काठमाडौं । निर्देशक ओम प्रतीकको चलचित्र ‘मोहर’मा अभिनेत्री नीति शाह अनुबन्धित हुनुभएको छ । चलचित्रको लेखकसमेत रहनुभएका प्रतीकले यो चलचित्रमा अभिनेता अर्जुनजंग शाहीले मुख्य खलनायकका रूपमा अभिनय गर्ने निश्चित भएको जानकारी गराउनुभयो ।
‘मोहरमा हामीले समाजमा देखिएको ऐनालाई चित्रण गर्दैछौँ,’ निर्देशक प्रतीकले भन्नुभयो, ‘हामीले फिल्मको स्लोगन नै अ स्टोर बेस्ड अन अनरिटन रुल्स बनाएका छौँ ।’ चलचित्रका अन्य कलाकारहरूको छनोट जारी रहेको उहाँको भनाइ छ ।
फिल्म मेकर्स प्रालिको ब्यानरमा बन्ने यो चलचित्रका निर्माता चुम्बनजंग शाही हुनुहुन्छ । दिपेन बस्न्यातको छायांकन रहने चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन रहनेछ । कमेडी, एक्सन, सोसल ड्रामा तथा लभ स्टोरीसहितको जनरामा बन्ने यो चलचित्रको छायांकन आगामी कात्तिक महिनादेखि प्रारम्भ हुने भनिएको छ ।
अभिनेत्री नीति शाहले चलचित्र ‘खजुरे ब्रो’ बाट अभिनयमा डेब्यु गर्नुभएको हो । उहाँले केही अगाडि चलचित्र ‘ज्वाइँसाव’को छायांकन सक्नुभएको थियो । यस्तै उहाँका अन्य दुई चलचित्र पनि छायांकनको क्रममा रहेका छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता