खोटाङ । बैंक खातामा पैसा नभएको चेक दिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ३५ वर्षीय रोशन राई पक्राउ परेका छन् ।
सडक निर्माण गर्ने कामदार, ट्याक्टर र स्काईभेटरको पैसा तिर्न दिक्तेलकै काजीप्रसाद आचार्यबाट गत जेठ २० गते लिएको २० लाख ६४ हजार रकम फिर्ताका लागि राईले उक्त रकम बराबरको एनआईसी एसिया बैंकको चेक आचार्यलाई दिएका थिए ।
तर, आचार्यले उक्त चेक साट्न बैंकमा पुग्दा राईको खातामा पर्याप्त पैसा नभएको पाईएको थियो । पटक–पटक चेक साट्न जाँदा पैसा नभएपछि आचार्यले राईविरुद्ध कारवाही गरिपाउँ भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा असार २३ गते जाहेरी दिएका थिए ।
जाहेरी परेपछि प्रतिवादी राईलाई खोजतलास गरेर भक्तपुरबाट साउन ११ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई जिल्ला अदालतबाट तीनदिनको म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक एवंम् सूचना अधिकारी बेनु कार्कीले जानकारी दिनुभयो ।






