भोजपुर । कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरमा अहिलेसम्म ५० प्रतिशत धान रोपाइँ भएको छ । बर्षात भईरहेका कारण रोपाइँको क्रम बढदै गएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।
जिल्लामा ९ वटा स्थानीय तह छन् । भोजपुरको कुल खेतीयोग्य जमिनको क्षेत्रफल ६२ हजार दुई सय ९९ हेक्टर रहेको छ । जसमा १२ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । भोजपुरमा हालसम्म छ हजार पच्चिस हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ । भोजपुर जिल्लामा बेलकुटी, अटे, कुमल, सानो मसिना, मनसुली लगायत विभिन्न प्रजातीका धानहरु रोप्ने गरिन्छ । जिल्लाको केही क्षेत्रमा बर्खे र अधिकांश ठाउँमा मंसिरे धान लगाउने गरिन्छ । बेसी फाँटमा बर्षमा दुई वाली समेत कृषकहरुले लगाउने गर्छन ।
भोजपुर जिल्लाको देउराली, टक्सार, कोट, बोखिम, गुप्तेश्वर, मुलपानी लगायतका ठाउँहरु धानको लागि पकेट क्षेत्र मानिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।
कोशी प्रदेशका १४ वटा जिल्लाहरु मध्ये भोजपुरमा बढी रोपाई भएको हो । कोशी प्रदेश कृषि निर्देशनालय विराटनगरका अनुसार अहिलेसम्म उच्च पहाडी क्षेत्र ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा गरी ३१ दशमलव ६३ प्रतिशत रोपाई सकिएको छ । यस्तै मध्य पहाडी क्षेत्र इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, खोटाङ, धनकुटा, ओखलढुंगा, उदयपुरमा गरी ३८ दशमलव १९ प्रतिशत र तराईको क्षेत्र झापा,मोरङ र सुनसरीमा ३३ दशमलव ३४ प्रतिशत रोपाई भएको छ ।
निर्देशनालयका बाली विकास अधिकृत भवानी बस्नेतका अनुसार समग्र कोशी प्रदेशमा अहिलेसम्म करिव ३५ प्रतिशत रोपाई सकिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts