झापा । आइफोन किनिदिने, विभिन्न स्थानमा घुमाउन लाने लगायत आश्वासन दिएर यौन दुर्व्यवहार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अचेक मेचे र नारायण खनाल छन् ।
उनीहरू पावर टेक कम्प्युटर इन्टिच्युट इञ्जिनियरिङ बिर्तामोडका सञ्चालक र प्रशिक्षक भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले जानकारी दिनुभयो । मेचे सो इन्टिच्युटका सञ्चालक र खनाल प्रशिक्षक हुन् ।
झापाको बिर्तामोड नगरपालिका २ मा सञ्चालित सो इन्टिच्युटमा ओजेटी प्रशिक्षण लिइरहेका तीनजना छात्रालाई उनीहरू यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
प्रशिक्षार्थी छात्राहरुका अभिभावकले दिएको उजुरीमा आधारमा उनीहरू पक्राउ परेका हुन्। अभिभावकले प्रहरीमा दिएको उजुरीमा मेचे र खनालले छात्राहरूको संवेदनशील अंग छुने, सुम्सुम्याउने र प्रस्ताव अस्वीकार गरे ओजेटीको प्रमाणपत्र रोकिदिने धम्की दिने गरेको उल्लेख छ ।
अभिभावकले इन्स्टिच्युटका प्रमुखलाई जानकारी गराएको र लगत्तै प्रहरीमा निवेदन दिएको जनाइएको छ । पक्राउ परेका मेचे र खनाल विरुद्ध यौन दुर्व्यवहार मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइने तयारी भइरहेको डिएसपी विष्टले बताउनुभयो ।






