिको सदस्यसमेत भएर काम गर्नुभएको थियो ।
उहाँले गोरखा वेलफेयर स्किमसँग समन्वय गरी विद्यालयको भौतिक पूर्वाधारको काम गर्नुभएको थियो । उहाँ निडर व्यक्ति हुनुहुन्थ्यो । माओवादीको द्वन्द्वकालमा माओवादी आक्रमण गर्न आउँदा भैँसी बाँध्न प्रयोग हुने किलोले हानेर माओवादी लडाकुलाई नै घाइते बनाएको परिवार स्रोतले बताएको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति एवं सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनाल (तेजन्द्र) ले भन्नुभयो, ‘दिलराम लामिछानेको निधनले जिल्लाकै शैक्षिक व्यक्तित्व, शैक्षिक अभिभावक गुमाएका छौँ । सिद्धिचरण नगरपालिकालगायत जिल्लाले अपूरणीय क्षति बेहोरेको छ ।’
कक्षा ६ देखि १० सम्म सँगै अध्ययन गर्नुभएको र ६ वर्षसँगै शिक्षण पेशा गर्नुभएका काशीराज कोइरालाको नजरमा लामिछाने
दिलराम लामिछाने सर हेडसर हुनुहुन्थ्यो हामी विद्यार्थी थियौँ । उहाँ निकै कडा स्वभाव लाग्ने, सबैलाई प्रभावित पार्न सक्ने, सबै विद्यार्थीलाई अनुशासनमा राख्न सक्ने निडर स्वभावको हुनुहुन्थ्यो । उहाँले भनेपछि नमान्ने कुरै हुँदैनथ्यो । विद्यार्थी र उहाँको दूरी लामो नै हुन्थ्यो, प्रायः विद्यार्थीहरू उहाँको नजिक नै जाँदैन थिए । राम्रो पढ्ने र अनुशासनमा रहने विद्यार्थीको नजिक रहेर धेरै माया गर्नुहुन्थ्यो । तर, बद्मास विद्यार्थीलाई भने छुलुक्कै बनाउनुहुन्थ्यो । म कक्षा १० मा अध्ययन गर्ने बेला एक दिन स्कुल गएको थिइनँ । त्यो दिन अरू विद्यार्थीहरू भागेर खोलामा पौडी खेल्न गएका रहेछन् । साथीहरूले मलाई पनि पौडी खेल्न गएको छ भनेर पोल लगाएका रहेछन् ।
भोलिपल्ट स्कुल गएपछि हिजो पौडी खेल्न भागेर गएका साथीसँगै मैले पनि सरबाट कुटाइ खाएँ । उहाँले सिर्किना र झापुले पिट्ने गर्नुहुन्थ्यो । त्यो समयमा ९-१० मा अध्ययन गर्ने विद्यार्थी पनि १८ वर्ष कटेका ठूला नै हुन्थे । उहाँ एक आफ्नो एजेण्डालाई जसरी पनि लागू गर्न सक्ने खुबी भएको कडा, कुशल प्रशासक हुनुहुन्थ्यो ।
शिक्षक भएर सँगै काम गर्दाको अनुभव
शिक्षक नियुक्त भएर आउँदा सर सिनियर, पाको उमेरको हुनुहुन्थ्यो, म युवा थिएँ । सरकै विद्यार्थी भएर पनि होला सल्लाह सुझाव लिएर अगाडि बढ्नुहुन्थ्यो । धेरैजनाको सल्लाह लिएर आफूलाई उपयुक्त लागेको समयमा मात्र निर्णय लिएर अगाडि बढ्ने बानी थियो । सल्लाह लिएर गरेको निर्णय कार्यान्वयन गरेरै छाड्ने उहाँको विशेषता थियो । धेरैको कुरा सुन्ने तर आफ्नो कुरा अरूलाई धेरै नसुनाउने स्वभाव उहाँको थियो । निर्णय लिएर काम गर्न अगाडि बढेपछि ब्याक नहुने बानी थियो । उहाँले निर्णय लिनु भन्दाअगाडि धेरैजनासँग सल्लाह लिएरमात्र काम गर्नुहुन्थ्यो । यो देखेर म छक्क परेँ ∕ विद्यार्थी हुँदा, एक्लै डिसिजन गरेर अगाडि बढेको जस्तो लाग्थ्यो तर होइन रहेछ । विद्यार्थीलाई कारबाही गर्दा पनि सबै शिक्षक र सम्बन्धित अभिभावकको सल्लाहमा मात्रै कारबाही गर्ने गर्नु हुँदोरहेछ । यो कुरा म शिक्षक भएपछि मात्र थाहा पाएँ ।
उहाँ एकल ढंगबाट आदेश दिने नभई सबैको सल्लाह र सुझाव लिएर अगाडि बढेपछि पछाडि नहटी जसरी पनि आफ्नो निर्णय कार्यान्वयन गरेरै छाड्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँले रुम्जाटार माविको भौतिक संरचनादेखि लिएर गुणस्तरीय शिक्षामा जिल्लाभरि नै योगदान पुर्याउनुभएको छ । (काशीराज कोइराला रुम्जाटार माध्यमिक विद्यालयमा मावि तहको नेपाली विषय अध्यापन गराइरहनुभएको छ ।)
सँगै शिक्षण पेशा गर्नुभएका उत्तरकुमार कटवालको नजरमा लामिछाने
मैले २०३४ सालदेखि २०३७ सालसम्म रुम्जाटार माध्यमिक विद्यालय रुम्जाटारमा सँगै शिक्षण गरेको हो । उहाँ सन्त ज्ञान दिलदासका नाति दिलराम लामिछाने एक शैक्षिक क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो । सन्त ज्ञान दिलदास धर्मप्रचारका रूपमा प्रजातन्त्रको वकालत र राणाहरूको विरोध गर्ने गर्नुहुन्थ्यो । लामिछाने प्रजातन्त्रवादी, आफ्नो विचारमा अडिग रहने निडर व्यक्ति हुनुहुन्थ्यो । उहाँले जिल्लाको शिक्षाको क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुभएको छ । उहाँसँग विभिन्न खालका बाधा अड्चनहरूलाई समाधान गर्न सक्ने क्षमता थियो । त्यो समयमा उहाँले प्रजातन्त्रवादीलाई अत्यन्तै माया गर्दै जोगाउनेतर्फ लाग्नुहुन्थ्यो । तत्कालीन समयमा प्रधानपञ्च भिमराज गुरुङले मलाई हदैसम्मको कारबाही गर्ने प्रयास गर्दा पनि दिलराम सरले उहाँ त यही विद्यालयमा बसेर अध्यापन गराइरहनुभएको छ भनेर जोगाउनुभएको थियो । तत्कालीन पञ्चायतले मलाई कारबाही गर्नका लागि हदैसम्मको प्रयास गर्दा पनि उहाँले नै जोगाउनुभएको थियो । सबै शिक्षक साथीहरूलाई राम्रो र समान व्यवहार गर्नुहुन्थ्यो । शिक्षक संगठनका शिक्षकहरूले उहाँको विरोध गर्ने भएकाले उहाँहरूलाई चाहिँ खासै माया गर्नुहुन्नथ्यो । प्रशासन मामिलामा कठोर हुनुहुन्थ्यो । विद्यार्थीमा अनुशासन अनिवार्य हुनुपर्छ भन्ने गर्नुहुन्थ्यो । अनुशासनको पालना नगर्ने विद्यार्थीलाई भने शारीरिक कारबाही गर्नुहुन्थ्यो ।
१४-१५ दिनअगाडि म उहाँकै निवासमा भेट्न गएको थिएँ । उहाँसँग भेट भएपछि पुराना कुरा सम्झिनुभयो । शिक्षक पेशालगायत संगठनमा सँगै काम गरेको सम्झँदै रुनुभयो । पहिला गरेका कामहरूका बारेमा स्मरण गर्नुभयो । मैले जे जति काम गरेँ सबै राम्रै गरेको, ठीक गरेको जस्तो लागिरहेको छ । अब थला परेँ सायद उठ्न सक्दिन होला ! भन्नुभएको थियो । नभन्दै भदौ ३ गते उहाँको निधन भयो । उहाँको निधनले एउटा शैक्षिक क्रान्तिको निधन भएको महसुस भएको छ । (उत्तरकुमार कटवाल पूर्वशिक्षक अहिले प्रजातन्त्र सेनानी संघको केन्द्रीय सदस्य हुनुहुन्छ ।)
उहाँको विद्यार्थी द्रोण पोखरेलको नजरमा लामिछाने
उहाँले २०३४ सालदेखि निरन्तर रुम्जाटार माध्यमिक विद्यालयमा प्रधानाध्यापकका रूपमा काम गर्नुभयो । रुम्जाटार आउनुअगाडि माम्खा माध्यमिक विद्यालयमा प्रधानाध्यापक हुनुहुन्थ्यो । स्थानीय भएको हुनाले उहाँलाई सबैले सम्मान गर्नुहुन्थ्यो । रुम्जाटार माविमा आएपछि विद्यालयलाई उल्लेख्य सुधार गर्नुभयो । रुम्जाटारमा विमान चल्न थालेपछि काठमाडौं जान-आउन पनि सजिलो भयो ।
प्रशासनिक क्षेत्रका व्यक्तिहरूसँग भेटघाट गर्न सजिलो भयो । प्रशासनिक व्यक्तिहरूसँग भेटघाट, हेलमेल गरेर विद्यालयको सुधार गर्नुभयो । उहाँ एक सामाजिक, समाजमा पनि सजिलै भिज्ने मान्छे भएको हुनाले स्थानीय समाजका बुद्धिजीवीहरूले पनि उहाँसँग सल्लाह लिने गर्थे । विद्यार्थीहरूलाई पनि राम्रो व्यवहार गर्ने गर्नुहुन्थ्यो । उहाँको नजरमा म असल विद्यार्थीमै पर्दथेँ । उहाँसँग लामो समय अध्ययन गर्न त पाइएन तर जति अध्ययन गरियो स्मरणयोग्य रहृयो । म ३६ सालमा एसएलसी दिएर काठमाडौं आएँ । उहाँ प्रजातान्त्रिक विचारधाराको हुनुहुन्थ्यो । उहाँको स्वभाव छक्का पञ्जा नगर्ने सिधा प्रकृतिको थियो । हुने कुरालाई हुने, नहुने कुरालाई नहुने नै भन्नुहुन्थ्यो । एकपटक बोलिसकेपछि कार्यान्वयन गर्ने दृढ स्वभावको हुनुहुन्थ्यो । आफ्नो काम र निर्णयबाट कहिल्यै पछि नहट्ने जसरी पनि आफ्नो काम सम्पन्न गरेरै छाड्ने स्वभाव भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँले शिक्षा क्षेत्रमा पुर्याउनुभएको योगदान अतुलनीय छ । उहाँको निधनले शैक्षिक अभिभावक गुमाएका छौँ । (द्रोण पोखरेल रिटायर्ड सहसचिव हुनुहुन्छ ।)







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता