इलाम । नेपालमा पाइने दुर्लभ प्राणी हाब्रे जोगाउन पहिलोपटक इलाममा हाब्रे संरक्षण क्षेत्र घोषणा गरिएको छ । इलाम नगरपालिकाले आफ्नो क्षेत्रमा पाइने रेड पाण्डा (हाब्रे) को बासस्थान जोगाउन संरक्षण क्षेत्र घोषणा गरेको हो । इलाम नगरपालिकाले पुवामाइ सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको ११६ हेक्टर क्षेत्र रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरेको हो । यसरी पालिकास्तरबाट संरक्षण क्षेत्र घोषणा गरिएको यो पहिलो अवसर हो ।
रेड पाण्डा बासस्थानको अध्ययन गर्दा पुवामाइ सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको ११६ हेक्टर रेड पाण्डाको बासस्थान रहेको देखिएपछि स्थानीय संरक्षणकर्ता सो क्षेत्र जोगाउन लागिपरेका थिए ।
नगरपालिकाको वडा नं. ३ मा पर्ने सोही क्षेत्रलाई बिहीबार एक कार्यक्रमका बीच ‘रेड पाण्डा संरक्षण क्षेत्र’ घोषणा गरिएको हो । सो क्षेत्रमा रेड पाण्डाको स्वतन्त्रतापूर्वक हिँड्डुल गर्ने वातावरण बनाउने र उनीहरूको प्राकृतिक प्रजनन् केन्द्र विकास गर्ने लक्ष्य राखिएको छ । सो क्षेत्र इलामको सन्दकपुरसम्म फैलिएको छ । संरक्षण क्षेत्र घोषणा भएपछि अब स्थानीय समितिले सो स्थानमा रेड पाण्डालाई असर पर्ने कुनै पनि कार्य गर्न, गराउनबाट रोक लगाउनेछ ।
पाण्डा संरक्षण क्षेत्रलाई प्राथमिकतामा राखेर संरक्षण क्रियाकलाप अघि बढाउने जिल्ला वन कार्यालय अधिकृत दानबहादुर श्रेष्ठले घोषणासभामा बताउनुभयो । ‘पालिकास्तरबाट संरक्षण क्षेत्र घोषणा गरिनु आफैंमा राम्रो कुरा हो,’ उहाँले भन्नुभयो, ‘रेड पाण्डा संरक्षणलाई सरकारले नै प्राथमिकतामा राखेको सन्दर्भमा संरक्षण क्षेत्रको यो काम आफैंमा नमुना र सराहनीय काम हो ।’ गत आर्थिक वर्ष नगरपालिकाले रेड पाण्डा नेटवर्कसँगको सहकार्यमा रेड पाण्डा संरक्षण समिति बनाएर संरक्षण कार्य थालेको थियो । ‘गत वर्ष समिति गठन गरेर सदस्यहरूलाई अभिमुखीकरण गर्दै सचेतना जागृतलगायतका काम गरेका थियौं,’ नगरपालिकाका प्रशासकीय अधिकृत गणेश खड्काले भन्नुभयो, ‘सोही वर्ष नगरपालिकाले पुवामझुवा सामुदायिक रेड पाण्डा संरक्षण तथा व्यवस्थापन कार्यविधि पारित गरेको थियो ।’ त्यसअघि २०७८ सालमै नगरपालिकाको स्थानीय वन ऐनले संरक्षण क्षेत्र स्थापनाको अधिकार दिएको थियो । ‘यसअघि समिति गठन गरेर अभिमुखीकरणका काम गर्यौं,’ खड्काले बताउनुभयो, ‘यसपालि रेड पाण्डा क्षेत्रमा उसले खाने मालिङ्गो, निगालोका बिरुवा वृक्षारोपण गर्नेछौँ ।’
कालपोखरी थामडाँगा सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष मानसिंह राईले पुवामाइ र कालपोखरी सामुदायिक वन क्षेत्र जोडिएकाले यताबाट रेड पाण्डा उता जाने र उताबाट रेड पाण्डा यता आउने गरेको बताउनुभयो । ‘हामी सबैले हाब्रेलाई जोगाउने नै हो । हाम्रो सामुदायिक वन समितिका दुर्ईजनाले हाब्रे संरक्षणमा हेरालुको काम गर्दै आउनुभएको छ,’ उहाँले भन्नुभयो, ‘सामुदायिक वन क्षेत्रमा प्राकृतिक बिरुवाले ढाकिए पनि यहाँको मालिंगो र निगालोलाई हाब्रेले खाने गरेको हुँदा यो वर्ष ती बिरुवा रोप्ने योजना छ ।’
संरक्षण क्षेत्र स्थापनामा रेड पाण्डा नेटवर्कले पनि सहयोग गरिरहेको छ । ‘स्थानीयलाई संलग्न नबनाई कुनै पनि संरक्षणको काम सफल नहुने हुँदा हामीले स्थानीयसँगको साझेदारी हुने यस्ता संरक्षण प्रयासलाई सहयोग, प्रोत्साहन र अपनत्व लिँदै आएका छौँ,’ नेटवर्कका राष्ट्रिय निर्देशक आङफुरी शेर्पा भन्नुहुन्छ, ‘इलाममा हामीले गरेको १५ वर्षदेखिको कामको प्रतिफलका रूपमा हामीले यसलाई लिएको छौँ । अबको चुनौती भनेको संरक्षण क्षेत्रको प्रभावकारी व्यवस्थापन र स्थानीयस्तरमा पर्यापर्यटनलगायत जीविकोपार्जनको ढोका खोल्नु हो ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts