प्रधानमन्त्रीले अविलम्व राजीनामा दिनुपर्ने एमाले सांसदहरुको माग

हिमालय टाइम्स कालिकोट, संवाददाता

काठमाडाैं । नेकपा(एमाले)का सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा(एमाले)का सांसदहरुले प्रधानमन्त्रीको अविलम्व राजीनामा माग गरेका हुन् । सांसदहरुले प्रधानमन्त्रीले बहुमत गुमाइसकेकोले सरकारमा बसिरहन नैतिक आधार गुमाइसकेका बताउनु भयो । सरकारले प्रकोप पीडित जनताको उद्धार, राहत र पुनःस्थापनामा प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै छिटोभन्दा छिटो बलियो सरकार आवश्यक भएको सांसदहरुको भनाई छ । बैठकमा बोल्दै नेकपा(एमाले) कि सांसद विद्या भट्टराईले काम गर्नसक्ने सरकार बनाउन नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो - ‘बाढी पहिरो र डुबानबाट बिस्थापित भएका तथा जोखिममा रहेका पीडित र प्रभावितहरुका लागि आवश्यक संरक्षण, राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्छ । तर आज सरकार कहाँ छ ? के छ भन्ने कुरामा हामी सबै प्रश्न र मौन भएर बस्ने स्थिति बनेको छ । सरकारलाई काम गर्न सक्ने बनाउनका लागि अब नयाँ सरकारलाई जिम्मेवारी दिनका लागि हामी तयार हुनुपर्छ भन्ने ध्यानाकर्षण गराउन चाहन्छु ।’

नेकपा(एमाले) का सांसद अच्युतप्रसाद मैनालीले विपद्ले देशभर धेरै घटनाहरु भइरहेका भएपनि सरकार कानमा तेल हालेर बसेको बताउनु भयो । उहाँले प्रधानमन्त्री र गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन माग गर्नुभयो ।

उहाँले भन्नुभयो - ‘तमाम समस्याहरुका बाबजुद आज सरकार कानमा तेल हालेर बसेको छ । म प्रधानमन्त्री तथा गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव पेश गर्छु । गृहमन्त्रीलाई तत्काल सदनमा आएर यि सबै घटनाहरुको बारेमा जानकारी दिन माग गर्छु । होइन भने नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिन चाहन्छु ।’

ADVERTISEMENT

नेकपा(एमाले)का सांसद किरणकुमार साहले पनि प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिनुभयो । उहाँले विपद्को यो समयमा बलियो र स्थिर सरकारको आवश्यकता रहेको बताउनु भयो । बलियो सरकारले मात्रै प्रभावकारी ढंगले बाढी, पहिरो र अन्य प्रकोपहरुको सामना गर्न सक्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘जलवायु परिवर्तनको असर र प्राकृतिक प्रकोपहरुको सामना गर्दा दिर्घकालिन योजना र तत्परताको आवश्यकता छ । सरकारको तर्फबाट जलवायु परिवर्तन र प्रकोप व्यवस्थापनलाई समावेश गर्ने नीतिहरुको निर्माण र कार्यान्वयनमा विशेष ध्यान दिनुपर्छ । तर अहिले संकटको समयमा हामीले नेतृत्वमा पनि नैतिकताको आवश्यकता महशुस गरेका छौँ । वर्तमान प्रधानमन्त्रीले आफ्नो बहुमत गुमाइसकेका छन् । जसले देशलाई थप अस्थिरता र अन्यौलमा पु¥याएको छ । संकटको घडीमा बलियो र स्थिर सरकारको आवश्यकता छ । जसले प्रभावकारी ढंगले बाढी, पहिरो र अन्य प्रकोपहरुको सामना गर्नसक्छ । प्रधानमन्त्रीले नैतिकताको जिम्मेवारी लिनुपर्छ र राजीनामा दिनुपर्छ ।’

नेकपा(एमाले)का सांसद वासुदेव घिमिरेले सरकारले विपद्को यो समयमा उद्धार राहत र पुनःस्थापनाको काम सरकारले अगाडी बढाउन नसकेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले राजीनामा दिन आनाकानी गरिरहेको भन्दै अविलम्व राजीनामा दिएर माग प्रशस्त गर्न आग्रह गर्नुभयो ।

उहाँले निर्माण व्यवसायीलाई रोकिएको भुक्तानी समयमै दिन पनि सरकारलाई आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज