✍️ प्रतिभा शर्मा (रेग्मी )
साउन महिना सुरु भइसकेको छ । साउनमा हरियो चुरा, पोते, मेहेन्दी टीका, अझ सक्नेले हरियो लुगा नै किन्ने प्रचलन वर्षैपिछे बढ्दो क्रममा छ र यो आयातित संस्कृति शहर बजारमा व्यापक हुँदै छ । खोइ यो कहाँको संस्कृति हो ? अनि कहिलेदेखि भित्रियो खासै ज्ञान पनि भएन तर एउटी बहिनीको दमदार भाषण मैले फेसबुकमा सुनेँ । मलाई सारै मन प¥यो । उनको भनाइको आसय थियो ‘के गरिब दिदीबहिनी जसले एक महिनाकै लागि भनेर भारी मूल्यमा आयातीत हरिया चुरा हातमा अनि हरियो पोते गलामा लगाउन सक्दैनन् वा लगाउँदैनन् के उनीहरू लामो आयु बाच्दैनन् त ? हुन पनि हाम्रोजस्तो गरिब राष्ट्रले एकै महिनाका लागि भनेर करोडौं करोडको सामग्री भित्र्याउनु र लगाउनु मूर्खताबाहेक केही होइन ।
अरू जनजातिको बारेमा त खासै ज्ञान भएन तर हामी ब्राहृमण, क्षत्रीहरू रातो रङ्लाई सौभाग्य जोडिएको हँुदा श्रीमान् हुनेहरू रातो सिंदुर, रातो चुरा, रातो पोते, रातो टीका र रातो पोशाकमा सजिने प्रचलन केही अघिसम्म पनि विद्यमान भए पनि समयको परिवर्तनसँगै श्रीमान् नहुने (एकल नारी) हरूले पनि रातो पोसाक, रातो टीका अनि राता चुरा लगाउन थाल्नु स्वागतयोग्य कुरा हो ।
प्रसंग बदलौं मेरी छोरी अस्ति राति उनको होस्टेल लुम्बिनी मेडिकल कलेज प्रवास जहाँ उनी एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत थिइन । उनको सेमेस्टरको परीक्षापश्चातको केही दिनको बिदामा पुगेकी थिइन् । त्यसैले म पनि मेरो माइती काठमाडौं जाने मानसिकतामा थिएँ । त्यसैले अरू कसैलाई नसके पनि मेरी प्यारी दिदी जो म सुत्केरी हुँदा टिचिङ अस्पतालको मेरो बेडमा मेरा खुट्टामुनि बसेर धेरै रात बिताइन्, अनि मेरो पत्थरीको कारण पित्तथैली फाल्दा किस्ट अस्पतालका बिरामीहरूको कोठा बहिरै चिसो प्यासेजमै एक रात बिताएकी थिइन्, लाई एक जोडी बाला भए पनि लगिदिने मनसायले म इशानेस्वर स्कुल नजिकैको पार्लर पुगेँ ।
यहाँ त्यो पार्लरमा अनि मेरो भतिजीको पार्लर सन्ध्या ब्युटीपर्लरमा सौन्दर्यका सामग्री पाइन्छन् । बाला हेर्दाहेर्दै मेरा आँखा हरिया बालामा पुगे । एकै क्षण त बाला देखेर खुशी लाग्यो । फेरि सोचेँ हरिया बाला त केवल एक महिना हो सउन सकिन्छ, चुरा मिल्किन्छन् । त्यसैले मैले राता बाला रोजे । म खबर, सूचना सबैबाट टाढै छु किनकि म बसिरहेको गाउँमा पत्रिकाहरू आउँदैनन् । फेसबुकमा आएको सामग्रीबाटै केही जानकारी हुनु छुट्टै कुरा हो । बिहानै ठूलो पहिरोको कारण दुई–दुईवटा गाडीहरू तल खोलामा खसेका पीडादायी खबर सुनेँ । फलतः माइती आउने मेरो रहर यसपटकका लागि तुहियो । सामाखुसी, काठमाडौं । हाल : भोर्लेटार लम्जुङ ।






