काठमाडौं । असोज ११ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘आँखा’को टिजर सार्वजनिक भएको छ । डेढ मिनेट रनटाइमको टिजरले चलचित्रको कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ । टिजर अनुसार चलचित्रको कथावस्तु काठमाडौंको बागमती नदी किनारको सुकुम्बासी बस्तीमा टहरो बनाएर बस्दै आएका मानिस र उनीहरूलाई त्यहाँबाट हटाउन खोज्ने स्थानीय सरकारबीचको तनावमा केन्द्रित छ ।
टिजरले केही समयअघि थापाथलीको बागमती किनारका बासिन्दालाई हटाउन खोज्ने काठमाडौं महानगर र सुकुम्बासीबीचको झडप र रस्साकस्सीको क्षण सम्झाउँछ । टिजरको अन्त्यमा एउटा संवाद राखिएको छ, ‘यिनीहरूले गर्दा यो शहर गन्हाइसक्यो ।’
चलचित्रले नदी किनार ओगटेर बसेका सुकुम्बासी व्यवस्थापनको एउटा महत्वपूर्ण मुद्दालाई उठान गरेको छ । डेब्यु निर्देशक जौन योञ्जनले बागमती नदी किनारका बासिन्दाको मुद्दालाई चलचित्रको कथावस्तु बनाउनुभएको छ । चलचित्रमा बुद्धि तामाङ, विजय बराल, स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, पशुपति राई, राजन खतिवडा, अभय बराल, लुनिभा तुलाधर, कृष्णभक्त महर्जन, सरोज खनाल, प्रसन राईलगायत कलाकारको अभिनय छ ।






