काठमाडौं । नेपालको राहदानीको विश्व वरियतामा सुधार आएको छ । विश्वका राहदानी र्याकिंङ संस्था हेन्ले एण्ड पार्टनर्सले जारी गरेको २०२४ को विश्वको सबैभन्दा शक्तिशाली राहदानीको वरियता सूचीमा नेपालको राहदानी ९८औं स्थानमा छ । यसअघि नेपालको राहदानी ३८ अंकसहित १०३ स्थानमा रहेको थियो । यसवर्ष नेपाल ३९ (अर्थात् ३९ देशमा अग्रीम भिसा लिनु पर्दैन) अंकसहित ९८औं स्थानमा आएको छ ।
यस सूचीमा जापानलाई उछिन्दै सिंगापुर शीर्षस्थानमा आएको छ । सिंगापुर १९५ अंकसहित शीर्षस्थानमा छ भने १९२ अंकसहित दोस्रो स्थानमा फ्रान्स, जर्मनी, जापान, इटाली र स्पेन छन् । त्यस्तै यस सूचीमा बेलायत १९० अंकसहित चौथो स्थानमा छ भने अमेरिका १८६ अंकसहित आठौं स्थानमा छ । त्यसैगरी छिमेकी देश चीन ८५ अंकसहित ५९औ स्थानमा छ भने भारत ५८ अंकसहित ८२औं स्थानमा छ । यस सूचीको अन्तिममा २६ अंकसहित अफगानिस्तान रहेको छ ।
यो वरियता वर्षमा दुईपटक जारी गरिन्छ । सूचकांक पहिलोपटक जनवरीमा र दोस्रोपटक जुलाईमा जारी गरिन्छ । हेन्ले पासपोर्ट भिसा सूचकांक वेबसाइट अनुसार, वास्तविक-समय डाटा वर्षभरि अद्यावधिक गरिन्छ । भिसा नीतिहरूमा परिवर्तनहरू पनि अपडेट गर्ने गरिन्छ ।
कुनै देशको राहदानीधारीले भिसा नलिइकन कति देशको यात्रा गर्न सक्छन् भन्ने आधारमा र्यांकिङ निर्धारण गरिन्छ । यसका लागि उसले अग्रीम भिसा लिनु पर्दैन । यसबाहेक धेरै देशहरूले भिसा फ्री यात्राको विकल्प प्रदान गर्छन् । यसको मतलब कुनै निश्चित देशका मानिसहरू भिसा बिना पनि त्यस देशमा जानसक्ने नीतिलाई पनि आधार बनाइने जनाइएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता