कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने हुनु भएको छ। असार २० गते अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले साउन १८ गते विश्वासको मत लिने हुनु भएको हो ।
यसका लागि आज उहाँले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै साउन १८ गते विश्वासको मत लिने जानकारी गराउनु भएको छ ।
सुदूरपश्चिम प्रदेश सभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेश सभा सदस्यहरुलाई सूचना पनि पठाइसकेको छ।
शुक्रबार ४ बजे विश्वासको मतका लागि संसद बैठक बस्ने सूचना भइसकेको सभामुख भण्डारीले बताउनु भयो। असार २० गते नेकपा एमालेले सोडारी सरकारको समर्थन फिर्ता लिएपछि उहाँ अल्मतमा पर्नुभएको थियो। उहाँले विश्वासको मत लिने अन्तिम दिन साउन १८ गते विश्वासको मत लिन लाग्नुभएको हो ।
सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा मुख्यमन्त्री हुनु भएको थियो । तर केन्द्रमा नयाँ गटबन्धन बनेसँगै एमालेले असारको २० गते उहाँलाई दिएको समर्थन फिर्ता लिएको थियो भने आफुना तीन जना मन्त्रीहरु पनि फिर्ता बोलाएको थियो।






