चेतनारायण आचार्य : विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्रीसम्म

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त आचार्य राज्य पुनःसंरचनाअन्तर्गत सङ्घीयताबमोजिम स्थापना भएको लुम्बिनी प्रदेश सरकारको छैटौँ र विसं २०७९ मङ्सिरमा सम्पन्न प्रदेशसभा निर्वाचन पछिको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त हुनुभएको हो ।

सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता साझेदारीका लागि गठबन्धन बनेपछि प्रदेश सरकारको पनि सत्ता समीकरण बदलिएको हो । सोही समीकरणका कारण लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरा नेतृत्वको सरकार ढल्यो । त्यसपछि लुम्बिनी प्रदेश एमाले संसदीय दलका उपनेता आचार्य मुख्यमन्त्री बन्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री आचार्यलाई नेकपा (एमाले)का २९ र नेपाली कांग्रेसका २७ सहित ५६ प्रदेश सदस्यको समर्थन छ ।

अर्घाखाँची निर्वाचन क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्यमा दोस्रो कार्यकालका लागि निर्वाचित नवनियुक्त मुख्यमन्त्री आचार्यले पिता टीकाराम र आमा तारादेवी आचार्यका माइलो सन्तानका रुपमा विसं २०२५ साल जेठ २१ गते अर्घाखाँची जिल्लाको सन्धिखर्क-९ अँधेरीमा जन्मनुभएको हो । नवनियुक्त मुख्यमन्त्री आचार्यले कानुनमा स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ ।

ADVERTISEMENT

विसं २०३५ मा जिल्लाको सिद्धार्थ माध्यमिक विद्यालय हंसपुर अध्ययन गर्दागर्दै विद्यार्थी राजनीतिमा होमिनुभएका उहाँ अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष हुनुभएको थियो । त्यसपछि अनेरास्ववियुको जिल्ला सदस्य हुँदै बुटवल बहुमुखी क्याम्पसको अध्यक्ष हुनुभयो । पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आउनुभएका उहाँ विसं २०७८ मा पार्टी केन्द्रीय सदस्य बन्नुभयो । आचार्य हाल पार्टीको दाङ जिल्ला इञ्चार्जसमेत हुनुहुन्छ ।

विसं २०७४ को प्रदेशसभा निर्वाचनमा अर्घाखाँची प्रदेश क्षेत्र नं १(१) बाट दोस्रोपटक निर्वाचित उहाँ यसअघि लुम्बिनी प्रदेश सरकारको पहिलो मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री, त्यसपछि एमाले नेता लीला गिरी नेतृत्वमा बनेको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकासमन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो । यसअघि माओवादी नेता जोखबहादुर महरा नेतृत्वमा बनेको प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारीमा रहनुभएको थियो ।

क्यान्सर, मिर्गौलालगायत घातक रोग लागेर पनि निको हुनुभएका  उहाँ विकासप्रेमी र हक्की स्वभावका नेताका रुपमा परिचित हुनुहुन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज