झापा । सभामुख देवराज घिमिरेले गर्भैदेखि मानिसको बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताउनु भएको छ ।
उहाँले त्यसका लागि आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच स्थापित हुनु पर्नेमा जोड दिनुभयो ।
बिहीबार झापा अर्जुनधारा नगरपालिकाको प्रणामीटोलमा रहेको शनिश्चरे नगर अस्पतालमा शल्यक्रिया सेवाको उद्घाटन गर्दै उहाँले अस्पतालको गुणस्तरीय सेवाका लागि सर्वपक्षीय सहयोग जरुरी भएको औँल्याउनु भयो । अस्पतालमा अपरेसन सहितको सेवा सुरु भएसँगै आमा तथा नवजात शिशुले अकालमा मृत्युवरण गर्नुपर्ने दुखद अवस्था अन्त्य हुने उहाँको दाबी छ ।
सभामुख घिमिरेले अस्पतालको स्तरवृद्धिमा आफ्नोतर्फबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
शनिश्चरे घिमिरेको निर्वाचन क्षेत्र भित्र पर्दछ ।
सभामुख घिमिरेले उद्घाटन गरेसँगै सो अस्पतालमा आमा तथा नवजात शिशु सुरक्षा बिस्तारित शल्यक्रिया सेवा सुरु भएको छ ।
कार्यक्रममा नगरप्रमुख बलदेव गोम्देनले अर्जुनधाराबासीलाई भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका क्रियाशील रहेको बताउनुभयो ।
उहाँले निरन्तरको प्रयासपछि शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवा सुरु गर्न सम्भव भएको जानकारी दिनुभयो । उपचारका लागि नगर तथा वडाबाट चन्दा उठाउन सिफारिस दिनुको सट्टा प्रविधि र जनशक्तिसहितको सेवा दिने लक्ष्य नगरपालिकाको रहेको प्रमुख गोम्देनले बताउनुभयो ।






