हेटौंडा । १५ वर्षीया सानुमाया (नाम परिवर्तन) लाई दिदी बिरामी छिन्, रेखदेख गर्ने कोही छैनन्’ भन्दै भिनाजुले सन् २००४ मा भारतको मुम्बई बोलाए । निरक्षर सानुमायालाई नौलो सहरमा पुग्नु कठिन थियो । उनले भो आउँदिन’ त भनिन् तर आमाबाबुको करकापमा परिन् । अभिभावक नै पुर्याउन जाने भएपछि सानुमाया दिदी भए ठाउँमा जान मञ्जुर भइन् । आमाबुबाले सानुमायालाई भारतसम्म पुर्याइ भिनाजुको जिम्मा लगाएर फर्किए ।
दिदी बिरामी छिन् भनी दिदीको हेरचाहमा पुगेकी उनी एउटा कोठीभित्र थुनिन् पुगिन् । कलिलो उमेरकी सानुमाया कोठीभित्र पाएको शारीरिक र मानसिक यातना सहन नसके पनि उक्त दलदलमा फस्न बाध्य भइन् । सानुमायालाई कोठीमा पाँच वर्षका लागि बिक्री गरिएको’ थियो । बाध्यताबीचको ५ वर्ष बित्नै लाग्दा त्यही कोठीमा आउने एक भारतीय पुरुषसंग प्रेम सम्बन्धमा परिन् । एक पटक आफ्नैबाट नरकमा पुगेकी उनमा जीवनमा केही खुशी आउने आश जाग्यो ।
दलदलमा ५ वर्ष बिताएकी सानुमायाले बाहिर निस्केपछि छुट्टै संसार देखेकी थिइन् । विवाह गरेर घर बसाइन् । तर, उनको जीवनमा अर्को फसाद आइलाग्यो । पतिले उनलाई ३ वर्षमै छाडे । पतिले गर्भावस्थामा छाडेर गएपछि सन्तानका लागि उनी त्यही गर्भावस्थामै त्यही दलदलमा फस्न पुगिन् । छोरी र आफ्नो ज्यान पाल्न उनको दैनिकी दोहोरियो । पतिले अर्कै विवाह गरे । केही समयपछि पति फकिए । गाउँमा अर्कै विवाह गरेको भए पनि उनलाई साथ दिने वाचा गर्दै फेरि आए । उनले काम छाडिन् । तर, रोजगारी खोज्दै पति विदेश पुगे । पति विदेश पुगेपछि उनी फेरि ज्यान पाल्न त्यही कोठीकै सहारा लिइरहेकी थिइन् ।
एक दिन उनी बिरामी भइन् । उनलाई प्यारालाइसिस भयो । हातखुट्टा र शरीर चल्ने नभएपछि उनलाई नेपाल पठाइयो । उनका भाइ दिदी बिरामी भएको खबर आएपछि बोर्डरसम्म लिन पुगे । भाइले उनलाई सहारा दिए उपचार गराए । उनी हिंड्न्सक्ने भइन् । विभिन्न संघसंस्थाको सहयोग लिदै उनी आफू र आफ्नो सन्तानका लागि आट र हौसला लिएर बाँचिरहेकी छन् । उनी संघसंस्थासंगै नजिक भएसंगै आमाबाबुले देखाउन बाँकी दुनियाँ संघसंस्थाले देखाएको भन्दै खुशी व्यक्त गर्छिन् ।
खाने, खेल्ने र रमाइलो उमेरमै ठूलो पीडाबाट गुज्रिएकी उनलाई नजिक आएर कोही अञ्जान व्यक्ति बस्दा होस् वा कसैले नियालेर हेरिरहदा, विगतका पीडा कोट्याउने हो कि भन्ने पीडाले सताउने गरेको बताउँछिन् । हाल पनि सबैको सामु बस्दा मनमा डर उत्पन्न हुने गरेको उनी बताउँछिन् ।
सानुमायाजस्ता सयौं चेली छन्, जो भारतलगायत देशमा यसरी कष्टकर जीवन बिताएर फर्किएका छन् । चुरोटका ठुटाले पोलिएर निलडामका घाउहरुमा खाटा बसिसकेका छैनन् । एचआईभी लागेर फर्किएकाको पीडा बेग्लै छ । आर्थिक विपन्नताका कारण आफन्तबाटै बेचिएका सयौं चेली एउटै गुनासो गर्छन् कि बेचिएर पनि बाच्ने ठूलो हिम्मत भएकालाई सरकारले बेवास्ता गर्यो । विपन्नका लागि उही नै सबभन्दा ठूलो पापझैं भएको मानव बेचबिखनमा परेका चेलीहरु गुनासो गर्छन् ।
विभिन्न देशमा चेलीहरु बेचिने क्रम कहाँ रोकिएको छ र । यदि सरकारले शिक्षाअनुसार नेपालमै रोजगारी व्यवस्था गरिदिए नेपाली चेली पैसा कमाउने आशमा परदेशमा बेचिएर कष्टकर जीवन बिताउनुपर्ने थिएन । बेचिएर लामो समय नारकीय जीवन बिताएर फर्किएकी चेली सानुमाया भन्छिन्(हामी बेचबिखनमा पर्नुमा विपन्नता नै सबभन्दा ठूलो कारण थियो । हाल उक्त दलदलबाट निस्किएर आए, विपन्नताका कारण बालबच्चा हुर्काउन र परिवार पाल्न फेरि त्यही दलदलमा फस्न जानुपर्ने बाध्यता छ हामीलाई ।
सरकारले रोजगारी व्यवस्था गरिदिए धेरै चेली बेचबिखनमा पर्नबाट बच्ने थिए । नेपालमै रोजगारी व्यवस्था गरिदिन मेरो अनुरोध छ,’ उनले भनिन् ।
कानुनमा के छ ?
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कुनै पनि उद्धेश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्यावृत्तिमा लगाउने, प्रचलित कानुनबमोजिम बाहेक मानिसको अंग झिक्ने र वेश्यागमन गर्ने कार्यसमेत मानव बेचबिखन हो ।
किन्ने वा बेच्ने उद्धेश्यले मानसिलाई विदेश लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्धेश्यले कुनै प्रकारले ललाइफकाइ प्रलोभनमा पारी, झुक्याइ, जालसाज गरी, प्रपञ्च मिलाइ जबर्जस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिइ, बहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धम्की दिइ वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाइ लौजाने वा आफूस“ग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रका ठाउ“बाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अन्य कसैलाई दिने कार्यलाई ओसारपसार गरेको मानिन्छ ।
मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कसुर गरेको, गरिरहेको वा गर्न लागेको थाहा पाउने जुनसुकै व्यक्तिले नजिकको प्रहरीमा उजुर गर्न सक्छन् । अभियोग लागेको व्यक्तिले आफूले कसुर गरेको छैन भन्ने प्रमाण पुर्याउनुपर्छ । कसुरअनुसार सजायको व्यवस्था पनि ऐनले गरेको छ । मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र दुई लाख जरिवाना, वेश्यावृत्तिमा लगाउनेलाई कसुरको मात्राअनुसार १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना, वेश्यागमन गर्नेलाई १ महिनादेखि ३ महिनासम्म कैद र २ हजारदेखि ५ हजारसम्म जरिवाना हुने उल्लेख छ ।
किन्न, बेच्न वा वेश्यावृत्तिमा लगाउने उद्धेश्यले मानिसलाई विदेश लैजानेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना, बालबालिका लगेको भए १५ वर्षदेखि २० वर्षसम्म कैद र १ लाखदेखि २ लाखसम्म जरिवाना व्यवस्था छ । नेपालभित्र एक ठाउँबाट अर्को ठाउँ लैजानेलाई १० वर्ष कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना र बालबालिका लगेको अवस्थामा १० वर्षदेखि १२ वर्षसम्म कैद र १ लाख जरिवाना लाग्छ । शोषण गर्ने उद्धेश्यले नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँ लैजानेलाई १ वर्षदेखि २ वर्षसम्म कैद, विदेश लगेको भए २ वर्षदेखि ५ वर्षसम्म कैद सजाय छ । मानव बेचबिखन वा ओसारपसारको कसुर गर्न दुरुत्साहन, षडयन्त्र वा उद्योग गर्ने वा मतियारलाई कसुर गर्दा हुने सजायको आधा सजाय हुन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts