कर्णालीमा अझै : बारिन्छ छाउपडी, गरिन्छ बाल-विवाह

निर्पेन्द्रबहादुर मल्ल
निर्पेन्द्रबहादुर मल्ल
Read Time = 9 mins

मुगु । मुगुको सोरु गाउँपालिका वडा न ९ कालै गाउँकी एक किशोरीले १६ वर्ष मै विवाह गरिन् । १७ वर्षमा बच्चा जन्मियो । अहिले २२ बर्षको हुदाँ उनका तिन सन्तान छन् । सानै उमेरमा विवाह गरेर पारिवारिक बोझ बढ्नुका साथै स्वास्थ्य समस्याले सताईरहेको भन्दै उनी चिन्तित छन् ।

उनी एक प्रतिनिधि पात्र मात्रै हो । कर्णालीका जिल्लाहरुमा सानै उमेरमा विवाह गर्ने गरेका महिलाहरुका समस्या सबैको उनको जस्तै छ । बाल विवाह गर्नेहरुले केही न केही स्वास्थ्य तथा सामाजिक समस्याहरु भोगिरहेका छन् ।

बिहेबारी २० बर्ष पारी भन्ने नेपाल सरकारको नारा र कानुनी प्रावधान भएपनि मुगुलगायत कर्णालीका अन्य जिल्लाहरुका ग्रामिण गाउँबस्तीमा अहिले पनी २० बर्ष भन्दा कम उमेरमा विवाह गरेका बाल आमाहरु जताततै भेटिन्छन् ।

धार्मिक अन्धविश्वास, सामाजिक परम्परा र देखासिकीले पनि ग्रामिण भेगमा वालविवाह रोक्न सकिएको छैन । कर्णाली प्रदेशका जिल्लामा बालविवाह तथा छाउपडी प्रथाले गहिरो जरो गाडेको छ । यसको मुख्य कारण धार्मिक अन्धविश्वास हो । धार्मिक अन्धविश्वासले गर्दा कर्णालीका जिल्लामा कु प्रथाले जरो गाडेर मात्र बसेका छैनन बालविवाह तथा छाउपडी प्रथा जस्ता कु प्रथाका कारण महिलाहरुको स्वास्थ्य समस्या विकराल बन्दै गएको छ ।

पछिल्ला दिनहरुमा कर्णालीका शहरी क्षेत्रमा बालविवाह हुने क्रम विस्तारै कमहुँदै गएपनि ग्रामिण दुर दराजका गाउँबस्तीहरुमा भने बालविवाह, छाउपडी प्रथा अझै घट्न सकेको छैन ।

कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा अहिले पनि छाउपडी प्रथा व्याप्त छ । धार्मिक अन्धविश्वास पुरातानवादी सोचले अझैपनि बालविवाह गर्ने, छाउपडी बार्ने प्रचलनले किशोरी, महिलाहरुको स्वास्थ्य समस्या तथा हिसांको शिकार बन्न पुगेका छन् ।

वालविवाह तथा छाउपडी प्रथाले गर्दा किशोरी तथा महिलामा शारिरिक समस्यासंगै मनोवैज्ञानिक असर समेत पर्ने गरेको छ । चेतनास्तर कम भएकाले सानै उमेरमा वाल विवाह गर्दा महिलाहरुको आर्थिक अवस्था कमजोर बन्नुका साथै शारिरीक समस्या पनी उत्तिकै देखिने स्वास्थ्यकर्मी जानकी शाह बताउनु हुन्छ ।

शाह भन्नुहुन्छ- 'वाल विवाह गर्दा किशोरी तथा महिलाहरुमा शारीरि समस्या त हुन्छ नै मानसिक तथा सामाजिक रुपमा पनि समस्या पर्छ,  वालविवाह न्युनिकरण गर्न शिक्षा, स्वास्थ्य तथा रोजगारले पनि उत्तिकै अर्थ राख्ने गर्दछ त्यसले यसतर्फ सरोकारवाला निकायहरुले ध्यान दिन जरुरि छ ।

ADVERTISEMENT

कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका जिल्लाहरुमा महिलाहरुलाई सताइ रहने अर्को प्रथा छाउपडी प्रथा हो । यो प्रथा यहाँ व्याप्त छ । पुरातानवादी सोचले अझैपनि छाउपडी बार्ने प्रचलनले किशोरी, महिलाहरु हिसांको शिकार बन्न पुगेका छन् । छाउ हुनु फुल फुलेर फल लाग्नु सरह प्राकृतिक नियम भएको भएपनि छुई भएका बेला मुगुमा महिलालाई अलग्गै राख्ने चलनले निरन्तता पाउँदै आएको छ ।

महिनावारी भएको समयमा घरपरिवारमा छोइ हालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउने ,पाप लाग्ने जस्ता रुढीबादी अन्धविश्वासबाट छाउ भएका महिलाहरु ग्रसित छन् ।

विगतका बर्षहरुमा ७ दिन सम्म छाउ परेका बेला घर बाहिर बस्ने महिलाहरु पछिल्लो समय ३ देखि ५ दिनसम्म छाउ बार्ने गर्दै आएका छन् ।
बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाको सहयोगमा छाउपडी प्रथा विरुद्ध अभियान सञ्चालन गरेसंगै केहि परिवर्तन आएको भएपनि सामजिक कु संस्कार, धार्मिक अन्धविश्वासका कारण कर्णालीका ग्रामिण बस्तीमा यो प्रथा हटाउन सकिएको छैन ।

छाउपडी प्रथाले गर्दा महिलाहरु शारिरक, स्वास्थ्य, मानशिक, शैक्षिक समस्याहरु भोग्न बाध्य भएकाे स्थानीय महिला सकुन्तला बढुवाल बताउनु हुन्छ । उहाँका अनुसार धार्मिक मान्यता, पुरातानवादि सोच, सामाजिक कु संस्कार र आफुमा आत्मविश्वास नहुँदा छाउ भएका बेला महिलाहरु आफै घर बाहिर बस्ने र छाउ बार्ने गर्दछन् ।

मुगुको छायाँनाथ रारा नगरपालिका-१४ बाम गाउँमा छाउपडी प्रथासंगै १४ नं वडामा तिन बर्षमा ६२ जनाले वालविवाह गरेको वडा अध्यक्ष जुन बहादुर खड्का बताउनु हुन्छ । अब स्थानीय सरकारलले बालविवाह, छाउपडी प्रथा अन्त्य गर्नका लागि विशेष अभियान चलाउने र वडाको सिफारिका आधारमा मात्र विवाह गर्न लगाउनुका साथै वालविवाह र छाउपडी प्रथा मुक्त वडा बनाउने आफ्नो योजना रहेको वडा अध्यक्ष खड्काले बताउनुभयाे ।

लामो समय देखि कर्णालीका जिल्लाहरुमा कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस पार्क) नामक संस्थाले युवा, महिला, बालबालिकालाई लक्षित गर्दै समुदाय र विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार, पाठेघर (आङ्ग) खस्ने समस्या, बालविवाह, छाउपडी प्रथाका बारेमा सचेतना दिन विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गरिरहेको छ ।

बालविवाह, छाउपडी प्रथाको भुमरीबाट बालबालिका,महिला र विशेष गरि युवा युवतीहरुलाई बाहिर निकाली उनीहरुको स्वास्थ्य, शिक्षा र वानी व्यवहारमा परिवर्तन ल्याइ देश तथा समाजका लागि सबल, सक्षम र स्वस्थ नागरिक बनाउनु यो अभियानको लक्ष्य तथा उद्देश्य रहेको सिडिएस-पार्कका कार्यकारी निर्देशक तथा अभियन्ता अज बहादुर शाही बताउनु हुन्छ ।

उहाँ भन्नुहुन्छ- 'धर्ममा कतै छाउ बार्नु पर्ने, छाउ परेकी महिलाले छोएको खाएमा पाप लाग्ने कतै उल्लेख नभएपनि मानिसहरुले आफ्नो स्वार्थमा उपयोग गर्न छाउपडी प्रथा चलाएको देखिन्छ । समाजमा विध्यमान यस्ता कु प्रथाहरु हटाउन समुदायमा रहेका धार्मिक,सामाजिक अगुवा,अभियान्ता र नेताहरुको भुमिका प्रभावकारी हुने भएकाले उहाँहरुलाई यस्ता प्रथाले समाज,सन्तान,महिला र भविष्यमा पार्ने असर,प्रभाव र कानुनी दण्ड,सजाय बारे सचेतना दिइरहेका छौ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?