जनकपुरधाम । लामो रस्साकस्सीपछि नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस सरकारमा सामेल भएको छ ।
जनमत नेतृत्वको मधेस सरकारलाई समर्थन दिएको कांग्रेस र लोसपाका मन्त्रीहरुले शपथ लिएसंगै मधेस सरकारमा सामेल भएको हो ।
मधेस सरकारमा कांग्रेसबाट ४ जना र लोसपाबाट १ जना सहभागी भएका छन् । कांग्रेस र लोसपाबाट नवनियुक्त मन्त्रीहरुलाई बिहिबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराउनु भयो ।
कांग्रेसबाट अर्थमन्त्रीमा रौतहटका सुनिलकुमार यादव, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा पर्साका जनार्दन क्षेत्री, उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा सर्लाहीका कौशलकिशोर रायले शपथ ग्रहण गर्नुभयो ।
लोसपाबाट रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीको शपथ लिनुभयो । यसअघि एमालेका राजकुमार लेखीले सो मन्त्रालयको जिम्मेबारी सम्हाल्दै आउनु भएको थियो । लेखीलाई गृह सञ्चार तथा कानून मन्त्रालयको जिम्मेबारी दिइएको छ ।
सहमति अनुसार अर्थ मन्त्रालय नपाउने भएपछि यसअघि कांग्रेसले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मकाे तयारी थालेकाे थियाे ।
कांग्रेसले अर्थसहित चार मन्त्रालय मागेको थियो । तर मुख्यमन्त्री सतिश कुमार सिंहले अर्थ आफैं राख्ने अडान लिएपछि विवाद बढेको थियो । पटक पटक छलफल भएपनि मुख्यमन्त्रीले अर्थ दिन अस्वीकार गरेपछि कांग्रेसले वर्तमान सरकारको विकल्पसमेत खोज्ने गरी अघि बढेको थियो । अन्तत: मुख्यमन्त्री सिंहले अर्थसहित चार मन्त्रालय कांग्रेसलाई दिने भएपछि आज कांग्रेसका मन्त्रीले शपथ लिएका हुन् ।
- पुरन साह







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts