✍️ मनोहर कार्की
आजको विश्वमञ्चमा युवाका आवश्यकता, समग्र विकास र परिवर्तनका दिशामा युवाको भूमिकालाई सम्बोधन गर्ने दिशामा कार्य हुनुपर्दछ । विकास र परिवर्तनतर्फका साझा प्रयास र वर्तमानका चुनौतीलाई सामना गर्नेतर्फ विश्वमञ्चको दृष्टिकोण कुनै न कुनै रूपमा युवाप्रति लक्षित भएको नै छ । विश्वको दोस्रो आर्थिक शक्ति चीन तथा उदाउँदो ठूलो अर्थतन्त्रको निकट छिमेकी मुलुक भारतका विकास र समृद्धिका अजस्र सम्भाव्यताबाट लाभ लिनसक्ने मुलुक हो । विज्ञानका नवीनतम् खोज, अनुसन्धान तथा प्रविधिको उपयोग र हाम्रा विकास निमार्र्णमा ऊर्जाशील युवा जनशक्तिको भरपुर उपयोग र समग्र राष्ट्रको विकास र रूपान्तरणमा युवाको आवश्यकताबोध गरी तत्जनित नीति तथा कार्यक्रमको कार्यान्वयन प्राथमिकता हुनपर्छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको थालनी सन् १९९८ को अगष्टमा पोर्चुगालको राजधानी लिस्वनमा आयोजित विभिन्न देशका युवा मन्त्रालय हेर्ने मन्त्रीहरूको विश्व सम्मेलनले सर्वसम्मत रूपमा सुझावसहित पारित गरेको प्रस्तावका सुझावका आधारमा सन् १९९९ को डिसेम्बरमा भएको सयुंक्त राष्ट्रसघंको साधारणसभाले सर्वसम्मत रूपमा पारित गरेको प्रस्ताव अनुसार प्रत्येक वर्षको अगष्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउँदै आइएको छ । यस दिवसलाई सार्थकता दिन युवालाई विकास र सहभागितामा अधिकतम परिचालन गर्ने उद्देश्यका साथ युवा केन्द्रित मुद्दा तथा तत्सम्बन्धी चेतनामूलक कार्यक्रम परिलक्षित रहेका छन् । उद्यमशीलता, नवप्रवर्तन, विकासमा साझेदारी जस्ता क्षेत्रमा युवाको भूमिका र समुदायका आवश्यकता परिपूर्तिमा तिनका योगदानलाई बढावा दिन सक्नुपर्दछ भन्ने ध्येयका सन्देश प्रवाह गर्नुछ ।
नेपालका युवाहरूको विकास तथा उनीहरूमा रहेका सिर्जनशील, ऊर्जा र विकासमा पु¥याउन सक्ने योगदानको सम्भाव्यतालाई मनन् गरी केही वर्षअघि युवा तथा खेलकुद मन्त्रालयले संस्थागत रूपमा युवा केन्द्रित कार्यक्रम सञ्चालन गरिआएका छन् तर ती युवा लक्षित कार्यक्रम सोचेजस्तो प्रभावकारी हुन सकेनन् ।
नेपालको सन्दर्भमा युवालाई विकासको साझेदारी र परिवर्तनको सम्वाहकका रूममा महत्व दिएर युवा केन्द्रित कार्यक्रमलाई सरकारको नीतिगत कार्यक्रममा पनि समावेश गरिएको छ । नेपालका युवाको विकास तथा उनीहरूमा रहेका सिर्जनशीलता, ऊर्जा र विकासमा पुर्याउन सक्ने योगदानको सम्भाव्यतालाई मनन् गरी केही वर्षअघि नै युवा तथा खेलकुद मन्त्रालयले संस्थागत रूपमा युवा केन्द्रित कार्यक्रम सञ्चालन गरिआएका छन् तर ती युवा लक्षित कार्यक्रम सोचेजस्तो प्रभावकारी हुन सकेनन् । कार्यान्वयनका दिशामा भए गरेका कमीकमजोरीको मिहिन समीक्षा गरी आगामी कार्यक्रममा निखारता ल्याउन सक्नुपर्दछ । सरकारीस्तरमै युवा तथा खेलकुद मन्त्रालयको अगुवाइमा विगतका वर्षदेखि नै युवा लक्षित कार्यक्रम अघि नबढेका होइनन् ।
विकासको मेरुदण्डका रूपमा रहेका युवाहरूको समयानुकूल विकास र तिनका सीप, शिक्षा तथा ज्ञानको ठोस रूपान्तरण सन्दर्भमा सरकारी निकायले आफ्ना कार्यक्रम तथा नीतिगत योजनामा युवा लक्षित कार्यक्रमलाई यथोचित बजेट विनियोजन, रोजगारीका अवसरको सिर्जना तथा उद्यमशील जनशक्ति निर्माणका दिशामा सार्थक प्रयास हुने थियो । पछिल्लो जनगणना २०७८ को तथ्यांक अनुसार युवा जनशक्ति भएका विश्वका उच्च स्थानका मुलुकम नेपाल पनि अग्रपंक्तिमा पर्दछ । लाखौं युवा जनशक्तिको उचित र सम्मानजनक परिचालन र राष्ट्र निमार्णमा अवसरको सिर्जनामा वर्तमान गठवन्धन सरकारले प्राथमिकताका साथ कार्य गरोस् । युवाका भरोसा परालको त्यान्द्रो जस्तो नहोस् ।
प्रजातन्त्रको पुनस्र्थापनाका लागि २०४६ सालको ऐतिहासिक जनआन्दोलन तथा २०६२/०६३ को दोस्रो ऐतिहासिक जनआन्दोलनमा नेपाली युवाले अग्रमोर्चामा रही कार्य गरेका हुन् । तत्पश्चात लोकतन्त्र र संघीय गणतन्त्रको संस्थागत विकासका अभियानमा नेपाली युवाले आफ्नो भूमिकालाई अझ गुणात्मक र लोकतन्त्रको पर्यायवाची अभियन्ताका रूपमा उभिनु युवाको पहिलो दायित्व छ । लोकतन्त्र, मानवअधिकार तथा विधिको शासन पर्यायवाची हुन् । महिलाविरुद्धका हिंसा, बलात्कार, बालअधिकारको उलंघन तथा मानवताविरोधी कार्यको निन्दा र निरुत्साहन जति भए पनि अपुग छ । जनताको हित र अधिकारको संरक्षणका सवालमा सडक र बस्तीमा उठेका आवाजलाई पैरवी, सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण, अधिकार रक्षाका लागि युवावर्गले आफ्नो भूमिका र दायित्वलाई अझ मुखरित गर्नुछ ।
सिर्जनशील, ऊर्जा र मुलुकको समृद्धि तथा एक्काइसौं शताब्दीको चुनौती समाना गर्नसक्ने जनशक्ति युवा हो । युवावर्गको योगदानको सम्भाव्यतालाई मनन् गरी सरकारीस्तरमै युवा तथा खेलकुद मन्त्रालयको अगुवाइमा विगतका वर्षदेखि युवा लक्षित कार्यक्रम अघि नबढेका होइनन् । विकासको मेरुदण्ड युवाको समयानुकूल विकास र तिनका सीप, शिक्षा तथा ज्ञानको उपयोगका लागि ठोस तथा परिणाममुखी कार्य नभएको सन्दर्भमा यस्ता सरकारी निकायले आफ्नो कार्यक्रम तथा नीतिगत योजनामा युवा लक्षित कार्यक्रमलाई यथोचित बजेट विनियोजन गर्न चुक्नु हुँदैन । रोजगारीका अवसरको सिर्जना तथा स्वावलम्बी र उद्यमशील युवा जनशक्ति निर्माणका दिशामा कार्यले निरन्तरता पाउन सकेको खण्डमा विकसित र समृद्ध नेपाल बनाउन सकिन्छ । नवप्रवद्र्धनकारी, सिर्जनात्मक सोच, उद्यमशील कर्मजीवी युवा जमातलाई मुलुक निर्माणको अभियानमा अघि बढाऔं ।
मुलुकले विकास र समृद्धि तथा रचनात्मक चिन्तन, सोच, भविष्यद्रष्टा ऊर्जावान युवाको कार्य वातावरण र निर्माणात्मक अवधारणा बोकेका युवाका सीप र जाँगरको मुलुक निर्माणको महाअभियानमा समाहित हाम्रो ध्येय हुनुपर्छ । इमानदार, कर्मशील तथा मुलुकको माटोलाई आत्मसात गर्ने युवाशक्तिको परिचालन गरौं । नवनिमार्णको अभियानको संस्थागत विकास खोजेको छ । फितलो प्रवृत्ति र कार्य वातावरणले मुलुक उँभो लाग्दैन । युवालाई दायित्वबोध गर्ने वातावरण राज्यले निमार्ण गरिदियोस् ।
राष्ट्रिय युवा परिषद्को गठन भयो । यसका सञ्चालक तथा पदाधिकारीले युवा विकास र मुलुकको विकासको साझेदारीका ऊर्जा वा शक्तिका रूपमा रहेका युवालाई उत्साहित, प्रोत्साहित र उद्यमी बनाउने खालका ठोस कार्यक्रम ल्याउन सकेको छैन । युवालाई सीपसँग जोड्ने, रोजगारीसँग गाँस्ने, युवालाई उद्यमी बनाउने तथा नवप्रवर्तनका क्षेत्रमा प्रोत्साहन गर्ने, खेलकुद र अन्तर्राष्ट्रियता भावनाको विकास गर्ने दिशामा राष्ट्रिय युवा परिषद्ले केही गर्नुपर्यो । मुलुकको सक्रिय जनसंख्या युवा हुन् ।
वैदेशिक रोजगारीका गन्तव्य मुलुकमा गइरहेका नेपाली युवाको रोजगारीको ग्यारेन्टी, तलब र ज्यालाको न्यायोचित व्यवस्थापन, सुरक्षाको प्रत्याभूति, कार्यस्थलमा दुर्घटना भएमा यथोचित उपचारको व्यवस्थाका लागि सम्बन्धित निकायले तदारुकताका साथ कार्य गर्नुपर्दथ्यो भन्ने सन्दर्भमा जनगुनासो पूर्णतः सम्बोधन भएको देखिँदैन ।
यिनीहरूको सीप र ज्ञानको भरपुर उपयोग गरिनुपर्दछ स्वदेशमै । जसका लागि प्रभावकारी युवा नीति र कार्यक्रम ल्याइनुपर्दछ । देशका ४०/५० लाखको हाराहारीका युवा रोजगारीका लागि विदेश पलायन हुनु हाम्रो ठूलो चुनौती हो । युवाका मागलाई सम्बोधन गरौं, यहीँ काम, पैसा र सम्मानको परम्परालाई दरिलो संस्थागत गरौं । श्रम तथा रोजगार मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयलगायत सम्बन्धित सबै सरकारी गैरसरकारी र नीजिक्षेत्रले सहकार्य र सहयोगका क्षेत्र विस्तार गरेमा केही परिवर्तनको आभाष पाउँन सकिन्छ ।
विश्वका विभिन्न युवाको आआफ्नो देश, काल परिस्थिति अनुसारका आवश्यकता तथा समस्या छन् । विकसित देशका युवाहरूका आवश्यकता तथा अतिकम विकसित एशिया, अफ्रिका तथा ल्याटिन अमेरिकी देशका युवाहरूको आवश्यकताको पहिचान तथा विद्यमान विश्व व्यवस्थामा तिनका क्षेत्रगत समस्यालाई सम्बोधन गर्ने दिशामा संयुक्त राष्ट्रसंघलगायत निकायको प्रयासमा सम्बन्धित देशले युवा विकास तथा युवा परिचालन सम्बन्धि स्पष्ट नीतिगत कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने दिशामा प्रभावकारी काम गर्न विलम्ब गरिनु हुँदैन ।
साझा प्रयास र प्रतिबद्धता आजको आवश्यकता हो । भोलिको सुन्दर भविष्यको कोरा कल्पनामा मात्र हाम्रो शक्ति र ऊर्जा खर्च गर्ने समय छैन । युवा विकास तथा सामाजिक रूपान्तरणका लागि राष्ट्रिय नीति तथा युवा लक्षित कार्यक्रममा सबै क्षेत्र र वर्गको साझा सोच, चिन्तन र दिशाबोध हुनुपर्दछ । युवा नीति-२०७२, युथ भिजन-२०२५ तथा अन्तर्राष्ट्रिय कानुन र युवा लक्षितमुद्दा कार्यान्वयनले सोचेजस्तो व्यावहारिक कसीमा आउन नसकेको आमगुनासो छ । युवा लक्षित नीति तथा कार्यक्रमले युवामा आशा र भरोसा दिन सकेको छैन ।
युवा र एक्काइसौं शताब्दीका चुनौतीलाई सम्बोधन गर्ने दिशामा ठोस कदम चाल्न नसकिनु विडम्बना हो । नेपालका युवाहरूमा देखिएको विकराल समस्या लागू पदार्थ दुव्र्यसन, बेरोजगारीलगायत समस्याको पेचिलो सम्बोधन र यस्ता समस्याको दिशामा कार्यक्रम परिलक्षित हुनुपर्दछ । विद्यालयस्तरदेखि नै खेलकुद तथा स्वस्थ मनोरञ्जन र युवाहरूलाई नवीन सिर्जनात्मक कार्यमा लगाउने दिशामा सम्बन्धित निकायको ध्यान पुग्नुपर्दछ । युवालाई सिर्जनाका क्षेत्रमा अभिमुख गर्न मनोबल उच्च राख्ने सवालमा सरोकारवाला निकायले युवामैत्री वातावरण बनाउने कार्यको प्रभावकारिता आजको आवश्यकता हो ।
नेपाली युवा रोजगारीका लागि वर्षेनी हजारौंका संख्यामा मध्यपूर्वका खाडी मुलुक, मलेशिया तथा दक्षिण कोरियामा कृषि, औद्योगिक, निर्माण तथा सेवा उद्योगमा रोजगारीका लागि गइरहेका छन् । वैदेशिक रोजगारीका गन्तव्य मुलुकहरूमा गइरहेका नेपाली युवाहरूको रोजगारीको ग्यारेन्टी, तलब र ज्यालाको न्यायोचित व्यवस्थापन, सुरक्षाको प्रत्याभूति र कार्यस्थलमा दुर्घटना भएमा यथोचित उपचारको व्यवस्थाका लागि सम्बन्धित निकायले तदारुकताका साथ कार्य गर्नुपर्दथ्यो भन्ने सन्दर्भमा जनगुनासो पूर्णतः सम्बोधन भएको देखिँदैन ।
प्रचलित युवा नीतिको सबल कार्यान्वयन गरे एकहदसम्म रोजगार, सीप आर्जन तथा अध्ययनका लागि वर्षेनी हजारौं युवा विदेशमा पलायन हुने परम्परालाई निरुत्साहित गर्न सकिन्थ्यो कि ? युवा परिवर्तनका सम्बाहक हुन्, परिवर्तनका अनुयायी र चेन्जमेकरको रूपमा नेपाली युवालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउने दिशामा जुझारु र क्रियाशील बनाउन ठोस कार्यक्रमले अवश्य मद्दत गर्नेछ ।
(कार्की मानवशास्त्री तथा अधिवक्ता हुनुहुन्छ ।)

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा