झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनैपूर्णिमा तथा रक्षाबन्धन आफ्ना गायत्री गुरुलाई भेटेर मनाउनु भएको छ ।
केही दिनदेखि गृहजिल्ला झापामा रहनु भएको शर्माले ९५ वर्षीय जीवनाथ भण्डारीलाई उहाँकै घर मेचीनगर नगरपालिका ९ सिद्धार्थचोक पुगेर उहाँको स्वास्थ्य लाभको कामना गर्नु भएको हो ।
केहीबेर अघि सामाजिक सञ्जालमा उहाँसँगको तस्वीर पोष्ट गर्दै महामन्त्री शर्माले लेख्नुभएको छ, "९५ वर्षका मेरा `गायत्रीगुरु´ परम आदरणीय जीवनाथ भण्डारी बडाबासँग, आज जनैपूर्णिमाको दिन, उहाँकै आँगनीमा।"
महामन्त्री शर्माले आफ्नो पोष्टमा विगत स्मरण गर्नु भएको छ । शर्माले लेख्नुभएको छ," कक्षा ७ पढ्दै गर्दा ब्रतबन्धमा जनै धारण र मन्त्र श्रवणको सौभाग्य उहाँबाट पाएको थिएँ । अहिले सय वर्षको हुनलाग्दा पनि उहाँको स्मृति क्षमता र उर्जा उस्तै छ । उहाँको सुस्वास्थ र दीर्घायूको कामना गर्दछु । "
शर्माले सामाजिक सञ्जालबाट सबैमा शुभकामना समेत दिनुभएको छ । महामन्त्री शर्माले लेख्नुभएको छ," जनैपूर्णिमा, रक्षाबन्धन, क्वाँटी खाने पर्व, ऋषितर्पणी, संस्कृत दिवस, पूर्णिमा व्रत अनि विश्व फोटोग्राफी दिवसको सबै आत्मियजनमा शुभकामना।"






