काठमाडौं । पछिल्लो नौ वर्षयता लगातार सत्ताको केन्द्रमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताविमुख भएसँगै पुनः वाम एकताको विषय उठाउन थाल्नुभएको छ । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिपछि अध्यक्ष प्रचण्ड सत्ताको रजगजबाट विमुख हुन पुग्नुभएको थियो । अप्रत्याशित ढंगले प्रधानमन्त्रीको कुर्सी छोड्नुको पीडाले रन्थनिनुभएका अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई सक्रिय बनाउन हरसम्भव प्रयास गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी लगायतका दलहरूलाई साथमा लिएर सरकारमाथि दबाब दिने रणनीति बनाउनुभएका प्रचण्ड अपेक्षित परिणाम आउने नदेखेपछि पुनः वाम एकताको विषय उठाउन थाल्नुभएको हो ।
शनिबार काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकपटक असफल हुँदैमा कम्युनिष्ट पार्टीहरू एक हुने उद्देश्यबाट विमुख हुन नहुने जिकिर गर्दै भन्नुभयो, ‘एकचोटी असफल भयो भन्दैमा हामीले फेरि नेपालको समाजवादको आधार बनाउनका लागि उद्देश्य फेर्ने भन्ने हुन सक्दैन । मैले पछिल्लो चोटि पनि वामपन्थी एकतालाई एकताबद्ध बनाउने आधारमा नै एकचोटि जमर्को गरेकै हो । अहिले त्यहाँ के के भयो भन्ने धेरै भन्न चाहन्नँ ।’ नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताको सन्देशलाई जनताले नै स्वीकार गरे पनि जोगाउन नसकिएको तर्क प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पार्टी भित्रबाट र आम जनताबाट पनि राम्रो अनुमोदन प्राप्त भयो । झण्डै दुईतिहाइ प्राप्त गरेका थियौँ । एकताको सन्देशलाई जनताले सहर्ष स्वीकार गरेर अनुमोदन गर्दा नजिक पुगेका थियौँ । तर, त्यसलाई बचाउन सकिएन । नेकपा एमालेभित्र पनि ठूलो पंक्ति देशभित्र अझै छ, कम्युनिष्ट आन्दोलनमा त्याग गरेको पंक्ति अहिले पनि छ । म ती सबै साथीहरूलाई अपिल गर्न चाहन्छु ।
एकताबद्ध गर्ने पटक-पटकको प्रयासलाई कुन त्यो शक्तिले सफल हुन दिएको छैन त्यो सोच्नुपर्ने छ ।’ दलाल पुँजीपतिको सेटिङमा आफू आत्मसमर्पित हुन नसकेपछि सत्ता छाडेको प्रचण्डको दाबी छ ।
फेरि पनि सडकमा पलेटी कस्न तयार छौं : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनबाट नागरिकका अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । सशस्त्र युद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि संविधान संशोधनबाट समाप्त पार्न खोजिएको आशंका गर्दै उहाँले भन्नुभयो, ‘फेरि जरुरी पर्छ भने सडकमा पलेटी कसेर भए पनि जनताको साथमा बसेर भए पनि त्यसो हुन दिने छैनौँ । थ्रेस होल्ड बढाएर साना पार्टीलाई निस्तेज बनाउने र तथा कथित दुई पार्टी सिष्टम जो पश्चिमा देशमा चलेको छ, नेपाललाई पनि त्यता लैजान खोजिएको छ । संविधान संशोधनको नाममा प्रतिगमनतिर गएर नेपाली जनताले प्राप्त गरेको अधिकार खोस्ने दुुस्साहस हुँदै छ ।’
कांग्रेस सभापति देउवाको मन हामीसँगै छ : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा आत्तिएर आफ्नो कार्यक्रममा नआएको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले नराम्रो सोच्नसक्ने भएकाले देउवा पुष्पलालको जन्म शताब्दीको कार्यक्रममा नआएको जिकिर गर्दै नेपालले भन्नुभयो, ‘हामीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई पनि बोलाएका थियौँ । शेरबहादुरजी आत्तिनुभएको होला, यहाँ आयो भने केपी ओलीले नकारात्मक रूपमा लिन्छन् कि भन्ने ठान्नुभएको होला । हामी बुझ्दछौँ सबै कुरा । त्यसले केही फरक पर्नेवाला छैन, उहाँ आउन पाए पनि नपाए पनि भावना हामीसँग छ । शरीर त्यही छ, मन यता पनि छ ।’ अध्यक्ष नेपालले संविधान संशोधनको नाममा अर्कै खेलोमेलो पनि हुनसक्ने आशंका गर्नुभयो ।
कम्युनिष्ट आन्दोलनलाई मिल्न नदिने षड्यन्त्र भइरहेको छ : खनाल
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलनलाई मिल्न नदिने षड्यन्त्र भइरहेको दाबी गर्नुभएको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा अब नयाँ बहस सुरु गर्नुपर्ने धारणा राख्दै खनालले भन्नुभयो, ‘गहन ढंगले बहस सुरु गरौँ, मैत्रीपूर्ण ढंगले, हिजो कतिपय बेलामा कुनै मत भिन्नता भयो भने तुरुन्त लाञ्छना लगाइहाल्ने, शत्रु जस्तो व्यवहार गर्ने प्रचलन थियो । अब त्यो त्यागौँ ।’ उहाँले कम्युनिष्टहरूबीच वैचारिक र नीतिगत एकता गर्नुपर्ने धारणा राख्नुभयो । नेता खनालले कांग्रेस र एमाले दुई पार्टीको अधिनायकवादविरुद्ध मेचीदेखि महाकालीसम्म संग्राम सुरु गर्ने चेतावनीसमेत दिनुभयो ।
भीम रावलको प्रश्न : ‘नेकपा एमाले जिन्दावाद, भोट केमा हलोमा ?’
नेकपा एमालेका नेता भीम रावलले कम्युनिष्ट पार्टीले आफ्नो सिद्धान्त र नीतिमा जोड दिन नसकेको टिप्पणी गर्नुभएको छ । विपरीत सिद्धान्त भएका दलहरू मिलेर चुनाव लडेको देख्दा आफूलाई आश्चर्य लागेको उल्लेख गर्दै नेता रावलले भन्नुभयो, ‘एउटा दलले एउटा चिहृन लिएर जिन्दावाद भन्छ, त्यसको सिद्धान्त के छ कम्युनिष्टलाई सिध्याउने । अर्को दल कम्युनिष्ट पार्टी भन्छ, त्यो सिध्याउन चाहनेलाई जिन्दावाद भन्दै मत दिइरहेको हुन्छ । कति आश्चर्य छ । मैले देखेँ नेकपा एमाले जिन्दावाद भोट केमा हलोमा ?, नेपाली कांग्रेस जिन्दावाद भोट केमा कलममा ? मैले बुझ्न सकिनँ यो राजनीति ।’ कम्युनिष्ट पार्टीलाई सिध्याउनेसँग मिलेर समाजवाद नआउने उहाँको जिकिर छ ।
कम्युनिष्ट पार्टी निर्माणको अभियान थाल्न वामदेवको प्रस्ताव
नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेपालका सबै कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गर्नुपर्ने बताउनुभएको छ । मुलुकलाई शक्तिशाली कम्युनिष्ट पार्टी चाहिएकाले त्यसका लागि सबै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्नुपर्ने प्रस्ताव राख्दै संयोजक गौतमले भन्नुभयो, ‘फेरि पनि कम्युनिष्ट पार्टीहरू एकताबद्ध गरौँ । पुष्पलालको जन्म शताब्दी समारोह आयोजना गर्नुको एउटा मुख्य कर्तव्य प्रस्ताव पारित होस् यहाँबाट । मञ्जुर छ भने तपाईंहरूले उठेर नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नको निम्ति हामीले पुष्पलालको यो जन्म शताब्दी कार्यक्रममा एउटा प्रस्ताव पारित गरौँ । नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नेछौँ । र, एउटै कम्युनिष्ट पार्टी बनाएर समाजवाद निर्माण गर्नेछौँ, तपाईंहरूले पारित गरिदिनुस् ।’
सत्ताका लागि कम्युनिष्टहरू जति पनि गिर्छन् : यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्ट पार्टीहरू सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गर्नुभएको छ । सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद हो भन्ने ठान्ने कामसमेत नेपालका कम्युनिष्ट पार्टीका नेताहरूले गरेको आरोप लगाउँदै अध्यक्ष यादवले भन्नुभयो, ‘अहिलेका कम्युनिष्ट पार्टीका नेताहरूलाई हेर्छु म उहाँहरूले सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठान्नुभएको छ । र, त्यसको दौडमा यतिसम्म गिर्दछन् कि कल्पना नै गर्न सकिँदैन । त्यो युग अहिले आएको छ । कुनै पनि काम बाँकी नछोड्ने । राजावादीसँग पनि एकता गर्ने, गरेकै हो । के का लागि ? सरकारका लागि । त्यो पनि दुई दिनको सरकारका लागि । राजवादी पनि चलेकै छ, कांग्रेस पनि चलेकै छ । अर्को पनि चलेकै छ । जोसँग पनि चलेकै छ । नेपालका कम्युनिष्टहरूमा को सही हो, को गलत हो ? छुट्याउनै गाह्रो छ ।’







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts