काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर सिनेमाघरमा आउन लागेको चलचित्र ‘देवी’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको चलचित्रको दुई मिनेट ३९ सेकेण्ड लामो ट्रेलरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरिएको छ । चलचित्रलाई सञ्जोग राईले निर्देशन गर्नुभएको हो । यो उहाँको डेव्यु निर्देशन हो । निर्देशक राईलाई यो सिनेमा निर्माण सिनेमाकी मुख्य पात्र शिल्पा मास्केले सघाउनुभएको छ । उहाँ चलचित्रमा सहनिर्माताको रूपमा हुनुहुन्छ ।
चलचित्रमा गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, ध्रुव कोइराला, विशाल पहारी, निरिक्षा घतानी, प्रभाकर न्यौपाने, निरु खड्का, जीवनजंग खड्कालगायतको अभिनय छ । गौरव प्रहरीको भूमिकामा हुनुहुन्छ । जोएल फ्रोमको छायांकन रहेको चलचित्रको पटकथा लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाउनुभएको । चलचित्रमा सञ्जेन थापाको द्वन्द्व छ ।
एक्जिबिट स्टुडियोले ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्मससँग सहकार्य गरेको फिल्ममा रेमन गुरुङ, नारायण राई र सञ्जोग राई निर्मातामा हुनुहुन्छ भने जावेद खान कार्यकारी निर्माता रहनुभएको छ । त्यस्तै, सह-निर्मातामा शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा हुनुहुन्छ । बाँसुरी फिल्म्सका अध्यक्ष तथा निर्देशक रामबाबु गुरुङले ‘देवी’ जस्तो चलचित्रमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभएको थियो । यो चलचित्र भदौ २१ गतेदेखि सिनेमाघरमा आउँदै छ ।






