झापा । मुलुकको पूर्वीनाका काँकडभिट्टा मंगलबार एउटै ब्यानरमा बहुकाम सम्पन्न भएको छ । झर्रोवादी साहित्यकार स्व .विजय खरेलको प्रथम स्मृति दिवसमा ती काम सप्पन्न भएका हुन् ।
नेपाल र भारतका शिक्षा, साहित्य र राजनीतिक व्यक्तिको सहभागितामा अक्षयकोष स्थापना, स्मृति ग्रन्थ लोकार्पण, गीत सार्वजनिक, प्रतिभा सम्मान, गायन तथा रचना वाचन गरिएको छ ।
आफ्ना स्व . बुबाको स्मृतिलाई जीवन्त राख्न छोरी जयन्ती खरेलले कार्यक्रम आयोजक संस्था सुसेली साहित्यिक परिवारलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रमका प्रमुख व्यक्तित्व प्रा .डा. जिवेन्द्रदेव गिरीले पाँच सय पृष्ठको स्व. विजय खरेल स्मृति ग्रन्थ लाेकार्पण र खरेलद्वारा रचित गीत सार्वजनिक गर्नुभयो । प्रा . डा. गिरीले कलाकार केसाङ लामालाई ११ हजार राशिको सुसेली साहित्यिक प्रतिभा पुरस्कार प्रदान गर्नुभयो ।
स्व. खरेलका रचनामाथि स्वयतपत्र निर्माण गर्न सकिने बताउनु भएको प्रा . डा . गिरीले खरेलका रचना विद्यालय तथा कलेज तहका पाठ्यपुस्तकमा समेट्नु पर्ने आवश्यकता औँल्याउनु भयो ।
भारत पश्चिम बंगाल विश्वविद्यालयका विभागीय प्रमुख कृष्णराज घतानी स्व. खरेलकाे जीवनी बारे चर्चा गरेको कार्यक्रममा साहित्यकार भुवन सुब्बाले समीक्षा र दार्जिलिङ निवासी स्व. खरेलका भाइ डा.दशरथ खरेलले स्मृति ग्रन्थ प्रकाश गर्नुको औचित्य प्रष्ट्याउनु भएको थियो । प्रगतिवादी साहित्यकार स्व. खरेलका १४ वटा कृति प्रकाशित छन् ।
स्व.खरेलका नाति साहिकिरण लम्सालले हजुरबुबाले रचना गरेको गीतको भिडियो ८ मिनेटसम्म प्राेजेक्टरमा देखाइ रहँदा सहभागी स्तब्ध देखिएका थिए । भारत दार्जिलिङका विमला प्रधान जाेशी, भूमिका राई लगायतले कविता वाचन गर्नु भएको थियोे । आयोजक संस्थाका उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले स्व. खरेलकाे नाममा झ्याउरे गीत प्रस्तुत गर्नु भएको थियो ।
स्व. खरेल परिवार प्रायोजक रहेको कार्यक्रममा संविधानसभा सदस्य रविन कोइराला, वरिष्ठ अभिवक्ता लीला उदासी, प्राज्ञ शुभद्रा भट्टराई, मेचीनगर नगरपालिका प्रमुख गाेपालचन्द्र बुढाथोकी, आयोजक संस्थाका सचिव कनक कार्की लगायतले साहित्यमा उहाँले पुर्याउनु भएको योगदानको चर्चा गर्नुभएको थियोे ।






