झापा । बिहीबार दिउँसो भएको जग्गा विवादमा दुई पक्ष बीच झडप हुँदा झापाको बाह्रदशी गाउँपलिका ३ राधानगरका ११ जना घाइते भएका छन् ।
दोहोरो झडपमा बाह्रदशी ३ का ८० वर्षीय विष्णुप्रसाद साह, ५६ वर्षीया पद्मादेवी साह, ५४ वर्षीय पर्शुराम साह र मुनाखरी साह, ४० वर्षीय नितानन्द साह र रेखानन्द साह, ३० वर्षीय अजयकुमार साह, सोही ठाउँका ३६ वर्षीया चाँदनी साह, २२ वर्षीय महानन्द साह, १७ वर्षीय विवेक साह, १६ वर्षीय संजीव साह घाइते भएका छन् ।
उनीहरुको टाउको, शरीरको बाहिरी तथा भित्री भागमा गम्भीर चोट लागेको छ । घाइतेको विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको राजगढ प्रहरीले जनाएको छ । घाइते मध्ये पर्शुराम र संजीव बाबुछोरा हुन् ।
पर्शुराम र रेखानन्द साहबीच जग्गा विषयमा विवाद हुँदा दुबै पक्ष बाँस, लाठी र घरेलु हतियार लिएर एकअर्काप्रति खनिएका थिए।
रेखानन्दले दिउँसो खेत जोताउन ट्रयाक्टर ल्याएका थिए। पर्शुरामले रोक्न खोज्दा दुई पक्षबीच झडप भएको हो। सो जग्गाको मुद्दा अदालतमा मुद्धा चलिरहेको छ।
लामोसमयदेखि विवादित सो जग्गाको विषयमा छलफल गर्न आज दुवै पक्षलाई इलाका प्रहरी कार्यालय राजगढमा बोलाइएको थियोे।
छलफलमा आउने र मिल्नुको सट्टा उनीहरु समूह बनाएर झडपमा उत्रिएको सई राजेन्द्र शर्माले बताउनुभयो ।
ऐलानी जग्गामा उनीहरू बीचमा कायम रहेको विवाद पटकपटक मिलाउन प्रयास गर्दा पनि असम्भव भएको वडाध्यक्ष टंक साहले बताउनुभयो ।






