झापा । झापामा धान खेती हुने कुल ७५ हजार हेक्टर जमिन मध्ये ६९ हजार हेक्टर धान रोपाइँ सकिएको छ । कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर बिष्टका अनुसार हालसम्म झापामा ९२ प्रतिशत भन्दाबढी धान रोपाइँ भइसकेको छ ।
साउनको दोस्रो साता नसकिँदै ९२ प्रतिशत रोपाइँ हुनुले सत्प्रतिशत रोपाइँ हुने अपेक्षा गर्न सकिने प्रमुख विष्टले बताउनुभयो । जनाएको छ । समयमा नै पानी परेको, कृषकले अगौटे धान रोप्न चासो देखाएका कारण ९२ प्रतिशत भन्दा बढी रोपाइँ भइसकेको जनाइएको छ ।
विगतमा धान खेती गरिने गरिएको सुख्खा र केही खाल (गहिरो) जमिन, पछौटे चैते धान लगाइएको क्षेत्रमा र बासमती, नुनिया लगायतका पछौटे धान रोप्न बाँकी छ ।
मेसिनको प्रयोगका कारण पनि धान रोपाइँ छिटो भएको हो । धान रोपाइँ छिटो हुनुको अर्को कारण किसान अगौटे धानमा आकर्षित हुनु पनि हो । यसपटक झापामा किसानलाई प्राविधि अभ्यस्त गराउने उद्देश्यले १०५ बिघा बढी जमिनमा मेसिनबाट रोपाइँ गरिएको छ।
सबैभन्दा बढी मेचीनगर नगरपालिका क्षेत्रमा ३६ बिघा, गौरादह नगर क्षेत्रमा ३०, शिवसताक्षीमा १२, भद्रपुरमा १०, बिर्तामोड नगरपालिका क्षेत्रमा ७ बिघा र गौरीगञ्ज गाउँपालिका क्षेत्रमा १० बिघा जमिनमा मेसिनबाट रोपाइँ गरिएको ज्ञान केन्द्रले जनाएको छ । उक्त जमिनमा मेसिनको प्रयोग गरेर नमूना धान खेती गरिएको प्रमुख सागर विष्टले बताउनुभयो।
कृषकलाई मेसिनबाट रोपाइँ गर्दा लाग्ने रकमको ५० प्रतिशत अनुदान सरकारले दिएको कार्यालयले जनाएको छ। यसबाहेक निजी खर्चमा समेत किसानले मेसिन प्रयोग गरेर रोपाइँ गरेका छन्। त्यसको तथ्यांक कार्यालयसँग नरहेएको बताइएको छ ।
यद्यपि, अघिल्लो वर्षको तुलनामा यो वर्ष धान खेतीको क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ। गत वर्ष ८५ हजार ७५० हेक्टरमा धान खेती गरिएको थियो । यो वर्ष झापामा १० हजार ७५० हेक्टर धान खेती घटेको हो ।
धान खेती घट्नुको प्रमुख कारण खेतीयोग्य जमिन प्लटिङ हुनु नै हो। गतवर्ष झापामा चार लाख ६३ हजार मेट्रिकटन धान उत्पादन भएको थियोे।
बर्खे धान खेती कम जमिनमा भएपनि यस वर्ष अघिल्लो वर्षको तुलनामा चैते धान बढी क्षेत्रफलमा बढेको छ । अघिल्लो वर्ष झापामा १९ हजार ८ सय हेक्टरमा चैतेधान खेती गरिएको थियोे । यो वर्ष २० हजार हेक्टरमा चैते धान खेती गरिएको थियोे । झापामा यस वर्ष १ लाख १६ हजार मेट्रिकटन चैते धान उत्पादन भएको छ।






