झापा । बंगलादेशमा जारी आन्दोलनका कारण सयौं नेपाली विद्यार्थी धमाधम स्वदेश फर्किरहेका छन् ।
आइतबार मात्रै पूर्वीनाका काँकरभिट्टाबाट १३० जना विद्यार्थी स्वदेश फर्किएको अध्यागमन कार्यालय काँकरभिट्टा प्रमुख मोहन पनेरूले जानकारी दिनुभयो ।
एकसातादेखि नेपाली विद्यार्थी काँकडभिट्टा नाका भएर स्वदेश फर्किरहेको उहाँले बताउनुभयो ।
बंगलादेशबाट नेपाली विद्यार्थीहरू समूह बनाएर आउने गरेको र उनीहरूको लगत राखेर घर पठाउने गरेको प्रमुख पनेरुको भनाइ छ ।
काँकडभिट्टाबाट फूलबारी बंगलाबन्द मार्ग नेपाल र बंगलादेशको सबभन्दा छोटो स्थलमार्ग हो ।
उहाँका अनुसार आजसहित एकसाताको बीचमा यो नाकाबाट ६४८ जना नेपाली विद्यार्थी स्वदेश फर्किसकेका छन् ।
सरकारी सेवामा विषेश व्यवस्था गरि पूर्वसैनिकका सन्तानलाई आरक्षण दिने भएपछि त्यहाँ आन्दोलन भड्किएको हो ।
आन्दोलन हिंसात्मक बनेको छ। अहिले त्यहाँ देशभर कर्फ्यु लगाइएको छ । यद्यपि, आन्दोलन रोकिएको छैन । बंगलादेशमा आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु फर्किने क्रम बढेको छ ।
चिकित्सा शिक्षा अध्ययनका लागि तीन हजार बढी नेपाली विद्यार्थी बंगलादेशमा अध्ययनरत रहेका अनुमान गरिएकाे छ। अहिले त्यहाँका सम्पूर्ण शिक्षण संस्था बन्द छन् ।
आन्दोलन हिंसात्मक बनेपछि नेपाली विद्यार्थी परिवारसँग सम्पर्क गरेर स्वदेश फर्किरहेका छन् ।
कर्फ्युका कारण अहिले त्यहाँको समस्या जटिल बन्दै गएको छ । सरकारले कर्फ्यु लगाउनु अघि इन्टरनेट सेवा बन्द गरेको थियो ।
आन्दोलनमा मृत्यु हुनेको संख्या साढे तीन सय नाघिसकेको बताइएको छ ।






