काठमाडौं । 'जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि' भन्ने नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस मनाइने भएको छ । विगत वर्षहरूमा काठमाडौंमा मनाइने गरेको धान दिवस यस वर्ष भने चितवनको बछौलीमा मनाइँदैछ । तथापि चितवनलगायत देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गर्दै धान दिवस मनाउने कार्यक्रम रहेको आयोजक कृषि विभागले जनाएको छ । विभागद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक डा. नरहरिप्रसाद घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र कृषिमन्त्री ज्वालाकुमारी शाहको उपस्थितिमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव चितवनमा मनाइने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
कोशीमा ५.६, मधेश २.९, बागमती १८.३, गण्डकी ८.३, लुम्बिनी ८.८, कर्णाली २३.९ र सुदूरपश्चिममा २५.० प्रतिशत धान रोपाइँ भएको हो ।
यस वर्षको नाराले जलवायु परिवर्तनका कारण धानखेतीमा बढ्दो नकारात्मक असर न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधि अनुसन्धान, विकास एवं उपलब्ध प्रविधिको प्रचारप्रसार गरी तिनको अवलम्बन गर्न कृषक र सम्बद्ध पक्षलाई सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनुपर्ने सन्देश दिएको उहाँको भनाइ थियो । धानमा अन्तरनिहित विविध महत्व दृष्टिगत गरी उत्पादन वृद्धि, आधुनिकीकरण र व्यावसायिकरण प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०६१ देखि नियमित रूपमा हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ ।
९.८ प्रतिशत रोपाइँ
हालसम्म देशभर करिब ९.८ प्रतिशत रोपाइँ भएको छ । असार १२ गतेसम्म ९.८ प्रतिशत धान रोपाइँ भएको हो । गत वर्षको असार १० सम्ममा ८.७५ प्रतिशत हाराहारीमा रोपाइँ भएको थियो । कृषि विभागका अनुसार कोशीमा ५.६, मधेश २.९, बागमती १८.३, गण्डकी ८.३, लुम्बिनी ८.८, कर्णाली २३.९ र सुदूरपश्चिममा २५.० प्रतिशत धान रोपाइँ भएको छ । यस वर्ष कुल १३ लाख ९८ हजार आठ सय ३६ क्षेत्रफलमा रोपाइँ हुने विभागको अनुमान छ । गत वर्ष देशभर करिब १४ लाख हेक्टरमा रोपाइँ भएको थियो ।
विगतको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०÷८१ कुल उत्पादन गत आर्थिक वर्षभन्दा ४.३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार दुर्ई सय ३४ मेट्रिक टन पुगेको थियो जुन विगत चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशत बढी हो । कुल धानबाली भिœयाइएको क्षेत्रफल गत आर्थिक वर्षको तुलनामा ०.६१ अर्थात् आठ हजार आठ सय हेक्टरले घटेर १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम हुन पुगेको छ । जुन क्षेत्रफल गत चार आर्थिक वर्षको औसत क्षेत्रफलको तुलनामा १.७३ प्रतिशत कम हो । धानबालीको औसत उत्पादकत्व गत आर्थिक वर्षको तुलनामा ४.९७ प्रतिशतले बढेर ३.९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ, जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्ष धान उत्पादन कोशी प्रदेशमा उच्च रहेको थियो भने कर्णाली प्रदेशमा न्यून रहेको थियो । चालु आर्थिक वर्ष उत्पादकत्वतर्फ कोशी प्रदेश ४.४३ मेट्रिक टन प्रतिहेक्टरसहित अग्रस्थानमा रहेकोमा मधेश प्रदेश ३.४९ मेट्रिक टन प्रतिहेक्टर सीमित हुन पुगेको थियो । मुख्य धानको तुलनामा विगतका आर्थिक वर्षजस्तै चैते धानको उत्पादकत्व उच्च कायम रहेको छ । चालु आर्थिक वर्ष धान उत्पादन बढ्नुको कारण उन्नत बिउ उपलब्धता र प्रयोग, रोगकिरा प्रकोपमा कमी, बाढीपहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधि प्रयोग र मौसमी अनुकूलतालाई लिइएको छ ।
८८ करोड बढीको बिउ आयात
विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म धानको बिउ ८८ करोड ६५ लाख २१ हजार बराबरको २१ लाख ७ हजार २ सय ३३ केजी आयात भएको छ । त्यस्तै, ११ अर्ब ५५ करोड २५ लाख ७९ हजार बराबरको ३० करोड ५३ लाख १० हजार पाँच सय २० केजी धान आयात भएको छ भने आठ अर्ब ६९ करोड छ सय ८५ बराबरको आठ करोड २७ लाख ६९ हजार नौ सय ८९ केजी चामल र नौ लाख २० हजार बराबरको २१ हजार एक सय २४ केजी कनिका आयात भएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता