धादिङ । लगातार बर्षासँगै आएको बाढीका कारण उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर ५ र ६ का ४ वटा पुल बगाएको छ ।
रुबीभ्याली गाउँपालिका वडा नम्बर ५ स्थित तिनचेत नेसुङ खोलामा रहेको ढलान पुल बाढीले बगाएपछि तीनचेत, चपाङचेत, छुम्राङ, तेनचेतको पुल बगाएको हो । पुल बगाएपछि अधिकांश गाउँको आवतजावत समेत बन्द भएको छ । वर्षाका कारण खोला बढेपछि विद्यालय जानुपर्ने बालबालिकासमेत विद्यालय जान पाएका छैनन् ।
रुबीभ्याली गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ६ जोड्ने राखोला काठेपुल, गल्दी खादिङको ट्रस पुल, थुवाखोला ट्रस पुल वर्षापछिको खोलाले बगाएपछि विद्यार्थीहरु विद्यालय आवतजावतमा समस्या भएको लापाका स्थानीयबासी जिवन तामाङले बताउनुभयो ।
ठूलो गाउँमा एसईई दिने विद्यार्थी ट्युसन पढाउने भएपनि पुल बगाएपछि विद्यार्थीहरु ट्युसन पढाउने ठाउँसम्म जान पाएका छैनन् ।
१० दिनदेखिको लगातार वर्षाले रुबीभ्यालीको धेरै गाउँ क्षतविक्षत बनाएको भएपनि स्थानीय सरकारका प्रतिनिधिले बेवास्ता गरेको स्थानीयबासीको गुनासो छ ।
बोराङबाट लापा जान नसकिनेगरि आँखु खोला लगायतको खोलाले खोला छेउको बाटो भत्काएपछि गाउँबासी गाउँ जानसमकेत पाएका छैनन् । लापा ठूलो गाउँ, कपुर गाउँ, धादिङ लगायतको लापा क्षेत्रमा खाद्यान्न समेत लान नसकिनेगरि बाटो खोलाले बगाएर सम्पर्क विच्छेद भएको र जोखिम उठाएर नागरिकहरु आउजाउ गरिरहेको लापाका घनबहादुर तामाङले बताउनु भयो । भत्किएको एक वटा काठेपुल स्थानीयबासीले कामचलाउ मर्मत गरेर बनाएपनि जोखिम भने कम नभएको लापाबासीको भनाइ छ।
वर्षाका कारण पहिरोले गर्दा धेरैजसो गाउँ जोखिममा परेको छ । लापाको तायुम, ब्रमदाङको १० घर, नेवेरको ५६ घरमध्ये ४२ घर, हिन्दुङको १ सय २० घर, रावा अवोइको १२ घर पहिरोको उच्च जोखिममा छ । गाउँमा पहिरो आएको छ तर सुरक्षित बस्नुपर्ने भएपनि गाउँबासी जोखिमको घरमा बसि रहेका छन् ।
सरकारले जोखिम बस्ती भनेर घडेरी किन्ने पैसा दिएको भएपनि वडा नम्बर ५ को तेनचेतको ४२ घर, तिनचेतको ६८ घर, चपाङचेतको ३५ घर, छुमराङको ३६ घरका केही नागरिक अझै पहिरो आइरहेको भएपनि सोही जोखिम स्थानमा बसीरहेका छन् । केही नागरिक भने नीलकण्ठ नगरपालिका क्षेत्रमा घडेरी किनेर बसिरहेका छन् ।
उनीहरुका लागि सरकारले घडेरी किन्न २ लाख घर बनाउन ३ लाख उपलब्ध गराएर घर बनाएको भनिएपनि भूकम्पपछि जोखिमबस्ती केही मानिसले भने छाड्न मानेका छैनन् ।






